५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग

सन्दर्भ विश्व क्षयरोग दिवसः कहाँ हराए क्षयरोगका ४० हजार बिरामी ?

सन्दर्भ विश्व क्षयरोग दिवसः कहाँ हराए क्षयरोगका ४० हजार बिरामी ?
अ+ अ-

काठमाडौँ । नेपालमा अझै पनि ४० हजारभन्दा बढी क्षयरोगका बिरामी उपचारबाट वञ्चित छन् । हरेक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामी पत्ता लाग्ने गरेकामा आर्थिक वर्ष २०७७/७८ मा २८ हजार ६७७ जनाले मात्र उपचार गराएको थियो । बाँकी बिरामी उपचारको पहुँचबाट बाहिर रहेको जनाइएको छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा सञ्जयकुमार ठाकुरका अनुसार नेपालमा वार्षिक नयाँ र पुरानो गरी एक लाख १७ हजार क्षयरोगका बिरामी हुन्छन् । तीमध्ये २८ हजार ६७७ जनाले मात्र रोग पत्ता लागि उपचार गराएका छन् । यसका आधारमा अझै पनि ७५.४८ प्रतिशत क्षयरोगका विरामी उपचार सम्पर्कबाट बाहिर छन् । उपचार गराउन आएकामध्ये ९१ प्रतिशत बिरामी निको भएर जाने गरेको उहाँले बताउनुभयो । तीमध्ये ६७ प्रतिशत पुरुष, ३३ प्रतिशत महिला र सात प्रतिशत बालबालिका रहेका छन् । “जनचेतनाको अभाव र उपचार गरे रोग निको हुन्छ भन्ने थाहा नपाएर अझै धेरै बिरामी सम्पर्कमा नै आएका छैनन्”, उहाँले भन्नुभयो, “ती बिरामीलाई सम्पर्कमा ल्याएर उपचार गर्नु चुनौती रहेको छ ।”

सरकारले औषधि निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । क्षयरोग नियमित उपचारले निको हुने गर्दछ । औषधि प्रतिरोधी क्षयरोगका बिरामी वार्षिक दुई हजार २०० रहेका छन् । यो सङ्ख्या जनसङ्ख्याको हिसाबले नेपालमा अत्यन्त धेरै हो । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई सन् २०२१ देखि औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएको ३० देशको सूचीमा राखेको छ । आव २०७७/७८ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ५६९ जनाको औषधि प्रतिरोधी क्षयरोग पहिचान गरिएको थियो । तीमध्ये ४१८ जना उपचारमा गराइरहेका छन् । केन्द्रका निर्देशक डा ठाकुरले औषधि प्रतिरोधी क्षयरोगका बिरामी र रोग पत्ता लागी उपचारमा आएका बिरामीको सङ्ख्या हेर्दा एक हजार ६३१ जना बिरामीको रोग पत्ता लगाई उपचारमा ल्याउन चुनौती रहेको बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले क्षयरोगको अन्त्यका लागि मन्त्रालयले पञ्चवर्षीय रणनीतिक योजना २०७८/७९ देखि २०८२/८३ कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो । उहाँका अनुसार यस रणनीतिअनुसार स्वास्थ्य सेवा प्रणालीलाई सुदृढीकरण गरी स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि गुणस्तरीय क्षयरोग सेवाको सुधार, राष्ट्रिय क्षयरोग प्रेषण प्रयोगशालाको सुदृढीकरण, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको गुणस्तर सुनिश्चितामा संलग्न गरिनेछ । यस्तै देशका विभिन्न चार स्थानमा क्षयरोग प्रेषण प्रयोगशालाको स्थापना गर्ने, समुदाय र परिवारमा आधारित डट्स सेवाको विस्तार तथा लागू गर्ने, केन्द्रीय स्तरमा निर्माण सम्पन्न भएको छाती रोग अस्पतालको सञ्चालन गरी सातवटै प्रदेशमा क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको विस्तार गर्ने रणनीतिमा उल्लेख गरिएको छ ।

