३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

पहिराले छियाछिया चुरे: जोखिममा बुटवल

पहिराले छियाछिया चुरे: जोखिममा बुटवल
अ+ अ-

बुटवल । बुटवल बजारबाट उत्तरतिर नजर डुलाउँदा सधैँ देखिने हरिया पहाडतिर अहिले आँखा डुलायो भने अत्यास लाग्छ । बुटवल उपमहानगरपालिकाको तिनाउ नदी वारि र पारिका चुरे पहाडलाई पहिराले छियाछिया पारेको छ । 

दुवैतिरका चुरेमा खसेका साना–ठूला पहिराहरुले यी पहाडलाई सख्त घाइते तुल्याएको स्पष्ट देखिन्छ । विशाल पहिराको मुन्तिर देखिने बुटवल बजार निरीह छ । यस वर्ष उपमहानगरको वडा नं ३ मा पर्ने ज्योतिनगर क्षेत्रमा मात्रै करिब ७० हेक्टर क्षेत्रमा पहिरो गएको छ । यो विशाल पहिरो एकैचोटी गल्र्यामगुर्लुम गएन । गत वर्षदेखि नै स–साना पहिराहरु जान थालेको र यसपालि सामान्य वर्षा हुँदा पनि हिलो र लेदो झर्न थालेकाले पहिरोमुनिको बस्ती सचेत भएर बसेको थियो । जसका कारण कुनै मानवीय क्षति हुन भने पाएन ।

यो भीमकाय पहिराको मुन्तिर अवस्थित सहरको भविष्य के होला रु के साँच्चै अहिलेको अवस्थामा देखिएको चुरेको पहिरो वर्षातहरुमा थामिएला रु यी विषयमा अहिले बुटवल क्षेत्रमा छलफल हुन थालेका छन् । विकासोन्मुख सहरमा देखिएको यो जोखिमले स्थानीयवासीमा चिन्ता जगाइदिएको छ । “समयमै चुरेको पहिरो नियन्त्रणका लागि पहल नगर्ने हो भने बुटवलको उत्तरी क्षेत्र पहिरामा मिसिन सक्छ”, चुरे–तिनाउ संरक्षण समितिका संयोजक कमल गौतम भन्नुहुन्छ, “अब पनि ढिलाइ भयो भने ठूलो क्षति हुने खतरा छ, यसमा तीनै तहका सरकार गम्भीर हुनुपर्छ ।”

अघिल्लो वर्षात्मा सङ्केत देखिएको थियो

बुटवल क्षेत्रमा चुरेको पहिरो अहिले मात्रै आएको होइन । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका अनुसार बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर क्षेत्रमा विसं २०३३ बाटै पहिरो देखिन थालेको थियो । विसं २०५५ मा वडा नं ३ र ४ का ५७ घर विस्थापित नै गर्ने गरी ठूलो पहिरो आयो । त्यसले लामो समयसम्म ज्योतिनगर क्षेत्रलाई त्रासमै राख्यो । सरकारले सामान्य तटबन्धलगायतका काम गरे पनि भरपर्दो व्यवस्था गरेन ।

त्यतिबेला स्थानीयवासीलाई अन्यत्र बसोबासको व्यवस्था मिलाएर स्थानान्तरणसमेत गरियो । पछि विस्तारै पहिरो थामियो र हरियाली भयो  । विसं २०५५ देखि २०७१ सम्म आइपुग्दा पहिरो गएको स्थानमा फेरि रुख बिरुवा हुर्किएपछि पहिरो गएको क्षेत्र पुरानै अवस्थामा फर्कियो । पहिरो रोकिएपछि स्थानान्तरण गरिएका परिवार पनि ढुक्कसँग त्यहीँ बस्न थाले । घरजग्गा किनबेच हुन थाल्यो । स्थानीयवासीले मात्र होइन, स्थानीय सरकारले समेत पहिरो बिर्सियो । 

