२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ

पाल्पाली ढाकाको आफ्नै सान, मान र दाम

पाल्पाली ढाकाको आफ्नै सान, मान र दाम
अ अ+ अ-

रामपुर ।

कालीपारे दाइ कति राम्रो
ढाका टोपी काँधमा गलबन्दी(किरण खरेल, तारादेवी)

पाल्पाको पूर्वखोला गाउँपालिकाकी तिलीमाया नेपालीको दिनचर्या तानबाट ढाका बुन्ने काममा बित्ने गरेको छ । पूर्वखोला –१ तामाखानी स्थायी घर भएकी नेपालीमा दिनानुदिन तानबाट ढाका बुन्ने कला र सीपमा निखारता आउँदा यतिखेर आफ्नो काममा जोस र जाँगर थपिएको छ नै, स्वरोजगार बनेकामा आत्मसम्मानको महसुस पनि भएको छ । उहाँ तानसेन बजारको सिल्खानटोलमा रहेको सरस्वती ढाका कपडा उद्योगमा ढाका कपडा बुन्ने गर्नुहुन्छ । छ वर्षदेखि नै सो काममा संलग्न उहाँले दुई छोराछोरीसहित कोठा भाडा लिएर कारखानामा ढाका बुन्दै आउनुभएको छ ।

“श्रीमान् भारतमा मजदुरी गर्नुहुन्छ, एक जनाको कमाइले परिवारको पालनपोषण, छोराछोरीको पढाइ खर्च धान्न सकस हुन्छ, अर्कातर्फ दिनभर खाली समय काममा सदुपयोग भएको छ, काम गरेपछि हातमा दाम परिहाल्छ”, उहाँले भन्नुभयो । छोराछोरी पढ्न गएपछि घरायसी काम सकाएर ढाका बुन्ने उहाँले साथीहरूसँगै काम गर्दा दिन बितेको पत्तो नै नहुने अनुभव सुनाउनुभयो । फुर्सदका समय बिहान ७ बजेदेखि साँझसम्म पनि उहाँ निरन्तर ढाका बुन्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “काम जति धेरै गर्न सक्यो, उति नै धेरै कमाउन सकिने रहेछ, धेरै समय खटिएर काम गर्नेले राम्रै कमाउन सक्छ, दिउँसो चार-पाँच घण्टाको समय काम गरियो भने महिनामा १२-१५ हजार रुपियाँ त सजिलै कमाउन सकिने रहेछ, महिलाहरूलाई आयआर्जन गर्न यो व्यवसाय धेरै राम्रो छ ।”

साँझ बिहानको घरायसी काममा मात्रै सीमित रहने र दुई-चार पैसाका लागि अरूका भरमा बसेका महिलालाई सीप सिकेर आफैँ स्वरोजगार बन्न उहाँ सुझाव दिनुहुन्छ । आफ्नो हातमा कमाइ भएपछि अरूको अपहेलना खेप्नु नपरेको र आफूलाई आत्मनिर्भर बन्ने बाटो मिलेको नेपाली बताउनुहुन्छ ।

रिब्दिकोट गाउँपालिका–८ फेक बस्ने सीमा बगालेलाई आजभन्दा पन्ध्र वर्षअघि पढेलेखेको छैन, जागिर पाउने आसै भएन, आयआर्जन कसरी गर्ने भन्ने समस्याले निकै पिरोल्थ्यो । रोजगारीका खोजीमा तानसेन बजारमा आउनुभएका बगाले यहाँको कारखानामा ढाका बुन्ने अवसर पाएपछि भने अहिले स्वावलम्बी बन्दै जानुभएको छ ।

तानमा बसेर ढाका बुन्न थालेको डेढ दशक भयो । काम गर्ने क्रममा सीप विकास हुँदै गर्दा अहिले उहाँलाई आफ्नो खर्चका निम्ति अरूका भरमा बस्नुपर्ने अवस्था छैन । “पढ्न नसक्दा जागिर पाउने आसै थिएन, कारखानामा काम पाउँदा धेरै खुसी लागेको छ, ढाका बुनेर आफ्नो खर्च चलेकै छ, काम नपाएर खाली बस्नु पनि परेन, अरूसँग दुईचार पैसाका निम्ति हात थाप्नु परेको छैन”, बगालेले भन्नुभयो ।

