• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

लिभरपुल र टोटेनहमले अंक बाँडे, वल्भ्ससँग बराबरीमा रोकियो चेल्सी



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुल र टोटेनहमले बराबरी खेलेका छन् ।

शनिबार राति लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । दुबै गोल खेलको दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलको ५६ औं मिनेटमा टोटेनहमले सन हेउंग मिनको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । ७४ औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई हारबाट जोगाए ।

त्यसपछि दुबै टिमले गोल गर्ने प्रयास गरेपनि गोल हुन सकेन र खेल बराबरीमा सकियो । बराबरी सँगै लिभरपुल अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसको ३५ खेलबाट ८३ अंक छ ।

एक खेल कम खेलेको म्यान्चेस्टर सिटी समान अंकसहित दोस्रो स्थानमा रहेको छ । यस्तै, टोटेनहम ३५ खेलबाट ६२ अंकसहित पाँचौ स्थानमा छ ।

यस्तै शनिबार राति नै भएको अर्को खेलमा चेल्सीले वल्भ्ससँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा खेलको ५६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रोमेलु लुकाकुले चेल्सीलाई सुरुवाती अग्रता दिलाए । त्यसको दुई मिनेट पछाडि अर्थात् ५८ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे ।

तर, ७९ औं मिनेटमा फ्रान्सिस्को ट्रीन्साओले गोल गर्दै वल्भ्सलाई २-१ को स्थितीमा ल्याए । खेलको इन्जुरी समयमा अन्तिम क्षणमा कोनोर कोडीले गोल गर्दै वल्भसलाई हारबाट जोगाए ।

बराबरीसँगै ३५ खेलबाट ६७ अंकसहित चेल्सी तेस्रो स्थानमा रहेको छ भने वल्भ्स समान खेलबाट ५० अंकसहित आठौं स्थानमा रहेको छ ।