अघिल्लो वर्ष साउन २८ गते बुटवल र पाल्पाको तिनाउ गाउँपालिका र बुटवल आसपासमा भीषण वर्षा भयो । करिब पाँच घण्टा लामो उक्त वर्षाले तिनाउ गाउँंपालिकाको दोभानलगायतका क्षेत्रमा क्षति पु¥यायो । केही घर पनि पुरिए । रातिको समयमा भएको भारी वर्षाले तिनाउ नदीमा पनि भयङ्कर बाढी आयो । रातभर भएको भारी वर्षापछि बिहान उठ्दा बुटवलमाथिका चुरे पहाडमा साना–साना पहिराका थुपै्र दृश्यहरु देखिए । स्थानीय केही मिडियाले चुरेमा आएका स–साना पहिराले जोखिम निम्त्याएको समाचार पनि लेखे । केही अगुवाहरुले जोखिम हुनसक्ने ठानेर आवाज उठाएका पनि थिए । ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका केही घरमा चुरेबाट बग्ने साना खोलाले ल्याएको गेग्रेटो नै पस्यो तर जिम्मेवार निकायले ध्यान पु¥याउन सकेन ।

यस वर्ष पनि चुरेमा पहिरो खसिरह्यो । लामो र भारी वर्षा अनुुभव गरे पनि चुरेमा गएको पहिरो बुटवलवासीले थाहै पाएनन् । एकैचोटी पहिरो गएन । रुख बिरुवा र हरियालीका कारण भित्रभित्रै पहिरो जाँदा पनि तलबाट देखिएन । गत भदौ १३ र १४ गते भएको भारी वर्षासँगै लेदो र हिलो बगेर घरहरु पुरिँदा पनि माथि जङ्गलमा पहिरो देखिएको थिएन ।  यसलाई पनि बुटवलवासीले सामान्यरूपमा लिए ।

घर वरिपरि हिलो बग्दा पनि ज्योतिनगर क्षेत्रका बासिन्दा घर छाडेर भागेनन् । थोरै घरपरिवारमात्रै लेदो बग्न थालेपछि डरले घर छाडेका थिए । अधिकांशले जोखिम मोलेरै बसे । साना–साना पहिरो खसेर मात्र हिलो बगेको महसुस गरियो । तर जब भारी वर्षा थामियो दुई दिनपछि मात्रै बजारमाथिको पहाडको दृश्य देखेर बुटवलवासी झसङ्ग भए । त्यतिबेलासम्म भारी वर्षा बन्द भइसकेको थियो । 

अहिले वर्षा बन्द भए पनि पहिरो ठूलो भएकाले फेरि ढुङ्गामाटो खस्न सक्ने जोखिम भने कायमै छ । जुनसुकै समयमा खस्न सक्ने गरी ढुङ्गा माटो झुण्डिएर बसेकाले उक्त क्षेत्र अहिले पनि जोखिममा छ । “भर्खरै खस्छ कि जस्तो गरी ढुङ्गाहरु बसेकाले अझै ढुक्क हुनसकेका छैनौँ, घर वरिपरि ढुङ्गा, माटोसहितको पहिराले लथालिङ्ग अवस्था छ, भएको सम्पत्ति यही घर हो, एक महिना त डेरा भाडामा लिएर बस्यौँ तर आफ्नो घरजस्तो नहुने भएपछि फेरि यहीँ फर्कियौँ”, पहिरो प्रभावित तुलसा सुवेदी गुनासो गर्नुहुन्छ । 