मिटरको हिसाबले ज्याला पाउने हुँदा यसैमा मात्रै ध्यान दिएर काम गर्नेले राम्रो कमाइ गरिरहेको व्यवसायमा संलग्न महिला बताउँछन् । पाल्पाली ढाका बुनाइ नेपाली र बगाले जस्तै यहाँका धेरै महिलाको आयआर्जन गर्ने बलियो माध्यम बनेको छ । श्रीमान्का भरमा मात्र बस्दा जीविका चलाउन धौधौ भएपछि धेरै महिलाले व्यावसायिक रूपमा तानमा बसेर ढाका बुनी दैनिक जीविकोपार्जन गरिरहेका छन् । ढाका उद्योग महिलाका निम्ति रोजगारको बलियो स्रोतका रूपमा स्थापित बनेको छ ।

ढाका उद्योगबाट धेरैलाई रोजगारी दिन पाउँदा आफूलाई आत्मसन्तुष्टि मिलेको सरस्वती ढाका कपडा उद्योगका सञ्चालक हरि रायमाझी बताउनुहुन्छ, । उहाँको उद्योगमा अहिले दैनिक बिहानदेखि साँझसम्म ३० कामदार ढाका बुन्ने कार्यमा संलग्न छन् । यहाँ छोराछोरीलाई स्कुल, क्याम्पस पठाएर फुर्सदको समय ढाका बुनेर आफ्नो जीविका चलाउने गरेको पाइन्छ । “एउटा उद्योगबाट दैनिक ३० जनाले रोजगार पाएका छन्, धेरैजसो छोराछोरी पढाउन कोठा भाडामा बस्ने महिलाहरू हुनुहुन्छ, स्कुल पठाएपछि यहाँ आएर तानमा बसी ढाका बुन्ने गर्नुहुन्छ, यो देख्दा पनि आनन्द लाग्छ”, उहाँले भन्नुभयो ।

तानसेन बजारमा फेन्सी पसल चलाउनुभएका रायमाझीले विसं २०४८ देखि ढाका कपडाको व्यापार सुरु गर्नुभएको हो । विस्तारै उद्योगका रूपमा विकास गर्दै गएपछि अहिले उहाँ धेरैलाई यसैबाट रोजगार दिने एक सफल उद्योगीका रुपमा स्थापित हुनुभएको छ । द्वन्द्वकाल र कोभिड –१९ को प्रभावले व्यवसायलाई असर पुर्‍याए पनि ढाका सम्मानजनक व्यापार भएकाले उद्योगीलाई राम्रो पहिचान दिएको उहाँको अनुभव छ । उहाँ एक वर्षमा सरदरमा रु २० देखि २५ लाखसम्मको ढाका कपडाको कारोबार गर्नुहुन्छ । ब्राण्डमा गएपछि ठगिने क्रम हटेको र उद्योग थप हुँदै गएकाले ढाका कपडाको व्यापार फस्टाउँदै जाने आशा उहाँ व्यक्त गर्नुहुन्छ ।

पाल्पाली ढाका कपडा सङ्घका अध्यक्ष पूर्णमाया महर्जन आफूले चलाएको कारखानामा हाल १६ महिलालाई दैनिक रोजगारी दिएको बताउनुहुन्छ । पाल्पाको पहिलो ढाका व्यवसायी महर्जन आठ दशक पार गरे पनि अझै बिहानै उठेर कारखानामा खटिएका कामदारसँंगै काम गर्नुुहुन्छ । महर्जनका श्रीमान् गणेशमानले विसं २०१५ मा पाल्पामा पहिलो ढाका उद्योग स्थापना गरी यहाँका विपन्न, गरिब र महिलालाई रोजगारीको सिर्जना गर्नुभएको थियो । “उद्योग स्थापनाका तत्कालीन समयमा सडकमा मजदुरी गर्ने, गिट्टी कुट्ने, ढुङ्गा, माटो, बालुवा बोक्ने र भारी बोक्ने महिलालाई डोर्‍याएर उद्योगमा ल्याई ढाका बुन्न लगाइयो, उहाँहरू पनि धेरै मेहनत गरेर ढाका बुन्नुहुन्थ्यो”, उहाँले थप्नुभयो,“मेरो उद्योगमा ढाका बुन्ने महिलाहरू अहिले सीप विकास गरी आफैँ उद्यमी बनेर व्यवसाय चलाएको देख्न पाउँदा सन्तुष्ट छु ।”

