१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सभापतिका आकाङ्क्षी गाउँगाउँमा



अ+ अ-

डोटी । नेपाली कांग्रेसको पार्टी सभापति तथा अन्य पदाधिकारीका लागि जिल्लामा कांग्रेस नेताबीच रस्साकस्सी सुरु भएको छ । पार्टी सभापतिको उमेदवारका आकाङ्क्षी भएको जानकारी दिन अहिले केन्द्रदेखि जिल्लास्तरीय नेता गाउँगाउँमा पुगेका छन् । नेता गाउँमा आएका कारण यहाँका ग्रामीण क्षेत्रमा चहलपहल सुरु भएको स्थानीयवासी बताउँछन् । जिल्लामा वडा अधिवेशन सम्पन्न भएसँगै यही असोज ९ गते हुने नगर तथा पालिकाको अधिवशनका लागि भन्दै नेता गाउँगाउँमा रहेका आफ्ना नेता तथा कार्यकर्तामाझ पुग्न थालेका बडिकेदार गाउँपालिका-५ का काङ्ग्रेस नेता दानबहादुर कलेलले बताउनुभयो ।

पार्टी केन्द्रीय कार्यालयले १४औँ महाधिवेशनका लागि जिल्ला अधिवेशन यही असोज १५ गते तोकेपछि जिल्लामा नेताहरुको चहलपहल झनै बढेको हो । कांग्रेसको मौजुदा विधानले दुई कार्यकालसम्म जिल्ला सभापतिको जिम्मेवारी लिनसक्ने व्यवस्था गरेको छ । त्यसैले वर्तमान जिल्ला सभापति प्रदीपकुमार देउवा अझै एक कार्यकाल सभापतिको उम्मेदवार हुन पाउने भएपछि उहाँले पनि १४औँ महाधिवेशनमा सभापतिमा आकाङ्क्षा देखाइरहनुभएको छ ।

उता १३औँ महाधिवेशनमा सभापति देउवासँग पराजित हुनुभएका रामप्रसाद उपाध्यायको नाम यसपटक पनि निकै चर्चामा छ । उहाँले आफूलाई स्वभाविक उम्मेदवार रहेको र पालो पनि आफ्नो भएको बताउँदै आउनुभएको छ । यसैगरी महासमिति सदस्यद्वय नरेन्द्रबहादुर सिंह र भूमिराज बडूले पनि सभापतिमा दाबेदारी प्रस्तुत गर्दै आउनु भएपछि जिल्लामा कांग्रेस निर्वाचन निकै रोमाञ्चक हुने आकलन गरिएको नेता घनश्याम पाठकले बताउनुभयो । उम्मेदवारका दाबेदार नेता अहिले खुलेर आफ्नो पक्षमा माहोल बनाउन पालिकाका अभियानमा लागिरहेका छन् ।

यस्तै लामो समयदेखि सक्रिय नेताका रूपमा चिनिँदै आउनुभएका लक्ष्मीराज पाठकको पनि सभापति पदमा चर्चा चलेको छ । विद्यार्थी राजनीतिदेखि नै निष्ठा र त्यागको राजनीति गर्दै आउनुभएका पाठकलाई एकपटक पार्टीको सभापति बनाउनुपर्ने धारणा कार्यकर्तापङ्क्तिमा रहेको अर्का नेता पदमराज जोशीले जानकारी दिनुभयो । प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’का क्षेत्रीय सभापति सीताराम जोशीले पनि जिल्ला सभापतिका लागि तीव्र आकाङ्क्षा देखाइरहनुभएको बताइएको छ । यसैगरी महासमिति सदस्यद्वय डिलबहादुर बम र लोकेन्द्रबहादुर शाहीको पनि सभापति पदमा आकाङ्क्षा रहेको चर्चा छ । 
बडिकेदार गाउँपालिका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि कृष्णबहादुर चन्दले आकाङ्क्षा देखाइरहेको उहाँ निकट नेताहरुले जानकारी दिनुभएको छ । सभापति पदका लागि आकाङ्क्षा सार्वजनिक गर्नेमा पूर्वपार्टी उपसभापति दीपककुमार विष्ट पनि रहनुभएको छ । पार्टीको जिल्ला समितिमा सहसचिव, सचिव हुँदै उपसभापतिसम्मको भूमिका निर्वाह गरिसकेकाले यसपटक सभापतिको जिम्मेवारी आफूले पाउनुपर्ने उहाँको भनाइ छ ।

यस्तै आकाङ्क्षा सार्वजनिक गर्नेमा उपसभापति लक्ष्मण सिंह, जिल्ला कार्यसमिति सदस्य जीतबहादुर खड्का रहनुभएको छ । सिंहले आफू उपसभापति भइसकेकाले सभापतिको स्वभाविक उम्मेदवार रहेको बताउँदै आउनुभएको छ भने खड्काले आफू जिल्लामा सधैँ उपलब्ध हुनसक्ने र कार्यकर्तासँग प्रत्यक्ष जनसम्पर्कमा रहनसक्ने व्यक्ति रहेकाले उम्मेदवारी पाउनुपर्ने बताउँदै आउनुभएको छ । प्रदेशसभामा समानुपातिकतर्फका उम्मेदवार रहनुभएका नेता पदमराज जोशीको नाम चर्चामा रहे पनि उहाँले सार्वजनिकरूपमा सभापतिको आकाङ्क्षी भएको बताउनुभएको छैन । नगर तथा पालिका अधिवेशन असोज ९ र जिल्ला अधिवेशन असोज १५ गते हुँदैछ ।