भदौ १३ गते रातभर पानी प¥यो । १४ गते बिहान एकाएक माटोको लेदोसहितको भेल आउन थालेपछि बुटवल उपहानगरपालिका–३, ज्योतिनगर बस्ने रमा पुन निकै आत्तिनुभयो तर पहिरो घरभित्रै पस्ला भन्ने हेक्का उहाँलाई थिएन । सुरुमा सानो भेल बगे पनि विस्तारै ठूला ढुङ्गासहितको पहिरो आउन थालेपछि पुनसहित उहाँँका छिमेकीहरु हल्लाखल्ला गर्न थाले । बिहान ९ बजेपछि चुरे पहाडबाट ठूला–ठूला ढुङ्गासहित पहिरो आयो । पुनसहित उहाँका छिमेकी हतार–हतार गरी बालबालिका लिएर बुटवल बहुमुखी क्याम्पसमा पुग्नुभयो । त्यतिबेलासम्म ज्योतिनगरका एक दर्जन बढी परिवार क्याम्पसको प्राङ्गणमा आएर बसेका थिए ।
 
भदौ १४ गते गएको पहिराले ज्योतिनगर मिलनपथ निवासी  सीता मल्लको दुईतले घरको पहिलो तला पूरै पुरिएको छ । पहिराका कारण घरमा बस्ने स्थिति नभएपछि एक महिना भाडामा बसेकी सीताले अहिले रु ५० हजार खर्च गरी घरभित्रको माटो सोहोर्ने र पहिराले भत्काएको घर अगाडिको पर्खाल लगाउने काम गर्दै हुनुहुन्छ । “स्थानीय सरकारले भाडामा बसेको रकम दिने भने पनि अहिलेसम्म दिएको छैन ।

जिल्ला प्रशासन कार्यालयबाट भने राहतस्वरुप प्रतिपरिवार रु १५ हजार पाएका छौँ”, मल्ल भन्नुहुन्छ, “हामीलाई राहत होइन, पहिरो नियन्त्रण भए पुग्छ ।” विसं २०५५ को पहिरोसमेत बेहोर्नुभएकी मल्लसहित त्यहाँका स्थानीयवासीलाई बुटवलको तामनगरमा स्थानान्तरण गरिएको थियो । तर मल्ल त्यहाँ बस्नुभएन । “तामनगरमा पनि खोलाकै किनारमा हामीलाई १० धुर जग्गा दिइएको थियो तर, यहाँ घर बनाएर बसिसकेकाले छोड्न मन लागेन”, उहाँले भन्नुभयो । सरकारले यहाँबाट बस्ती स्थानान्तरण गर्नुभन्दा पहिरो नियन्त्रणका लागि योजना बनाउनुपर्ने उहाँको भनाइ छ ।

ज्योतिनगरकै कस्मिरा बानु पनि पहिरोले भत्काएको घर अगाडिको पर्खाल र गेट बनाउने तयारी गर्दै हुनुहुन्छ । पहिरोले घरमा बस्ने स्थिति नहुँदा डेढ महिना भाडाको घरमा बसेर एक हप्ताअघि फर्किएको बानुको परिवार पनि अहिले पुरिएको एकतले घरका कोठा सरसफाइ गर्दैछ । “पहिराले गर्दा घरै अगाडिका तीनवटा घर भत्किएकाले टोल नै सुनसान छ, जताततै पहिराले ल्याएको माटो र ढुङ्गा मात्रै देख्दा मन खिन्न हुन्छ ।”

बुटवल उपमहानगरपालिका–२ पाखापानी क्षेत्रमा पनि पहिराका दृश्यहरु त्यत्तिकै डरलाग्दा छन् । पहाडैभरि पहिरो झरेका कारण पाखापानीका बासिन्दा वर्षात्भरि रातिको समयमा घरै छाड्न बाध्य भए । यहाँ पनि गत वर्षदेखि पहिरो देखिन थालेको हो । गत वर्ष देखिएका केही पहिराका दृष्यहरु बढेर अहिले ठूलो भागमा क्षति पुगेको छ । कैयाँैपटक पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध हुन पुग्यो । डिभिजन सडक कार्यालय बुटवलले तारजालीमा ढुङ्गा भरेर खसेको पहिरो सडकमा आउन नदिने गरी तटबन्ध त गरेको छ तर जोखिम कायमै छ भन्नुहुन्छ वडाध्यक्ष रमेश नेपाल । 

