१ पुष २०८२, मंगलवार
,
Latest
माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशन प्रतिनिधि चयनमै कडा टक्कर



अ+ अ-

काठमाडौँ — कांग्रेसमा महाधिवेशन प्रतिनिधि चयनदेखि नै संस्थापन र संस्थापनइतर पक्षबीच कडा प्रतिस्पर्धा देखिएको छ । सोमबारदेखि सुरु प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनमा देशैभर संस्थापन र इतरपक्षको प्यानलबीच चुनाव भएको थियो । सोमबार सुरु हुन नसकेका जिल्लामा मंगलबार पनि चुनाव भएका छन् ।

कुल १ सय ६५ निर्वाचन क्षेत्रबाट करिब ४ हजार २ सय महाधिवेशन प्रतिनिधि चयन हुन्छन् । प्रत्येक निर्वाचन क्षेत्रमा न्यूनतम २५ देखि अधिकतम २७ जनासम्म निर्वाचित हुने व्यवस्था छ । विधानमा प्रत्येक निर्वाचन क्षेत्रबाट २५ जनाका दरले प्रतिनिधि चयन हुने व्यवस्था भए पनि अल्पसंख्यक र अपांग व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्न संख्या थपिएको हो । निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले सोमबार १ सय २५ निर्वाचन क्षेत्रको अधिवेशन भए पनि नतिजा आइनसकेको बताए । उनका अनुसार मंगलबार पनि धेरै ठाउँमा मतगणना जारी छ । ‘बुधबारसम्म सबै ठाउँका नतिजा आउने आशा गरिएको छ,’ उनले भने ।

नतिजा आइरहेका कतिपय जिल्लामा संस्थापन र कतिपयमा इतरपक्षले वर्चस्व कायम गरेका छन् । यसअघि संस्थापन पक्षको वर्चस्व रहेका जिल्लामा इतरपक्ष र इतरपक्षको वर्चस्व देखिएका जिल्लामा संस्थापनपक्ष हावी देखिएको छ । उच्च पहाडी र हिमाली क्षेत्रका १४ जिल्लामा यसअघि नै अधिवेशन सम्पन्न भएका छन् । क्रियाशील सदस्यता विवादका कारण २ नम्बर प्रदेशमा भने महाधिवेशन प्रतिनिधि चयन गर्न अझै एक साता लाग्ने भएको छ । अहिले पालिकास्तरको अधिवेशन भइरहेका छन् । निर्वाचन समितिका सदस्य घिमिरेले एक साताभित्र प्रदेश २ का ८ जिल्लालगायत देशभरबाट करिब ४ हजार २ सय महाधिवेशन प्र्रतिनिधि चयन हुने बताए ।

प्रारम्भिक नतिजाले संस्थापनइतर समूहबीच साझा उम्मेदवार घोषणा गरेमा सभापति देउवाका लागि चुनौती हुने देखिएको छ । संस्थापनइतर पक्षमा सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला मुख्य प्रतिस्पर्धी छन् । सभापतिका आकांक्षी धेरै भए पनि तल्ला तहका अधिवेशनबाट संस्थापनइतर समूहको एउटै प्यानल खडा भएको थियो ।

पूर्वमा झापासहित केही जिल्लामा पार्टीमा तेस्रो धारका नेतृत्व गरिरहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको प्रभाव पनि राम्रै देखिएको छ । प्रदेश २ मा संस्थान, संस्थापनइतर पक्षका अतिरिक्त उपसभापति विमलेन्द्र निधिको छुट्टै प्यानल प्रतिस्पर्धामा उत्रने भएको छ । निधिले सभापति देउवासँगको २५ वर्ष लामो सहयात्राबाट अलग हुँदै उम्मेदवारी दिने घोषणा गरेका छन् । प्रदेश २ मा प्रभाव रहेको निधिको उम्मेदवारी घोषणाले देउवालाई चुनौती बढाएको हो । देउवा गृहजिल्ला डडेलधुराबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । संस्थापनइतर पक्षको बहिष्कारका बीच डडेलधुरामा अधिवेशन गराइएको थियो । जिल्ला सभापति कर्ण मल्लको नेतृत्वमा संस्थापनइतर खेमाका कार्यकर्ता विधानविपरीतका अधिवेशन बदर गर्नुपर्ने माग राख्दै एक सातादेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनशनमा छन् ।