महर्जनले हालसम्म एक हजारभन्दा बढी महिलालाई आफ्ना कारखानाबाट आयआर्जनको अवसर दिनुभएको छ । बुढ्यौली लागे पनि उहाँ विशेषगरी एकल महिला, गरिब, विपन्न, दलित, जनजाति, घरपरिवार– समुदायबाट अपहेलित महिलालाई प्राथमिकता दिँदै ढाका बुन्ने कार्यमा सीप तथा हौसला दिने गर्नुहुन्छ । पहिला मासिक रूपमा तलब दिएर कामदार खटाउने महर्जनले अहिले भने मिटरको हिसाबले पारिश्रमिक दिने गरेको बताउनुहुन्छ ।

महर्जन भन्नुहुन्छ, “मिटरको हिसाबले पारिश्रमिक दिन थालेपछि कामदारले राम्रै कमाइ गर्नुभएको छ, नयाँ नयाँ डिजाइन, बुट्टा भर्नेलाई थप सुविधा उपलब्ध छ, निरन्तर काममा खटिएर काम गर्नेले महिनामा रु पन्धदेखि रु बीस हजारसम्म त सजिलै कमाइ गर्नुहुन्छ” ।

काठमाडौँ, गोरखपुरलगायत विभिन्न स्थानमा उत्पादित ढाका आयात गरी केही व्यापारीले पाल्पाली ढाकाको नाम बेचेर नक्कली ढाका बेच्ने गर्दा व्यवसाय धराप अवस्थामा पनि पुग्यो । सङ्घले बाहिरबाट भित्रिएका ढाका पाल्पाली ढाकाको नाम राखेर बिक्री नगर्न निर्देशन दिए पनि केही व्यापारीको अटेरका कारण पाल्पाली ढाका उद्योग सङ्कटमा प¥यो । पाल्पाली ढाकाबाट उपभोक्ता नठगिन ब्राण्डका रूपमा ढाका कपडा बजारमा ल्याउन थालेको अध्यक्ष महर्जनको भनाइ छ ।

महर्जनका श्रीमान् गणेशमानले भारतमा ढाका बुन्ने सीप सिकेर आएपछि विसं २०१५ मा पाल्पामा ढाका कपडाको व्यवसाय थालनी गर्नुभएको हो । अहिले यो देश तथा विदेशमा राम्रो पहिचान बनाउन सफल भएको छ । त्यतिबेला गणेशमानले पाल्पा कारागारमा रहेका थुनुवाबाट कपडा बुन्ने काम गराउँदा तिनलाई आम्दानीको राम्रो माध्यम बनेको थियो ।

गणेशमानले सुरु गरेको व्यवसाय अहिले पनि निरन्तर चलिरहेको छ । उहाँकी श्रीमती पूर्णमाया हालसम्म सात हजार महिलालाई ढाका कपडाको तालिम दिइसकेको बताउनुहुन्छ । उमेरले ८४ वर्ष पुगे पनि उहाँले व्यवसायमा धेरै महिला उद्यमी उत्पादन गरेर रोजगारीको ढोका खोलिदिनुभएको छ ।

पूर्वदेखि पश्चिम सम्मका तथा विभिन्न मुलुकबाट पनि सामान खरिद गर्न आउने गरेको उहाँको भनाइ छ । साडी, कुर्ता, टोपी, पछ्यौरा, पर्स, झोलालगायत गरी करिब ९० थरिका सामान उहाँ उत्पादन गर्नुहुन्छ । सुरुमा परिवारले मात्रै धानेको व्यवसायलाई बढाउँदै जाँदा विसं २०२० देखि कामदार राखेर अहिलेसम्म पनि उहाँले निरन्तरता दिनुभएको छ ।