पहिराका कारण बुटवलको शिरमा रहेको सिद्धबाबा क्षेत्र पनि उत्तिकै जोखिममा छ । पानीका मूलसँगै बेलाबेलामा पहिरो जाने र ढुङ्गा खस्ने हुँदा डराइडराइ यात्रा गर्नुपर्ने बाध्यता यात्रुलाई छ । वर्षा हुनेबित्तिकै पहिरो जाने भएकाले यो क्षेत्रमा पर्ने बुटवल–पाल्पा सडक अवरुद्ध हुने गर्छ । यसको व्यवस्थापनका लागि सरकारले सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढाएको छ ।

किन गयो बुटवल क्षेत्रको चुरेमा पहिरो ?

चुरेमा पहिरो जानुको खास कारण विज्ञहरुले पत्ता लगाउन सकेका छैनन् तर मौसममा आएको परिवर्तन, मानवीय अतिक्रमण, सडकलगायतका पूर्वाधारका नाममा भएका चुरे क्षेत्रको विनास र विसं २०७२ मा आएको भूकम्पलाई नै कारण मानिएको राष्ट्रपति चुरे तराई–मधेश संरक्षण कार्यक्रम कार्यान्वय एकाइ कार्यालयका सूचना अधिकारी प्रकाश बस्नेत बताउनुहुन्छ । अघिल्लो र यस वर्ष छोटो समय तर भारी वर्षा चुरे क्षेत्रमा भयो ।

हुन त बुटवल क्षेत्र तुलनात्मकरूपमा धेरै पानी पर्ने क्षेत्र हो । दक्षिणतिरबाट जलवाष्प बोकेर आएको बादल वसन्तपुर र नुवाकोटका अग्ला डाँडामा ठोक्किँदा यहाँ पानी परिरहन्छ । पछिल्ला केही वर्षहरुमा धेरै पानी परेको महसुस नभए पनि यो क्षेत्र भौगोलिक हिसाबले बढी पानी पर्ने क्षेत्रको रुपमा लिइन्छ । मनसुन सक्रिय भएको बेला यहांँ ठूलो र धेरै पानी पर्ने सम्भावना सधँै रहन्छ । हिउँद वा प्रिमनसुनका बेला पनि अरु ठाउँको तुलनामा यहाँ पानी परिरहन्छ । ज्योतिनगरमाथिको चुरेमा छवटा पानीका मुहानसमेत छन् । 

ती पानीका मुहान व्यवस्थित हुन नसक्नु, भारी वर्षा हुनु, वर्षेनी डढेलो लाग्नु र विसं २०७२ को भूकम्पले चर्किएका भू–भागबाट पानी पस्नु  चुरेको पहिराका कारण हुन् भन्नुहुन्छ, राष्ट्रपति चुरे तराई–मधेश संरक्षण कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका जलाधार व्यवस्थापन अधिकृत विमल राउत । मानवीय अतिक्रमणका कारण पहिरो गएको भनिए पनि चुरेका फेदीमा सडक बनेको स्थानमा पहिरो नगएका कारण अतिक्रमण भन्न नमिल्ने उहाँको भनाइ छ ।
 
बुटवल क्षेत्रको चुरेमा पहिरो गएपछि विज्ञहरुको टोलीले एक महिनाअघि यहाँ स्थलगत अध्ययनसमेत गरेको छ । भूगर्भविद् डा रञ्जन दाहालसहितको टोलीले अध्ययन गरेर सरकारलाई प्रतिवेदनसमेत बुझाइसकेको छ । “त्यहाँको चुरेमा पानीका मूलहरु छन्, तीनको व्यवस्थापन पनि छैन र वर्षातमा परेको पानीको व्यवस्थापन पनि छैन त्यसले यति ठूलो पहिरो निम्तिएको हो”, डा दाहाल भन्नुहुन्छ । पहिरो नियन्त्रणका नाममा परम्परागत तारजाली गरेर समस्याको समाधान नहुने उहाँको भनाइ छ । “तटबन्ध र तारजालीले पहिरो नियन्त्रण हुँदैन भन्ने कुरामा प्रष्ट हुनुपर्छ”, उहाँले भन्नुभयो । यसपालि भारी वर्षा भएको र समयमै  पानीको व्यवस्थापन गर्न नसकेका कारण पहिरो गएको उहाँको निष्कर्ष छ । 

