दक्षिण अमेरिकी मुलुक इक्वेडरको गुयाकिलमा रहेको एक जेलभित्र कैदीहरुबीच नै भएको भिडन्तमा परेर ६८ जना कैदीबन्दीको ज्यान गएको छ । समाचार संस्था एएफपीले स्थानीय जेल अधिकारीलाई उद्धृत गर्दै कैदीहरुले एकअर्कामाथि बन्दुक, विस्फोटक पदार्थ र ब्लेड प्रहार गरेका थिए ।
गत सेप्टेम्बरमा पनि त्यही जेलभित्र परस्पर समूह (ग्याङ) बीच भिडन्त हुँदा ११९ जनाको ज्यान गएको थियो ।
इक्वेडरका राष्ट्रपतिका प्रवक्ता कार्लोस जिजोनले लागूऔषधका तस्करहरुसँग निकट सम्बन्ध रहेका बन्दीहरुबीच भिडन्त भएको बताएका छन् । सुरक्षाफौजले उक्त जेलभित्रको भिडन्तलाई नियन्त्रणमा लिइसकेको जनाएका छन् ।
स्थानीय समय अनुसार शुक्रबार रातिदेखि नै परस्पर समूहबीच भिडन्त शुरु भएको थियो । जेल रहेको गुयाज प्रान्तका गभर्नर पाब्लो एरोसिमेनाले कैदीहरुको ग्याङबीच भएको यो भिडन्त निकै दर्दनाक देखिएको बताउनुभयो ।
भिडन्तमा अरु २५ जना घाइते भएका छन् ।