क्रियाशील सदस्यता वितरणमा ‘मनपरी’ गरिएको भन्दै त्यसलाई सच्याई वडादेखि नै पुनः अधिवेशन हुनुपर्ने माग उनीहरूको छ । त्यसलाई नसच्याएसम्म कुनै पनि अधिवेशनमा भाग नलिने भन्दै देउवाइतर खेमाले अधिवेशन बहिष्कार गरेको हो ।

क्रियाशील सदस्यताको विवाद मिलाएर पुनः वडादेखिकै अधिवेशन हुनुपर्ने माग बेवास्ता गर्दै पार्टी सभापति देउवाकै निर्देशनमा निर्वाचन समितिले एकपक्षीय रूपमा अधिवेशन अघि बढाएको आरोप संस्थापनइतर खेमाको छ । देउवा–पत्नी आरजु पनि डडेलधुराबाटै महाधिवेशन प्रतिनिधि चयन भएकी छन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल भने महाधिवेशन प्रतिनिधिमै पराजित भए । काठमाडौं क्षेत्र नम्बर ७ बाट संस्थापनपक्षको प्यानलबाट उनले चुनाव लडेका थिए ।

गण्डकीमा पौडेल पक्ष हावी

गण्डकी प्रदेशमा मंगलबार साँझसम्म विभिन्न प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचित महाधिवेशन प्रतिनिधिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको वर्चस्व देखिएको छ । ११ जिल्लामध्ये मनाङ, मुस्ताङ, म्याग्दी र गोरखाको सबै नतिजा यसअघि नै सार्वजनिक भइसकेको थियो । स्याङ्जामा पनि मंगलबार अधिवेशन सम्पन्न भएको छ । अन्य जिल्लाको परिणाम आउने क्रम जारी छ । ११ जिल्लाका १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये मंगलबार साँझसम्म १० क्षेत्रको परिणाम सार्वजनिक भएको छ । यी क्षेत्रका २ सय ५५ महाधिवेशन प्रतिनिधिमा संस्थापन (देउवा) पक्षमा १ सय ३ देखिएका छन् । यसैगरी संस्थापनइतर अर्थात् पौडेल (शशांक, प्रकाशमान र शेखर) पक्षमा १ सय ४३ प्रतिनिधि चुनिएका छन् । आठ तटस्थ देखिएका छन् भने एक जना अन्य (गगन थापा) पक्षधरका छन् ।

गोरखामा ५३ महाधिवेशन प्रतिनिधिमा ३२ संस्थापन (देउवा) र १५ पौडेल (शशांक, प्रकाशमान र शेखर) पक्षका छन् । यसैगरी ६ महाधिवेशन प्रतिनिधि तटस्थ छन् । त्यस्तै, मुस्ताङका सबै २५ जना नै पौडेल पक्षबाट निर्वाचित भएका छन । मनाङमा १५ संस्थापन र १० पौडेल पक्षका रहेका छन् । म्याग्दीमा २७ मध्ये संस्थापनका १६ र पौडेल पक्षका ८, तटस्थ २ र एक जना अन्य पक्ष (गगन थापा) का छन् । कास्कीका ३ मध्ये २ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । एउटामा मतगणना जारी छ । दुई क्षेत्रका ५० महाधिवेशन प्रतिनिधिमध्ये संस्थापनमा १३ र अरू पौडेल पक्षधर छन् । स्याङ्जाका दुवै निर्वाचन क्षेत्रका ५० प्रतिनिधिमध्ये २३ संस्थापन र २७ इतरपक्षका छन् ।