विज्ञहरुका अनुसार बस्ती बिकास वा विभिन्न नाममा चुरे अतिक्रमण हुने भएकाले पहिरोको जोखिम रहन्छ । त्रिभुवन विश्वविद्यालय, शिक्षा शास्त्र सङ्काय भूगोल विभागका सहायक प्राध्यापक डा.देवी पौडेल भन्नुहुन्छ, “चुरेमा जङ्गल भरिएको हुनुपर्छ, उत्खनन भएको हुनुहँुदैन । निरन्तर वृक्षरोपण गर्नुपर्छ ।”

चुरे–तिनाउ संरक्षण समितिका संयोजक कमल गौतमका अनुसार विसं २०५५ को पहिरोपछि जाइका समूहले सो क्षेत्रमा सर्भे गरेको थियो । भू–उपग्रहमार्फत चुरे क्षेत्रको तस्वीर खिचेर अध्ययन गरेपछि जाइकाले यो क्षेत्र जोखिमपूर्ण रहेको निष्कर्ष निकालेको थियो । चुरे क्षेत्रमा भएका ठूला रुखले जोखिम निम्त्याउने भएकाले कटान गर्न सुझाव दिइएको थियो तर, त्यो काम अझै भएको छैन । चुरेको पहिरो व्यवस्थापनका लागि गत वर्ष विष्णु पौडेल अर्थमन्त्री भएका समयमा रु चार करोड ११ लाख बजेट विनियोजन गरिएको थियो ।

यो बजेटको आधा रकम गत वर्ष नै खर्च गरिए पनि बाँकी दुई करोड यो वर्ष मात्रै हुने बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी बताउनुहुन्छ । त्यसो त उपमहानगरपालिकाले पहिरो गएपछि त्यसको नियन्त्रण तथा माटो सोर्ने काममा मात्रै करिब रु ८० लाख खर्च भएको जनाएको छ । तर, पहिरो नियन्त्रणकै लागि ठोस काम अझै हुन बाँकी छ ।

“ज्योतिनगरको पहिरो नियन्त्रणका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउँदैछौँ, त्यसका लागि विज्ञको समूहले अध्ययन सुरु गरेको छ, अध्ययनपछि सुझावका आधारमा सङ्घ र प्रदेश सरकारसँग समन्वय गरी काम अघि बढाउँछौ”, उपमहानगरपालिका प्रमुख सुवेदी भन्नुहुन्छ । चुरे क्षेत्रमा पहिरो नियन्त्रणका लागि सघाउ पु¥याउने वनस्पति रोप्ने, ठूला रुखहरु नम्बरिङ गरी हटाउने र पानीको निकासका लागि प्राविधिक खटाएर काम गर्ने योजना उपमहानगरको छ ।

चुरेमा गएको पहिरो नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले भने कुनै योजना बनाएको छैन । नयाँ सरकार गठनपछि भागबण्डामै अलमलिएको प्रदेश सरकारका मन्त्रालयहरु अझै लयमा फर्किन सकेका छैनन् ।

अधिकांश मन्त्रालय टुक्रिएपछि जिम्मेवारी बाँडफाँटसमेत हुन नसक्दा मन्त्रालयका कामले गति लिनसकेको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश प्रमुखको कार्यालय तथा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयबाटै भयानक पहिराको दृश्य देखिँदासमेत ठोस योजना बन्न सकेको छैन ।  भीष्मराज ओझा र निरा गौतम/ रासस