४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

मिर्गौला बचाउन नियमित परीक्षण गरौंः डा काफ्ले

मिर्गौला बचाउन नियमित परीक्षण गरौंः  डा काफ्ले
अ+ अ-

हाम्रो शरीरमा दुई थरीका अंगहरू छन्, एकथरी नहुँदा पनि बाँचिन्छ र अर्को थरी नहुँदा वा काम नगरेमा बाँचिन्न । यस्तै नभई नहुने अंग हो मिर्गौला । प्रत्येक व्यक्तिको मेरुदण्डको दुवैतर्फ १२औं करङको हाराहारीमा आफ्नो मुठ्ठी बराबरको सिमी आकारको गोलो अंगलाई मिर्गौला भनिन्छ । केही व्यक्तिहरू एउटा मात्र मिर्गौला लिएर जन्मेका हुन्छन्, तर उनीहरू पूर्णरूपमा स्वस्थ हुन्छन् यदि त्यो मिर्गौला स्वस्थ छ भने । मिर्गौलाले पिसाब बनाउँछ ।

पिसाबमा शरीरलाई नचाहिने फोहोर पदार्थहरू र बढी पानी हुन्छ । झोल पदार्थ कम बेसी हुँदा पिसाब बढी वा कम हुने गर्दछ । पिसाब बाहेक रक्तचाप सन्तुलन, नुन व्यवस्थापन, रगतमा हेमोग्लोबिनको मात्रा निर्धारण, भिटामिन डी लाई सक्रिय बनाउनेलगायत धेरै काम गर्छ । ३० वर्षको उमेरमा मिर्गौलाले सबैभन्दा बढी काम गरेको पाइएको छ भने क्रमशः उमेरसँगै मिर्गौलाले कम काम गर्दछ, ९० वर्ष पुगेको स्वस्थ व्यक्तिको मिर्गौलाले आधीमात्र काम गर्दछ र त्यो उमेरको लागी पर्याप्त हुन्छ ।

मिर्गौलामा लाग्ने रोगहरू पिसाबको संक्रमण, पत्थरी, नेफ्राइटिस बाहेक रक्तचाप र मधुमेहले पनि मिर्गौलामा असर पार्छ । पिसाब घटेमा, पोलेमा, फेर्न गाह्रो भएमा उपचार गरिने चलन छ, तर मिर्गौला क्रमशः बिग्रँदै गएको, उक्त अंगको क्षमता घट्दै गएको थाहा पाइँदैन । अधिकांश मिर्गौला बिग्रँदै गरी लागेको रोग लक्षणविहीन हुने हुनाले जाँच पड्ताल गरिँदैन । अधिकांश बिरामीहरू रोगले धेरै चापेपछि मात्र उपचार गर्न आउने गर्छन् ।

मिर्गौला बिग्रिसकेपछि, उपचार भनेको डायलाइसिस वा प्रत्यारोपण हो । डायलाइसिस भनेको बिरामीको रगत शुद्ध गर्ने उपचार विधि हो । हेमोडायलाइसिसमा बिरामीको रगत मेशिनमा पठाएर शुद्ध पारिन्छ । यो गर्न हप्तामा दुई पटक र एक पटकमा चार घण्टा लाग्छ । पेरीटोनियल डायलाइसिस वा पानी डायलाइसिस भन्नाले बिरामीको पेटभित्र दुई लिटरको विशेष औषधियुक्त पानी दिनमा तीन पटक राखेर रगत शुद्ध पारिन्छ ।

डायलाइसिसबाहेक अर्को उपचार हो मिर्गौला प्रत्यारोपण । आफन्त स्वस्थ व्यक्तिको मिर्गौला शल्यक्रिया गरेर बिरामीको शरीरमा जोडिन्छ र बिरामी पूर्णतः स्वस्थ बन्छ तर त्यो प्रत्यारोपण गरेको मिर्गौलालाई काम गराउन औषधि (Immuno Suppresive Medicine ) जीवनभर नटुटाइकन खानुपर्छ । डायलाइसिस गर्न पाइएन, प्रत्यारोपण भएन भने मृत्यु अवश्यम्भावी छ ।

स्वस्थ व्यक्तिको मिर्गौला कसरी बिग्रन्छ त ?

हाम्रो बिग्रँदो जीवनशैली, स्वास्थ परीक्षण नगराउने बानी, लक्षणको पछाडि दौडेर उपचार गराउने चलनले रोग ढिलो पत्ता लाग्छ । हार्ट टु हार्ट नेपाल (Heart to Heart Nepal) का अनुसार नेपालमा १० प्रतिशत जनसंख्यामा अर्थात् ३० लाख व्यक्तिमा मिर्गौलाको समस्या हुने रहेछ । संसारभरीको तथ्यांकले यही भन्छ । यिनै ३० लाख मध्येबाट प्रत्येक वर्ष तीन हजार व्यक्तिको मिर्गौला पूरा काम नलाग्ने हुन्छ र डायलाइसिस वा प्रत्यारोपणले मात्र बचाउन सक्छ । चुरोट, खैनी, सुर्ती, जाँडरक्सी, अत्यधिक मासु, अस्वस्थ तरिकाले पकाएको खाना, बेलुकी ढिलो खाने बानी, कसरत, व्यायाम गर्न नभ्याउने वा नगर्ने, मिसावटी खाना, प्रदूषण सबैले मिर्गौला रोग बढाइरहेको छ ।

