• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

क्यानले ईपीएल आयोजना गर्न स्वीकृति नदिएपछि सर्वोच्चमा रिट



काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) आगामी संस्करण आयोजना गर्न नेपाल क्रिकेट संघ (क्यान) ले स्वीकृति नदिएपछि ईपीएल प्रालिले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ ।

ईपीएलले क्यानलाई विपक्षी बनाई बिहीबार अन्तरिम आदेशको मागसहित सर्वोच्चमा रिट दायर गरेको हो । ईपीएलले बिहीबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्चमा रिट दायर गरिएको जानकारी गराएको छ ।

क्यान आफैँले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० प्रतियोगिता गर्ने निर्णय गरेको छ । त्यसैले नेपालमा भइरहेका अन्य फ्रेन्चाइज क्रिकेटलाई राष्ट्रिय प्रतियोगिताका रुपमा स्वीकृति नदिने क्यानले निर्णय गरेको थियो ।

ईपीएलले पनि सोमबार क्यानले स्वीकृति नदिए क्यानका सबै कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएको थियो । सो धम्कीपूर्ण चेतावनीप्रति क्यानले खेद प्रकट गरेको थियो । यद्यपि ईपीएलले क्यानलाई त्यस्तो कुनै धम्कीपूर्ण चेतावनी नदिएको स्पष्ट गरेको छ ।

क्यानले बुधबार मात्रै बोर्ड बैठकको निर्णय सार्वजनिक गरेको थियो । निर्णयअनुसार क्यानले अब नेपालमा एउटा मात्र आधिकारिक लिग प्रतियोगित गरिने र अन्य लिगलाई राष्ट्रिय मान्यता नदिने, क्षेत्रीय लिग गराउने भएको छ ।

क्यानको सो निर्णयविरुद्ध ईपीएल र सबै छ वटै फ्रेन्चाइज टिमले सर्वसम्मत कानूनी मार्ग खोज्ने निर्णय गरिएको ईपीएलको वक्तव्यमा उल्लेख छ ।