पाल्पामा हाल १५ ढाका कारखाना सञ्चालित छन् । पाल्पाली ढाकाका नाममा छल गरेर बाहिर उत्पादन भएका ढाका यहाँ भित्रन थालेपछि दुई ढाका कारखाना बन्द हुन पुग्यो । अहिले पुनः बन्द रहेका कारखानालाई सञ्चालनमा ल्याइएको छ । सात मात्रै कारखाना सञ्चालनमा रहेकामा यसै आर्थिक वर्षदेखि बन्द रहेका दुई कारखानासहित आठ कारखाना थपिएको पाल्पाली ढाका सङ्घका व्यवस्थापक अनुशेष रायमाझीले बताउनुभयो । “सङ्घले ढाका कपडासम्बन्धी सीप विकास तालिम, नयाँ कारखाना स्थापना गर्ने व्यवसायीलाई विभिन्न बैंकसँग समन्वय गरी ऋण सहयो र सहज रूपमा धागो उपलब्ध गराएको छ, कोभिड – १९ को अवस्था सहज बन्दै जाँदा कारखाना विस्तार हुँदै गएको छ”, उहाँले भन्नुभयो ।

सङ्घले ढाकाको सामग्री बिक्री नभएमा व्यवसायीबाट खरिद गरी तानसेनमा रहेको कोसेली घरबाट बिक्री गर्ने व्यवस्था मिलाएको छ । लुम्बिनी प्रदेश सरकारको ‘एक पालिका एक कोसेली’ कार्यक्रमअन्तर्गत तानसेन नगरपालिकाका समन्वयमा ढाका कपडा बिक्रीका लागि कोसेली घरको व्यवस्था गरिएको हो । गत असोज १ गते तानसेनमा कोसेली घर स्थापना गरी ढाका कपडाको व्यापार भइरहेको छ । गत फागुन १९ गते पाल्पाली ढाकालाई ‘ब्राण्ड’ घोषणा र चैत १२ गते पाल्पालाई ‘ढाका कपडाको राजधानी’ घोषणा गरियो । हरेक वर्ष चैत १२ का दिन ढाका महोत्सव मनाउने सङ्घको योजना छ ।

बजारमा ढाकाको माग बढ्दो रहेकाले सङ्घले अबको दुई वर्षभित्र एक हजार ५०० जनालाई सीप विकास तालिम दिने भएको छ । हाल यहाँका कारखानाबाट ५०० भन्दा बढीलाई प्रत्यक्ष रोजगार गर्ने अवसर मिलेको छ । उद्योगमा काम गर्ने कामदारमध्ये ९८ प्रतिशत महिला छन् । यहाँ सञ्चालित उद्योगबाट महिलाले राम्रो रोजगार गर्ने अवसर पाएका छन् ।

न्यूनतम तीनदेखि बढीमा एक सयभन्दा बढी तान राखेर कारखाना सञ्चालन गरिएको छ । एक सयभन्दा बढी तान भएका चार कारखाना छन् । रु पाँच÷सात लाखका लगानीमा व्यवसाय चलाउन सकिने हुँदा ढाका उद्योगबाटै राम्रै लाभ लिन सकिनेछ । पाल्पाली ढाकाको माग अहिले बजारमा बढ्दो छ ।

पहिला ढाका भन्नेबित्तिकै चोली, टोपी र भोटोमा मात्रै सीमित भएकामा हिजोआज ग्राहकको रोजाइअनुसार कमिज, साडी, ब्लाउज, झोला, कुर्ता, पछ्यौरा, आस्कोट, पर्दालगायत विभिन्न सामग्री तयार पारिन्छ । अहिले कोभिडको अवस्था सामान्य हुँदै जाँदा यहाँ सञ्चालित उद्योगबाट वार्षिक रु दुई करोडसम्मको कारोबार हुने लक्ष्य लिइएको छ । पाल्पाली ढाका सङ्घले ढाका उत्पादन बढाउन जिल्लाका दशवटै पालिकाका समन्वयमा ढाका कपडाको तालिम चलाइने जनाएको छ ।

बाहिरबाट भित्रिएका यन्त्रबाट उत्पादित ढाका कपडाले गर्दा पाल्पाका केही उद्योग बन्द पनि नभएका होइनन् । अहिले ब्राण्डमा लगिएपछि भने पुनः उद्योगीमा उत्साह थपिएको छ । उद्योग, व्यापार फस्टाउने अवस्थामा छन् भने थपिने क्रम पनि जारी छ । जिल्ला सदरमुकाम तानसेनसँगै ग्रामीण भेग कसेनी, मदनपोखरा, कुसुमखोला, चिर्तुङ्धारा, बन्दीपोखरा र अर्गलीमा ढाका कपडा बुनिँदै आएको छ । (रासस, सुशीला रेग्मी)