२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेलाई जिताए स्थानीय तह पनि भंग हुनसक्छ– प्रधानमन्त्री देउवा



अ+ अ-

धनगढी । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन नेकपा (एमाले) ले जिते स्थानीय तहसमेत भंग हुनसक्ने बताएका छन् ।

धनगढीमा सोमबार आयोजना गरिएको पाँच दलीय गठबन्धनको आमसभालाई सम्बोधन गर्दै उनले एमाले विजयी भएको अवस्थामा प्रतिनिधिसभा मात्र नभई प्रदेशसभा र स्थानीय तहसमेत भंग गर्नसक्ने बताए ।

केपी शर्मा ओलीको पार्टी (एमाले) लाई जिताउनु भनेको संसद् भंग गर्न दिनु हो भन्दै उनले सबैलाई थर्काएर राख्ने त्यस्तो मानिस ल्याउन नहुनेमा जोड दिए । “एमालेले जितेको अवस्थामा ओलीले संसद्, प्रदेश र स्थानीय तहसमेत भंग गर्न सक्छन् त्यसैले कांग्रेस र तालमेल भएका स्थानमा गठबन्धनलाई जिताउनुहोस् ।”

ओलीले दुई÷दुईपटक संसद् भंग गरेको तर अदालतले संसद् पुनःस्थापना गरेर आफूहरुले सरकार बनाएको प्रसंग निकाल्दै प्रधानमन्त्री देउवाले एमालेले अहिले पनि संसद् चल्न नदिएको बताए ।

अहिलेको आवश्यकता भनेको गठबन्धनलाई बलियो बनाउनु हो भन्दै देउवाले वर्तमान सरकार बलियो बनाउन पनि गठबन्धनलाई बलियो बनाउनुपर्ने जिकिर गरे ।

पहिला पनि बागी उम्मेदवारका कारण कांग्रेसले पराजित हुनुपरेको उल्लेख गर्दै उनले बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिए ।