काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का ६३ वर्षीय सुमन तामाङको १० जनाको परिवार छ । किसान तामाङसँग चार रोपनी चार आनाको खेत छ । सो खेतबाट उत्पादन भएको धानले उनले १० जनाको परिवार पाल्दै आएका थिए ।
यो वर्ष बढी धान उत्पादन गर्ने लोभमा उनले स्थानीय जातको बीउ छाडेर डी वाई २८ हाइब्रिड धानको बीउ लगाएका थिए । प्रतिकिलो ७ सय ७५ रुपैयाँमा धानको बीउ खरिद गरी खेतमा रोपेका थिए ।
तर, यो वर्ष भने १० जना परिवार पाल्ने खेतमा एक दाना पनि धान उत्पादन नभएपछि अहिले उनी तनावमा छन् । वर्षभरि परिवार पाल्ने खेतमा धान नफलेपछि उनलाई अब परिवार केले पाल्ने चिन्ताले सताएको छ ।
‘डी वाई २८ हाइब्रिड धानको बीउ लगाउँदा उत्पादन धेरै हुने आशाले बजारबाट प्रतिकिलो ७ सय ७५ रुपैयाँमा खरिद गरी खेतमा धान रोपेको थिएँ तर के गर्नु धानमा एउटा दाना पनि लागेन, घाम पानी नभनेर रोपेको खेतमा दाना नआएपछि अब के गरी बाँच्ने भन्ने पिरले सताएको छ, खेतमा दाना नलागेर पूmल मात्र पूmलेको छ,’ किसान तामाङले भने ।
सोही ठाउँकी फुलमाया तामाङ, पुम्पाङ तामाङकोे पीडा पनि यस्तै छ । उनीहरूले पनि धेरै उत्पादन हुन्छ भन्ने लोभमा स्थानीय धानको बीउ नरोपी सोही डी वाई २८ हाइब्रिड धानको बीउ रोपेका थिए । उनीहरूको अवस्था पनि सुमन तामाङको भन्दा फरक भएन ।
कृषक पूmलमायाको तीन रोपनीको खेतमा रोपेको धानमा दाना नलागेर फुलेको मात्र छ । उनले सो खेतबाट धान उत्पादन गरेर चार जनाको परिवार पाल्दै आएकी थिइन् । यसपटक धानमा दाना नलागेपछि उनलाई पनि परिवार कसरी पाल्ने चिन्ता छ ।
यसैगरी, पुम्पाङ तामाङले दुई रोपनी खेतमा सोही बीउ रोपेका थिए । उनको खेतमा पनि अवस्था यस्तै छ । धानमा दाना छैन, मात्र धान पूmलेर सेतो भएको छ ।
सोही ठाउँका ६१ वर्षीय नम्बे तामाङको पीडा पनि फरक छैन । कृषक नम्बे तामाङले पनि बढी उत्पादन हुन्छ भन्ने लोभमा पाँच रोपनी चार आनाको पुरै खेतमा डी वाई २८ हाइब्रिड धान रोपेका थिए । कृषक तामाङ भन्छन्, ‘पाँच रोपनी खेतमा धान रोपेर २४ देखि २५ मुरी धान फलाएर ११ जनाको परिवार पाल्ने गरेको थिएँ । तर, बढी उत्पादन हुन्छ भन्ने लोभमा डी वाई २८ हाइब्रिड धानको बीउ रोपेको, दाना नै लागेन । वर्षभरि पेट पाल्ने खेतमा रोपेको धानमा दाना नलागेपछि अब परिवार पाल्ने कसरी पाल्ने भन्ने चिन्ता छ ।’
भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का ६० देखि ७० घरपरिवार किसानले रोपेको २ सय बढी रोपनी खेतमा लगाएको धानमा दाना नै नलागेपछि परिवार केले पाल्ने चिन्तामा किसान डुबेका हुन् ।
असोज, कात्तिक महिना किसानका लागि एकदमै महत्वपूर्ण महिना हो । यतिबेला किसान बर्खाभरि लगाएको मुख्य धानबाली भित्र्याउनमा व्यस्त हुन्छन् । यो समयमा किसानलाई घरमा धान भित्र्याउन भ्याइनभ्याई हुन्छ । तर, भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का किसानले रोपेको धानमा दाना नलागेपछि किसानलाई खेतलाई हेरेर बस्नुबाहेक केही विकल्प छैन ।
बाग्मती प्रदेशका राष्ट्रिय कृषक समूह नेपाल महासंघका अध्यक्ष विकास तामाङले चाँगुनारायण नगरपालिका–६ का ६० देखि ७० घरपरिवारले रोपेका सबै धानमा दाना नलागेर फूल फुलेको मात्रै बताए । उनले करिब २ सय बढी रोपनीमा खेतमा दाना नलागेको बताए । अध्यक्ष तामाङले २ सय रोपनी खेतमा रोपेको धानमा दाना नलाग्दा करिब ५२ लाखको क्षति भएको बताए ।
अध्यक्ष तामाङका अनुसार प्रतिकिलो रोपनीमा १० मुुरी धान उत्पादन हुन्छ । प्रतिमुरीमा करिब ६५ किलो धान हुन्छ । हाल बजारको धानको मूल्य करिब ४० रुपैयाँ छ । सो हिसाब गर्दा २ सय रोपनी खेतमा दाना नआउँदा ५२ लाख रुपैयाँभन्दा बढीको क्षति भएको अध्यक्ष तामाङको भनाइ छ । आजको राजधानी दैनिकमा खबर छ ।