स्याङ्जामा अहिले संस्थापनइतर पक्षका भनिए पनि महाधिवेशनमा अधिकांशले देउवालाई साथ दिने अड्कल गरिएको छ । तनहुँका दुई निर्वाचन क्षेत्रमध्ये एउटाको नतिजा सार्वजनिक भएको छ । तनहुँ–१ बाट संस्थापनका ४ र पौडेल पक्षका २१ जना प्रतिनिधि चुनिएका छन् ।

सुदूरपश्चिममा देउवाकै वर्चस्व

मंगलबार सम्पन्न मतगणनाअनुसार कञ्चनपुरका तीन निर्वाचन क्षेत्रबाट चयन भएका ७५ जना महाधिवेशन प्रतिनिधिमध्ये देउवा समूहका ५७ जना निर्वाचित भएका छन् । तीनै क्षेत्रबाट संस्थापनइतर समूहका १८ जना निर्वाचित भए । कञ्चनपुर–१ मा संस्थापनइतर पक्षका १६ र संस्थापन पक्षका ९ जनाले जितेका छन् । क्षेत्र नं २ मा २५ जना सबै संस्थापन पक्षका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नं ३ बाट २ जना संस्थापनइतर र २३ जना संस्थापन पक्षका विजयी भएका छन् । कञ्चनपुर–२ नेता एनपी साउद र ३ रमेश लेखकको क्षेत्र हो ।

डडेलधुरामा जिल्ला सभापतिसहित २६ महाधिवेशन प्रतिनिधि एकलौटी रूपमा देउवा पक्षले जितेको छ । जसमा प्रधानमन्त्री देउवा र उनकी पत्नी आरजुसमेत छन् । यसैगरी बैतडी, डोटी, कैलाली, अछाममा मंगलबार मतदान सकिएर मतगणनाको तयारी भइरहेको छ । लुम्बिनी प्रदेशका पाल्पा, पश्चिम नवलपरासी र रुकुम पूर्वमा संस्थापनइतर समूहको वर्चस्व देखिएको छ । पाल्पामा दुई क्षेत्रीय सभापतिसहित ५२ जनामध्ये दुई जनाबाहेक सबै संस्थापनइतर समूहका निर्वाचित भएका छन् । पश्चिम नवलपरासीमा दुई क्षेत्रबाट संस्थापन पक्षका २२ जना र इतरपक्षका २८ जना चयन भएका छन् । रुकुम पूर्वमा २५ जनामध्ये २३ जना संस्थापन र दुई जना मात्रै इतर समूहका निर्वाचित भएका छन् ।

यस्तै, मकवानपुरमा पनि सभापति देउवा समूहको वर्चस्व कायम भएको छ । दुवै निर्वाचन क्षेत्रका सभापति, अन्य पदाधिकारी र अधिकांश महाधिवेशन प्रतिनिधि देउवा समूहबाट निर्वाचित भएका छन् । मकवानपुरबाट चयन भएका ५२ महाधिवेशन प्रतिनिधिमध्ये ३७ जना संस्थापन (देउवा) पक्षका छन् । इतरपक्ष (प्रकाशमान सिंहका ८, रामचन्द्र पौडेलका ५, शेखर कोइरालाका १) बाट १४ जना निर्वाचित भएका छन् । एक जना महाधिवेशन प्रतिनिधि तटस्थ छन् । महाधिवेशन प्रतिनिधिमा ४० वर्षमुनिका ८ जना, ४० देखि ६० वर्षसम्मका ४२ जना र ६० वर्षमाथिका २ जना मात्र निर्वाचित भएका छन् । निर्वाचन परिणामअनुसार क्षेत्र नं १ को सभापतिमा देउवा समूहका दामोदर खनाल र क्षेत्र २ का सभापतिमा लोकबहादुर मोक्तान निर्वाचित भएका छन् ।

(कान्तिपुर दैनिकमा समाचार छ ।)