४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ

करोडौँको लागतमा बनेको स्वास्थ्यचौकी भवन प्रयोगविहीन

करोडौँको लागतमा बनेको स्वास्थ्यचौकी भवन प्रयोगविहीन
अ+ अ-

पर्वत । झण्डै रु दुई करोडको लागतमा बनेको सुविधासम्पन्न स्वास्थ्यचौकी भवन वर्षौँदेखि प्रयोगविहीन भएको छ । पर्वतको फलेबास नगरपालिका–१ कार्कीनेटा स्वास्थ्यचौकीको सुविधासम्पन्न भवनबाट सेवा प्रवाह हुन सकेको छैन । जनशक्ति, बर्थिङ सेन्टर, गर्भवती जाँचलगायत सेवाका लागि आवश्यक उपकरणसमेत उपलब्ध भए पनि भवन प्रयोगविहीन भएको छ ।

स्थानीयवासीको विरोध हुँदाहुँदै कमजोर भूबनोटमा निर्मित स्वास्थ्यचौकी भवन आसपासको जमिन भासिएका कारण राज्यको करोडौँ रकम बेकामे भएको हो । खाल्टाथरमा निर्मित भवनसहित जमिन भासिने र पहिराले पुर्न थालेपछि स्वास्थ्यचौकी निर्माण सम्पन्न भएको दुई वर्ष बित्दा पनि सेवा सुरु हुन नसकेको हो । साढे एक तलाको नौकोठे भवन करिब तीन रोपनीमा बनेको छ । लामो समयदेखि पुरानो र जीर्ण भवनबाट सेवा दिँदै आएको स्वास्थ्यचौकी तत्कालीन द्वन्द्वकालीन संरचना निर्माणको सूचीमा निर्माण भएको थियो ।

नयाँ भवन बनेपछि सेवा–सुविधासमेत थप हुने आशामा बसेका स्थानीयवासी सेवा नपाउँदा निराश भएका छन् । निर्माण सकिने समयमा भवनको बाहिरी बरन्डातर्फको भाग सबै भासिएको थियो । पुनःनिर्माण सम्पन्न भएपछि पनि सेवा सुरु हुने गरी कार्यालय सर्न सकेको छैन । स्वास्थ्यचौकीको नयाँ भवन निर्माण भएपछि गाउँका सुत्केरीलाई स्वास्थ्य संस्थामै ल्याउने गरी जनशक्ति र आवश्यक उपकरणको व्यवस्थापन गर्न सकिन्थ्यो ।

तर अहिले भइरहेको साँघुरो छाप्रोमा उपलब्ध उपकरण जडान गरेर सेवा दिन सक्ने अवस्था नरहेकाले त्यसै थन्क्याउनुपरेको स्वास्थ्यचौकीका इन्चार्ज शान्त अधिकारी बताउनुहुन्छ । “बस्ने ठाउँ छैन, ती उपकरण जडान गरेर सेवा विस्तार गर्ने धेरै परको कुरा भयो”, उहाँले भन्नुभयो । बर्थिङ सेन्टरसहित सेवा विस्तार गर्न नयाँ भवनमा सर्ने अवस्था नभएपछि नगरपालिकासँग बजार क्षेत्रमा दुईवटा कोठा माग गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्यचौकीमा एक अधिकृतस्तरको सिनियर अहेब, एक स्टाफ नर्स, एक अनमी, दुई पाँचौँ तहका स्वास्थ्य सहयोगी र एक कार्यालय सहयोगी कार्यरत छन् । दुईकोठे छाप्रोबाट सेवा दिनुपर्दा सबै कर्मचारी बस्ने कुर्चीसमेत अट्ने ठाउँ नभएको स्वास्थ्यकर्मीको गुनासो छ ।

विसं २०७४ वैशाखमा भवन निर्माण सुरु भएको थियो । त्यसअघि नै स्थानीयवासीले विरोध जनाएका थिए । धाँजा फाटेको र पहिलेदेखि निरन्तर पहिरो खसिरहेको जमिनमा भवन निर्माण गरिएको स्थानीयवासीको भनाइ छ । “हामीले धेरैपटक त्यहाँ हुँदैन भनेका थियौँ”, स्थानीय एकनारायण श्रेष्ठले भन्नुभयो, “उतिबेला कुरा कसैले सुनेनन्, अहिले यो हालत भयो ।”

तत्कालीन दलीय संयन्त्रका नाममा कांग्रेस, एमाले र माओवादीका स्थानीय नेताले पहिराको जोखिम भएको जग्गा छनोट गर्दा अहिले करोडौँ राज्यकोषको रकम दुरुपयोग भएको भूपेन्द्र पोखरेलले बताउनुभयो । “अलि पल्तिरको डाँडाबारीमा जग्गा हुँदाहुँदै केही व्यक्तिले स्वार्थ पूरा गर्न यहाँ बनाए, हामीले विरोध गरेकै हो”, पोखरेलले भन्नुभयो, “ती व्यक्ति स्वार्थ पूरा भएपछि हराए, अहिले त्यसको मार हामी जनताले भोग्नुपरेको छ ।”

स्वास्थ्यजस्तो गम्भीर विषयमा खेलवाड हुनु खेदजनक भएको स्थानीयवासीले बताएका छन् । भवन डिभिजन कार्यालय कास्कीमार्फत निर्मित उक्त भवन निर्माण सम्पन्न भएपछि पनि भवन संरक्षणकै लागि अरू लाखौँ रकम खर्चिसकेको छ । एक प्राविधिकका अनुसार उक्त भवन आसपासको जग्गाकै कारण भवन जोगाउन तीनपटकसम्म लागत अनुमान गरी काम भइसकेको छ । भवन भएको स्थानको दुवैतर्फ कच्ची सडक र जमिनको भागसमेत कमजोर हुँदा पहिरो खस्ने र धस्सिने क्रम रोकिएको छैन । रासस