६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लयमा फर्कंदै डोटीको पर्यटन



अ+ अ-

डोटी । कोभिड–१९ को सङ्क्रमणका कारण विगत दुई वर्षदेखि थलापरेको यहाँको होटेल तथा पर्यटन व्यवसाय अहिले पुरानै लयमा फर्किन थालेको छ । जिल्लामा कोरोना सङ्क्रमणको जोखिम अन्त्य भएसँगै यहाँका पर्यटकीय क्षेत्र तथा होटल पर्यटकले धमाधम भरिन थालेका छन् ।

दुई वर्षदेखि महामारीले शिथिल भएको डोटीको पर्यटकीय क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्न थालेसँगै यहाँका बजारमा चहलपहल बढ्नुका साथै होटेल, पर्यटन तथा अन्य व्यवसाय सुधारतर्फ फर्किएको डोटी उद्योग वाणिज्य सङघका अध्यक्ष मोहनबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना महामारीले दुई वर्षदेखि होटेल तथा पर्यटन क्षेत्रमा निकै असर गरेको थियो, अहिले महामारी हटेपछि हाम्रो व्यापार व्यवसाय पुरानै शैलीमा फर्किन थालेको छ, अब यस्तो महामारी नआओस् ।”

जिल्लाका व्यवसायीका अनुसार अहिले जिल्लामा स्वदेशी पर्यटकले गतिविधि चलायमान बनाउनुकासाथै यहाँको प्रमुख पर्यटकीयस्थल खप्तडमा विदेशी पर्यटकको आगमन दरमा क्रमिक सुधार आएसँगै व्यापार व्यवासय बढ्न थालेको हो । यहाँका होटेल तथा लजमा पछिल्ले समय पाहुना बढेका छन् होटलमा कार्यक्रम आयोजना हुने क्रम बाक्लिएको वर्षा होटल दिपायल पिपल्लाका सञ्चालक गणेशबहादुर बोहराले बताउनुभयो । “गएको चैत महिनादेखि हाम्रा होटलमा पाहुनाहरुले भरिभराउ भएका छन्, विभिन्न सेमिनार, गोष्ठीले गर्दा व्यापार व्यवसाय पनि राम्रै भएको छ”, उहाँले भन्नुभयो ।

डोटीसहित समग्र सुदूरपश्चिममा पर्यटन गतिविधि तथा व्यावसायिक क्रियाकलाप चलायमान भएसँगै विगत दुई वर्षको नोक्सानीलाई नाफामा परिणत गर्न सहज हुने पर्यटन व्यवसायी दीपकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “डोटी मात्र होइन समग्र सुदूरपश्चिममा अहिले स्वदेशी तथा विदेशी पर्यटक भित्रिन थालेका छन्, यसरी नै पर्यटक चलायमान भए कोरोनामा भएको नोक्सानी नाफामा परिणत गर्न सकिने छ ।”

अहिलेको समय यहाँको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि अति उपयुक्त समय भएकाले पनि जिल्लामा पर्यटकको सङ्ख्या बढेको उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष तथा व्यवसायी नरेन्द्रबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “चैतदेखि असारसम्मको समय खप्तड घुम्ने उपयुक्त समय हो, कोरोना जोखिम टरेकाले अहिले खप्तड घुम्न आउने पर्यटकको सङ्ख्या अधिक छ, पर्यटककै कारण यहाँको बजार व्यवसायमा सुधार भएको हो ।”

खप्तड राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गोपाल घिमिरेले वैशाख महिनादेखि जेठ १० गतेसम्म स्वदेशी तथा विदेशी गरी कम्तिमा पनि एक हजार बढी पर्यटकले खप्तड क्षेत्रको अनुगमन तथा भ्रमण गरी सकेको जानकारी दिनुभयो । उहाँका अनुसार यातायत आवागमनमा पनि सहज भएको र कोरोना जोखिम पनि घटेसँगै अहिले पर्यटकको प्रमुख रोजाइँ खप्तड निकुञ्ज बनेको छ ।

-बिमल बिष्ट /रासस