नेपालमा २०४५ सालबाट डायलाइसिस सेवा सुरु भयो वीर अस्पतालबाट । आज देशका विभिन्न ठाउँमा ६० वटा भन्दा बढी अस्पतालले यो सेवा प्रदान गरिरहेका छन् । केन्द्रले करिब पाँच हजार मिर्गौला रोगीलाई डायलाइसिस सेवा दिइरहेछन् । आठ वटा अस्पतालले मिर्गौला प्रत्यारोपण अनुमति पाएका छन् । विपन्न नागरिकलाई डायलाइसिस निःशुल्क छ, साथै सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण पनि रोगको उपचार सजिलो छैन, तर परेपछि नगरी सुख छैन ।

मिर्गौला स्वस्थ राख्न हामीले ध्यान दिनु छ । दिनको सुरुवात एक गिलास पानीबाट गरौं ताकि हामी दुई÷तीन लिटर पिसाब फेर्ने गरी झोल पदार्थ पिउने बानी बसालौं । बढी पसिना आउँदा धेरै पानी पिउने गरौं । दिनमा सात किलोमिटर हिँड्ने व्यायाम, योग, प्रणायाम, खेलकुद गरौं ताकि हामी १० हजार पाइला चाल्नेछौं भने हामी स्वस्थ रहन सक्छौं । खाना खाँदा स्वस्थ ताजा र सागसब्जी तरकारी, फलफूल, दाल गेडागुडी बढी खाएमा स्वस्थ रहन मद्दत पुग्दछ । मासुको परिकार कम, गुलियो कमको साथसाथै मैदाबाट बनेको र तैयारी खाना कम खाने बानी बसाल्नुपर्छ । राति सुत्नुभन्दा तीन घण्टाअघि खाने र सो खाना हल्का भएमा स्वस्थ हुन सकिन्छ । निद्रा पुग्नेगरी सुत्ने गर्नुपर्छ कम्तीमा ६ देखि ८ घण्टा । कुनै लक्षण नभए पनि । आफूलाई स्वस्थ महसुस भए पनि वर्षमा एकपटक पिसाब जाँच र रगतमा क्रिटिनिन जाँच गर्नुपर्छ ।

पिसाबमा प्रोटिन गएको छ भने मिर्गौलामा रोग छ, रगतमा क्रिटिनिन बढेको छ भने मिर्गौला बिग्रन लाग्यो भन्ने बुझ्नुपर्छ । समयमै उपचार ग-यो भने मिर्गौलाको रोग निको पार्न सकिन्छ साथै मिर्गौला बिग्रने सम्भावना घटेर जान्छ ।

“उपचारभन्दा रोकथाम राम्रो” भन्ने भनाई सबैलाई थाहा छ । तर यसलाई साकार पार्न रोकथामको उपाय अपनाउनु पर्छ । रोकथामको पहिलो चरण मेरो स्वास्थ्य कस्तो छ ? भनी थाहा पाउनुपर्छ । यसका लागि मिर्गौलाको परीक्षण गर्नुपर्छ । नेपालको धेरै ठाउँमा रगतमा क्रिटिनिन र पिसाब जाँच सम्भव छ । त्यसैले सबै व्यक्तिहरूले कम्तीमा पिसाब जाँच गर्न जरुरी छ । यसो गर्दा पिसाबमा प्रोटिन गए नगएको पत्ता लाग्छ । प्रोटिन गएको छ भने मिर्गौलामा रोग छ, प्रोटिन गएको छैन भने मिर्गौला स्वस्थ छ । त्यसपछि रगत जाँच गर्न पाए सुनमा सुगन्ध हुनेछ ।

“स्वस्थ मिर्गौैला–स्वस्थ नेपाल” र “मिर्गौला रोगमुक्त” नेपालको परिकल्पना गर्दै “मिर्गौला बचाऔं अभियान” सुरु गरिएको छ । मिर्गौला बारे जानकारी, मिर्गौला स्वस्थ राख्ने तरिकाबारे जानकारीको साथ साथै “अंगदान– जीवनदान” जस्ता कार्यक्रम सञ्चालन गर्दै मिर्गौला रोगबारे जानकारी दिँदै आएको छ ।

मिर्गौला स्वस्थ छ छैन भनी थाहा पाउन निःशुल्क मिर्गौला परीक्षण शिविर सञ्चालन गर्दै आएको छ । उच्च रक्तचाप, मधुमेह, मोटो व्यक्तिहरू, परिवारमा मिर्गौला रोग देखापरेका व्यक्तिहरू र ३० वर्षमाथि उमेरका प्रत्येकले वार्षिक मिर्गौला परीक्षण गर्ने सल्लाह घरघरमा पु¥याउने काम पनि गर्दै छ । हालसालै “स्वस्थ मिर्गौला स्वस्थ काठमाडौं” कार्यक्रम काठमाडौं महानगरपालिकासँग मिलेर सञ्चालनमा ल्याएको छ । यसको उद्देश्य समयमै परीक्षण गरौं र स्वस्थ रहौं भन्ने नै हो । सके दिनको एक रूपैयाँ मिर्गौला बचाऔं अभियानमा दान गरी रोकथाम कार्यक्रम अगाडि बढाऔं ।

– डा.ऋषि कुमार काफ्ले मिर्गौला रोग विशेषज्ञ हुनुहुन्छ