१४ असार २०८३, आईतवार
,
Latest
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो सवारी दुर्घटना भएमा राज्यलाई पनि ज्यानमार्ने उद्योगमा मुद्दा चलाउने कानूनी व्यवस्था सरकारले गर्नुपर्दछः ज्ञानबहादुर शाही प्रतिनिधि सभामा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेश राष्ट्रपतिबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण सरकार स्मार्ट बनोस् शुभकामना छ तर ओभर स्मार्ट नबनोस्ः सांसद गुरुङ अत्यावश्यक खोपको तत्काल प्रबन्ध गर्न सांसद आचार्यको माग फिफाले एन्फामाथि गरेको निलम्बन फुकुवा गर्न सरकारले तत्काल पहल गर्नुपर्दछः आर्यन राई कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूचनालाई अटेर गरी मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यमहरुलाई कारबाही गरिने (भिडियो सहित)



अ+ अ-

काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाँईले बोर्डको सूचनालाई अटेर गरी मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यमहरुलाई कारबाही गरिने बताउनु भएको छ ।

अध्यक्ष हुमागाँईले सूचना प्रकाशित गरिसकेपछि पनि केही सञ्चारमाध्यमहरुमा मदिराजन्य पदार्थहरुको विज्ञापन प्रकाशन भइरहेको भन्दै विज्ञापन प्रशारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापन दातालाई कानून बमोजिम कारबाही गरिने बताउनु भएको हो । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले बोर्ड अहिले विज्ञापन प्रशारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापन दाताहरुलाई पत्राचार गर्ने तयारीमा रहेको समेत बताउनुभयो । अध्यक्ष हुमागाँईले ऐनले मदिरा तथा सुर्तिजन्य पदार्थको विज्ञापनमा मात्रै रोक लगाएको बताउँदै बिक्री वितरण र उत्पादनमा रोक नलगाएको बताउनु भयो ।

अध्यक्ष हुमागाँईले भन्नुभयो, ‘खास गरीकन जनस्वास्थ्य सेवा ऐन २०७५ मदिरा, सुर्तिजन्य पदार्थहरुको विज्ञापन गर्न रोक लगाएको छ, विज्ञापनको उत्पादन, प्रशारण, वितरण र प्रकाशन गर्न रोक लगाएको छ, हामीले यही कार्तिक २५ गते त्यस्ता पदार्थहरुको विज्ञापन उत्पादन, प्रकाशन तथा प्रशारणको काम, नगर्नू, नगराउनू भनेर एउटा विज्ञापन जारी गरेका छौँ र त्यस यता केही पत्रपत्रिकाहरुले विज्ञापनहरु प्रकाशन गरेका छन्, हामी ती प्रकाशन गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापन दातालाई समेत हामी पत्राचार गर्दैछौँ, यदी कुनै पनि व्यक्ति वा संस्थाले विद्यमान कानूनको प्रतिकुल कुनै काम गर्छ भने त्यस्ता व्यक्ति वा संस्थालाई सोही कानून बमोजिम कारबाही हुन्छ, खास गरी यो ऐनले त्यस्त पदार्थको बिक्री वितरणमा रोक लगाएको होइन, उत्पादनमा रोक लगाएको होइन, विज्ञापन गर्नमा मात्र रोक लगाएको हो, विज्ञापन बोर्डको गठन भइसकेपछि हामीले अनुगमन कार्यलाई तीव्र पारेका छौँ ।’

यता राष्ट्रिय टेलिभिजन प्रशारक संघले पनि सार्वजनिक सञ्चारमाध्यम र पत्रपत्रिकामा मदिराजन्य वस्तुको विज्ञापन प्रकाशन गरेकोमा बिरोध गरेको छ । राष्ट्रिय टेलिभिजन प्रशारक संघका अध्यक्ष शंकर अधिकारीले सार्वजनिक सञ्चारमाध्यम र पत्रपत्रिकामा वर्जित विज्ञापन प्रकाशन रोक्ने काममा विज्ञापन बोर्ड विमुख हुन नमिल्ने बताउनु भयो । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले निजी क्षेत्रले सरकारले निकालेको सूचनालाई थ्रेट दिएर, अटेर गरेर मदिराको विज्ञापन निकाल्दा प्रशासन, राज्य र विज्ञापन बोर्डले केही गर्न नसकेको आरोप लगाउनु भयो । अध्यक्ष अधिकारीले कानूनले वर्जित गरेका काम गर्नेहरुलाई कानून बमोजिम कारबाही गर्न माग गर्नुभयो ।

अध्यक्ष अधिकारीले भन्नुभयो, ‘हाम्रो कानूनमा भएको व्यवस्था परिपालना गराउनलाई जो निकाय, विज्ञापन बार्ड अहिलेको यो विषयमा जहाँ, जे अवस्थामा छ, जे गर्नका लागि भनेर गठन भएको छ, त्यो कम्तिमा उसकै दायित्व हो, यी विषयहरुलाई कार्यान्वयन गर्नुपर्ने र गराउनु पर्ने, विज्ञापन बोर्ड नै आफ्नो दायित्वबाट विमुख हुनु भएन, निजी क्षेत्रले अघिल्लो दिनको थ्रेट दियो, अघिल्लो दिनको सरकारी सूचनालाई थ्रेट दिने गरी भोलिपल्ट भएभरका पत्रपत्रिकाहरुमा मदिराको विज्ञापन एकसाथ छाप्ने गरी थ्रेट दिइरहेको छ, यस्तो हुँदा पनि प्रशासन, राज्य, विज्ञापन बोर्ड, त्यसलाई नियमन गर्ने निकाय, के हेरेर बसिरहेको छ रु किन हात हाल्न सक्दैन ? राज्यले किन हेर्दैन ? अहिले हाम्रो राष्ट्रिय टेलिभिजन प्रशारण संघ पनि कानूनले वर्जित गरेका कुराहरु गर्नु हुँदैन, भन्ने हाम्रो स्पष्ट छ र वर्जित गरेका कुराहरु गर्नेहरुलाई तत्काल कानूनअनुसार कारबाही समेत गर्नुपर्छ ।’

अध्यक्ष अधिकारीले विज्ञापन बोर्डले निकालेको विज्ञप्तिअनुसार निर्वाह गर्नुपर्ने दायित्व पूरा गर्न नसकेको बताउनु भयो । उहाँले कानूनमा भएको कुरालाई हुबहु लागू गराउनु पर्ने दायित्व र जिम्मेवारीमा बसेकाहरुले बढी चासो दिनुपर्ने बताउँदै भएको कानूनलाई लागू गराउनु पर्ने बताउनु भयो । अध्यक्ष अधिकारीले सार्वजनिक सञ्चार माध्यमहरुमा मदिरा लगायत कुनै चिजहरुको विज्ञापन गर्ने कुरा कुनै किसिमले उचित नहुने पनि बताउनु भयो ।