इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएका खेलमा म्यान्चेस्टर सिटी र टोटेनह्याम दुबैले आआफ्ना खेल जितेका छन् । जितसँगै सिटीले १२ खेलबाट २६ अंक जोड्दै पुनः दोस्रो स्थानमा उक्लेको छ ।
लिभरपुल भने १२ खेलबाट २५ अंक जोड्दै तेस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको चेल्सीको १२ खेलबाट २९ अंक छ ।
घरेलु मैदान एतिहाद रंगशालामा झण्डै ५३ हजार दर्शकसामु निकै प्रभावशाली खेल प्रस्तुत गरेको म्यान्चेस्टर सिटीले एभर्टनलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । सिटीका लागि ४४औं मिनेटमा रहिम स्टर्लिङले पहिलो गोल गरेका थिए । त्यसपछि ५५औं मिनेटमा रोड्री र ८६औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गरे ।
त्यस्तै, टोटेनह्याम हस्पर्सले लिड्स युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेको छ । यस खेलमा पहिलो हाफमा लिड्सले अग्रता लिएको थियो । पहिलो हाफको अन्ततिर ४४औं मिनेटमा लिड्सका लागि डेनियल जेम्सले गोल गरेर खाता खोलेका थिए ।
तर टोटेनह्यामका लागि लुकास मौराको पासमा होयबर्गले ५५औं मिनेटमा गोल गरी बराबरी बनाएका थिए । ६९औं मिनेटमा टोटेनह्यामका सर्जिओ रेगुलोनले विजयी गोल गरेका थिए ।
यो जितसँगै टोटेनह्यामको १२ खेलबाट १९ अंक भएको छ र लिगको अंक तालिकामा सातौं स्थानमा छ । शनिबार राति वाटफोर्डसँग ४–१ गोल अन्तरले स्तब्ध भएको म्यान्चेस्टर युनाइटेड भने १७ अंकका सात आठौं स्थानमा झरेको छ ।