काठमाडौं । अमेरिकी उच्चस्तरीय संसदीय टोलीलाई काठमाडौं आईपुगेको छ । सिनेटर किर्स्टन जिलीब्रान्डको नेतृत्वमा रहेको एक अमेरिकी उच्चस्तरीय संसदीय टोली नेपाल भ्रमणको लागि काठमाडौं आइपुगेको हो । टोलीमा सिनेटरहरू शेल्डन व्हाइटहाउस, कोरी बुकर, मार्क केली र प्रतिनिधी सभा सदस्य मोन्डेयर जोन्स पनि सामेल हुनुहुन्छ।
नेपाल-अमेरिका सम्बन्धको ७५ औं वर्ष मनाउने पूर्वसन्ध्यामा यो उच्चस्तरीय भ्रमण दुई देश बिच रहेको आपसी लोकतान्त्रिक मान्यता, जनस्तरको सम्बन्ध तथा गहिरो कूटनीतिक साझेदारीको प्रमाण भएको नेपाल स्थिती अमेरिकी दूताबासले जनाएको छ । नेपाल भ्रमणमा रहेको अमेरिकी संसदीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटघाट गरेर विभिन्न विषयमा छलफल गर्नेछ ।
उहाँहरूको समूह हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभावमाथि समेत केन्द्रित छ । गम्भीर सङ्कटका बारेमा थप बुझ्नका लागि उहाँहरूले शनिबार दिउँसो एक पदयात्रामा भाग लिने योजना बनाउनुभएको दूतावासले जनाएको छ । उहाँहरू पोल्याण्ड र भारत लगायतका देशहरूको लामो भ्रमणको सिलसिलामा नेपाल आउन भएको हो ।