९ भाद्र २०८३, मंगलवार
,
Latest
उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर अस्पतालमा रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माण सुरु



अ+ अ-

चितवन । मेरुदण्डमा समस्या देखिएका बिरामीको उपचारका लागि रोटरी क्लबको अगुवाइमा भरतपुर अस्पताल परिसरमा रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माणको काम थालिएको छ । आज जग पूजा गरेर निर्माण कार्य थालिएको हो ।  

चितवनका ६, नवलपरासीका दुई र  ललितपुरको एक गरी ८ वटा क्लबले आर्थिक सङ्कलन गरी सेन्टर निर्माण गर्न लागेका हुन । निर्माण समितिका संयोजक उत्तमलाल चुकेका अनुसार रु ६ करोडमा सेन्टर निर्माण गर्ने तयारी गरिएको छ । सुरुमा २५ शय्या र पछि ५० शय्या बनाइने उहाँले जानकारी दिनुभयो । रोटरी क्लबसँगै स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग सहयोग सङ्कलन गरिने चुकेले जानकारी दिनुभयो ।

रोटरी क्लब अफ चितवन रत्ननगर, नारायणगढ, भरतपुर, नारायणी मिडटाउन, गैँडाकोट, पूर्वी चितवन, कावासोती र जावलाखेलको संयुक्त परियोजनाको रुपमा सेन्टर अघि बढाइएको हो । रोटरी क्लब अफ रत्ननगरका पूर्व अध्यक्ष जनक पौडेलले निर्माण सम्पन्न भएसँगै भरतपुर अस्पताललाई हस्तान्तरण गरिने बताउनुभयो । एक वर्षभित्रमा निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

मेरुदण्डका बिरामी राखिने भएकाले भूइँ तला मात्र बनाइने छ । अस्पताललाई हस्तान्तरणपछि पनि आवश्यक सहयोग रोटरीले गर्ने पौडेलको भनाइ छ । भरतपुर अस्पतालमा यसअघि नै विसं २०६९ असार १ गतेबाट स्पाइनल सेन्टर सञ्चालन गरिएको थियो । हाल १० शय्याको सो सेन्टर कोभिडका कारण अन्य विभागमा गाभेर सञ्चालन गरिएको छ । 

भरतपुर अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट प्रा।डा। कृष्ण प्रसाद पौडेल स्पाइनल उपचारको विज्ञ समेत हुनुहुन्छ । अस्पतालको पाँच कठ्ठा जमिनमा सेन्टर निर्माण थालिएको हो । यसले स्पाइनलमा समस्या भएका बिरामीको उपचारमा सघाउ पुग्ने पौडेलको भनाइ छ । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार निर्माणपछि यसको सञ्चालन विकास समितिलेनै गर्ने छ । सेन्टर पूर्ण रुपमा निर्माण गरी उपकरणसहित जडान गरेर रोटरीले अस्पताललाई हस्तान्तरण गर्ने उहाँले जानकारी दिनुभयो । 

सेन्टरलाई उपचारसँगै पुनःस्थापना केन्द्रको रुपमा विकास गरिने छ । मेरुदण्डका बिरामीमा अन्य समस्या भएमा अस्पतालमानै उपचार गर्न सकिने भएकाले यो सेन्टर निकै प्रभावकारी हुने अधिकारीको भनाइ छ । सरकार आफैले गर्नुपर्ने काममा रोटरीको अगुवाइमा हुन लागेको भन्दै उहाँले सबैलाई आवश्यक सहयोगका लागि अनुरोध गर्नुभयो । रासस