२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशमा मन्त्रालय टुक्र्याएर सबैलाई भाग पुर्‍याउने मुख्यमन्त्रीको तयारी



अ+ अ-

गठबन्धन दलबाट मन्त्रीका आकांक्षी बढी भएपछि भागबन्डा मिलाउन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रालय टुक्र्याउने तयारी गरेका छन् । अहिले भएका आठ मन्त्रालय टुक्र्याएर ११ बनाउने र तिनमा चार राज्यमन्त्री थप गरी १६ सदस्यीय मन्त्रिपरिषद् बनाउने उनको तयारी छ । यसअघिका मुख्यमन्त्री डोरमणि पौडेलले ४२ महिनासम्म ७ मन्त्री र एक राज्यमन्त्री गरी आठ सदस्यीय सरकार चलाएका थिए ।

हालै राजीनामा दिएकी अष्टलक्ष्मी शाक्यले पनि १२ सदस्यीय मन्त्रिपरिषद् मात्रै बनाएकी थिइन् । तर, उनले एक मन्त्रालय टुक्र्याएर सातबाट मन्त्रालयको संख्या आठ पु¥याएकी थिइन् । मुख्यमन्त्री पाण्डेले ती आठबाट बढाएर मन्त्रालयको संख्या ११ पुर्‍याउन लागेका हुन् । बागमती प्रदेशमा एक सय १० सांसद छन् । संविधानमा भएको व्यवस्थाअनुसार यहाँ ११ भन्दा बढी मन्त्रालय बढाउन पाइँदैन ।

गठबन्धनमा मन्त्रीका आकांक्षी धेरै भएपछि भागबन्डा मिलाउन मुख्यमन्त्री पाण्डेलाई सकस परेको छ । मुख्यमन्त्रीमा शपथ लिएपछि उनले विश्वासको मत प्राप्त भएपछि मात्र सरकार विस्तार गर्ने प्रतिक्रिया दिएका थिए । उनको सो प्रतिक्रियाभित्र गठबन्धन दलको आकांक्षा सम्बोधन गर्न नसके सरकारले विश्वासको मत प्राप्त गर्न नसक्ने हो कि भन्ने डर देखिन्थ्यो । त्यसैले उनी पहिले विश्वासको मत लिने र त्यसपछि सरकार विस्तार गर्ने तयारीमा छन् । तर, उनी गठबन्धनका दललाई चिढ्याउने पक्षमा छैनन् । 

माओवादी र कांग्रेसले मागे चार–चार मन्त्रालय
एमालेले एकल बहुमत गुमाएपछि पाण्डेको नेतृत्वमा बनेको सरकारमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी सम्मिलित छन् । हाल उनीसहित चार सदस्यीय मन्त्रिपरिषद् छ । १३ सांसद मात्र रहेको दलबाट पाण्डे मुख्यमन्त्री भएकाले त्योभन्दा धेरै सांसद रहेका माओवादी र कांग्रेसले चार–चार मन्त्रालयको माग गरेका छन् । 

पाण्डेले ११ मन्त्री, चार राज्यमन्त्री बनाई आफूसहित मन्त्रिपरिषद् १६ सदस्यीय बनाउने तयारी गरेको नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामाले जानकारी दिए । उनले तिहारलगत्तै संसद्बाट मुख्यमन्त्रीले विश्वासको मत लिने र त्यसपछि तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएकाले गठबन्धन दलहरू मन्त्रालय बाँडफाँडको छलफलमा जुटेको जानकारी दिए । 

‘हालका मन्त्रालयहरूले गठबन्धनमा भागबन्डा पुग्ने स्थिति छैन,’ उनले भने, ‘त्यसकारण मन्त्रालय संख्या ११ वटासम्म पुर्‍याउने र राज्यमन्त्री थप्नेबारे छलफल भइरहेको छ ।’ लामाले मन्त्रालयको संख्या बढाएर गठबन्धनमा भएका दलहरूमा भागबन्डा मिलाउने अन्तिम विकल्प भएकाले यसबारे मुख्यमन्त्रीसहित दलका नेताहरू सकारात्मक देखिएको प्रतिक्रिया दिए ।

माओवादी दलका नेता भन्छन्– सरकार बलियो बनाउन संख्या बढाउँदै छौँ
माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सरकारमा गठबन्धनका सबै दलको मजबुत उपस्थितिका लागि मन्त्रालयको संख्या बढाउन लागिएको बताए । नयाँ पत्रिकासँग कुरा गर्दै जम्कट्टेलले अरू प्रदेशमा पनि गठबन्धनपछि मन्त्रालयको संख्या बढाइएकाले आफूहरू पनि त्यस्तो छलफल जुटेको प्रतिक्रिया दिए । ‘मन्त्री/राज्यमन्त्रीसहित बागमतीमा २२ सांसद सरकारमा रहन सक्ने प्रावधान छ,’ उनले भने, ‘तिहारलगत्तै मुख्यमन्त्रीले विश्वासको मत लिएपछि तत्कालका लागि ११ वटा मन्त्रालय निर्माण गर्छौँ ।’

मुख्यमन्त्रीमा सहमतिको चरणमा रहँदा माओवादी र कांग्रेसबाट मन्त्री बन्ने विषयमा सांसदहरूले लबिङ गरिरहेका थिए । गठबन्धनका तीनवटै दलले मन्त्रीको नाम टुंग्याउन नसकेपछि संसदीय दलका उपनेताहरूको नेतृत्वमा सरकारमा जाने निर्णय गरेर दलहरूले पहिलो चरणमा सहमति जुटाएका थिए । माओवादी दलका नेता जम्कट्टेलका अनुसार कांग्रेस र माओवादी केन्द्रले चार–चारवटा मन्त्री र समाजवादीले मुख्यमन्त्रीसहित चार मन्त्री पाउनेबारे प्रारम्भिक छलफल भइरहेको छ । 

 यी चार मन्त्रालय टुक्र्याउने तयारी
गठबन्धनबीच सामाजिक विकास, भौतिक पूर्वाधार विकास, भूमि व्यवस्था कृषि तथा सहकारी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय टुक्र्याउने छलफल चलेको छ । यसअघिकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय थप गरेकी थिइन् ।

अब मुख्यमन्त्री पाण्डेले स्वास्थ्यलाई कायम राख्दै युवा तथा खेलकुद र महिला बालबालिका तथा ज्येष्ठ नागरिक गरी तीनवटा मन्त्रालय बनाउने भएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयलाई फुटाएर ऊर्जा तथा खानेपानी र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई पनि विभाजन गरेर कृषि मन्त्रालय छुट्टै बनाउने पाण्डेको तयारी छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयलाई फुटाएर वन तथा वातावरण छुट्याउनेबारे छलफल भइरहेको छ । (नयाँ पत्रिका दैनिकमा समाचार छ)




भर्खरै