सचिव डा पोखरेलले क्षयरोग नियन्त्रणमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले पनि क्षयरोगका बिरामी पत्ता लगाउन कठिन भएको उल्लेख गर्दै निजी सङ्घसंस्थाको पहलमा सहकार्य गरेर क्षयरोगका बिरामी पत्ता लगाई उपचार गर्नुपर्ने बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनका नेपालका प्रमुख डा राजेश पाण्डवले क्षयरोग केन्द्रित सेवालाई प्रभावकारी रुपमा कार्यान्वयन गरी उपचार गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहलाई नेपाल क्षयरोग मुक्त घोषणा अभियानमा सहभागिता गराई नेपाललाई चाँडै नै क्षयरोग मुक्त घोषणा गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले प्रत्येक स्थानीय तहलाई क्षयरोगमुक्त गर्दै क्षयरोग निवारणका लक्ष्य हासिल गर्नका लागि यसै आवदेखि २५ वटा स्थानीय तहमा कार्यक्रम सञ्चालन गरेको छ । स्थानीय तह क्षयरोग मुक्त अभियान आगामी चार वर्षभित्र सबै स्थानीय तहमा सञ्चालन गरिने केन्द्रका निर्देशक डा ठाकुरले जानकारी दिनुभयो । आव २०७७/७८ मा राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत ८९६ माइक्रोस्कोपिक केन्द्र, ८४ जिनएक्सपर्ट केन्द्र तथा उपचार सेवाअन्तर्गत पाँच हजार ५०३ डट्स केन्द्र, २२ डिआर उपचार केन्द्र, ८१ डिआर उपचार उपकेन्द्र, ६ डिआर होस्टेल र एक डिआर होममार्फत सेवा प्रदान गरिएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले स्थानीय तहबाट नै क्षयरोग मुक्त अभियान सञ्चालन गरिएको बताउनुभयो । भोलि नेपालसहित विश्वभरि नै ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ’ भन्ने मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाइँदैछ । प्रमुख जनस्वास्थ्य समस्याका रुपमा रहँदै आएको क्षयरोग सरुवा रोग भएका कारण हराइरहेका बिरामी पत्ता लगाउन निकै चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो । क्षयरोग माइक्रोब्याटेरियम ट्युबरक्लोसिस नामक ब्याक्टेरियाका कारण हुन्छ । यो रोग खोक्दा वा हाछ्युँ गर्दा बिरामीबाट हावामा गई हावालाई दुषित बनाउँछ र उक्त हावा स्वास्थ्य मानिसले लिँदा रोग सर्न सक्छ । “लगातार खोकी लाग्ने, साँझपख हल्का ज्वरो आउने, खाना नरुच्ने, खकारमा रगत देखिने, शरीरको तौल घट्दै जानेजस्ता लक्षणहरु देखा परेमा रोग लागेको हुन सक्छ”, उहाँले भन्नुभयो, “यस्तो लक्षण देखिए नजिकको स्वास्थ्यसंस्थामा जचाउन जानुपर्छ ।”

क्षयरोग र कोरोना दुबै स्वासप्रस्वासबाट सर्ने रोग हो

क्षयरोग र कोरोना सङ्क्रमण दुबैले फोक्सोमा असर गर्दछ । दुवै रोगका मिल्दा लक्षणमा ज्वरो आउने, खोकी लाग्ने, थकाई लाग्ने, सास फेर्न गाहे हुने हुन्छ । त्यसैले यस्ता लक्षण देखिए कोरोनाका साथ क्षयरोगको परीक्षण गराउनुपर्छ ।

क्षयरोग केन्द्रको अनुसन्धानमा ४० प्रतिशत डिआरटिभीका विरामीहरुमा कोभिड–१९को सङ्क्रमण देखिएको छ । क्षयरोगका विरामीलाई कोभिड भएमा चाँडै निमोनिया बढ्ने र स्वासप्रस्वाससम्बन्धी जटिलता आउने भएकाले समयमै सजगता अपनाउनुपर्छ । विश्व स्वास्थ्य सङ्गठनको २०२० को प्रतिवेदनअनुसार विश्वभरि ९९ लाख मानिसहरु क्षयरोगबाट पीडित भएको र तीमध्ये वार्षिक १५ लाखको मृत्यु हुने गरेको छ ।