१४ असार २०८३, आईतवार
,
Latest
सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोफसलमा ट्रमाको उत्कृष्ट अस्पताल बनाउने तयारीमा लामिछाने



अ+ अ-

चितवन । मोफसलमा उपचार पाउन नसकेर काठमाडौँ धाइरहेका बिरामीको पीडा देखेपछि एक चिकित्सकले राजधानी बाहिर अस्पताल खोल्ने अठोट लिनुभयो ।  एक युवाका लागि ३० वर्षे उमेरमा सहरमा अस्पताल खोल्नु आफैँमा चुनौतीपूर्ण थियो । त्यो चुनौती सामना गर्दै डा प्रमोद लामिछानेले भरतपुरमा अस्पताल सुरु गरेरै छोड्नुभयो ।
 
लमजुङको राइनास नगरपालिका–८ माझीगाउँमा जन्मिनुभएका डा लामिछानेले काठमाडौँको बीएण्डबी अस्पतालमा उपत्यका बाहिरबाट आउने ठूलो सङ्ख्याका बिरामीको पीडा सुनेपछि भरतपुरमा अस्पताल खोल्ने निधो गर्नुभयो । भरतपुरकै कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस गरेर काठमाडौँ विश्वविद्यालयबाट अर्थोपेडिकमा एमडी गरेसँगै उहाँले बीएण्डबीमा काम थाल्नुभयो ।
 
कामको दौरानमा मकवानपुरदेखि बुटवलसम्मका दुर्घटनाका धेरै घाइते उपचारका लागि काठमाडौँ नै धाउनुपर्ने बाध्यता देखेपछि उहाँले यही ठाउँलाई बीचमा पारेर अस्पताल खोलेको बताउनुभयो । बीएण्डबीमा आठ महिना काम गरेपछि उहाँ चितवन झर्नुभयो ।
 
मध्यम वर्गीय परिवारमा हुर्किनु भएका लामिछानेसँग अठोट र साहस त थियो तर पैसा थिएन । विसं २०६७ कात्तिक १७ गते अस्पताल त दर्ता गर्नुभयो तर उहाँसँग आर्थिक व्यवस्थापन हुन सकेन । विगतलाई सम्झँदै उहाँले भन्नुभयो, “परिवारले मात्रै होइन, बैंकले पनि मलाई पत्याएनन् ।” चितवनका सबै बैंकमा परियोजना ऋण प्रस्ताव पेश गरे पनि कसैले ऋण नपात्याएपछि बैनी प्रतिभा ढकालको घर धितोमा राखेर उहाँले ऋण लिनुभयो ।
 
छोराको तीव्र चाहानाका कारण शिक्षक पेसामा रहनुभएका बुबा कृष्णप्रसाद लामिछानेले दिएको बीउ पूँजीमा बैंकको ऋण थप गरेर अस्पताल सुरु गर्नुभयो । त्यसो त उहाँलाई अस्पताल उपकरण खरिद गर्न सप्लायर्सले उधारो पत्याए । यसरी सुरु भएको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उहाँले रातदिन मिहिनेत गर्नुभयो । 

पछिल्ला पाँच वर्ष पारिवारिक समस्याका कारण चाहे जति समय दिन नभ्याए पनि अस्पताललाई कहिल्यै पछाडि धकेलिन दिनुभएन । यो अवधिमा आफ्नो नेतृत्वमा २० हजार शल्यक्रिया गरेको उहाँको भनाइ छ । त्यसो त उहाँ एक्लैले १५ हजार शल्यक्रिया गरिसक्नुभएको छ । “२४ घण्टामा मैले १४ वटा शल्यक्रिया र ४० जनाको बहिरङ्ग परीक्षण गरेको छु”, उहाँले भन्नुभयो । मिहिनेतकै कारण अस्पताल भाडामा रहेको भवनसमेत खरिद गर्न सफल भएको छ । लामिछानेको पाँच कठ्ठा जमिनमा अस्पताल भवन छ । जहाँ ५० शय्याको ट्रमा अस्पताल सञ्चालनमा छ । अस्पतालमा तीन अर्थोपेडिक सर्जन, चार मेडिकल अधिकृतसहित ६५ जना जनशक्ति कार्यरत छन् ।
 
जिल्लामा अत्याधुनिक उपकरण प्रयोग गरेर शल्यक्रिया र उपचार गर्र्दै आएको उहाँको भनाइ छ । विसं २०३८ माघ १४ गते जन्मिनुभएका लामिछाने आफ्नो चार दशकको उमेरमा जे गर्नुभयो आउँदा दिनमा थप सेवा दिने गरी अस्पतालको सञ्चालन गर्ने तयारीमा हुनुहुन्छ । अस्पताल दर्ता गरेकै वर्ष विवाह गरेको भए पनि श्रीमती डा बिएम खरेलको दुई वर्ष अघि निधन भएपछि पारिवारिक समस्यामा रहनुभएका उहाँ अबका दिनमा थप ऊर्जाका साथ काममा जुट्ने तयारीमा हुनुहुन्छ । उहाँले भन्नुभयो, “ट्रमा क्षेत्रमा मोफसलको उत्कृष्ट अस्पताल बनाउने तयारीमा छु ।” सबै बिरामी काठमाडौँ पुग्दा धेरैले दुःख पाएको र कतिपयको बाटोमै निधन हुने गरेको भन्दै उहाँले समयमै उपचार गर्न सक्दा धेरैको ज्यान बचाउन सकिने बताउनुहुन्छ ।
 
पूर्व–पश्चिम राजमार्ग, नारायणगढ मुग्लिन सडक र भित्री सडकमा हुने दुर्घटनाका घाइते उपचारका लागि यस अस्पतालमा आउने गर्दछन् । यसरी आएका घाइते ७५ प्रतिशत हाराहारी बीमाका हुने गर्दछन् । सकेसम्म कम खर्चमा उपचार गराउने गरी आफूले उपचार गर्दै आएको उहाँ बताउनुहुन्छ । घाँटीभन्दा तल छातीबाहेकका सम्पूर्ण अर्थोपेडिक शल्यक्रिया आफूहरुले गर्दै आएको उहाँले जानकारी दिनुभयो । युवा र आर्थिक अवस्था मध्यम हुँदै गर्दा पनि बिरामी ठीक पार्न सक्छु भन्ने अठोटका कारण अस्पताललाई सफलता मिलेको उहाँ बताउनुहुन्छ । धेरै चिकित्सक राजधानी केन्द्रित हुँदै गर्दा आफ्नो सीप मोफसलमा लगाउन सकेमा धेरैको विश्वास जित्न सकिन्छ भन्ने उदाहरण डा लामिछानेले प्रस्तुत गर्नुभएको छ ।