२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी संस्कृति खोइ ?



अ+ अ-

काठमाडौँ — पछिल्लो नेपाल भ्रमणका क्रममा आयोजित एक कार्यक्रममा भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरीले भनेका थिए, ‘समाजवादी संस्कृति निर्माणको कुनै कारखाना हँुदैन र छैन । यो लामो संघर्षको दौरान विकास हुन्छ ।’ अर्थात दैनन्दिन जीवनचर्याको लामो अभ्यासकै सिलसिलामा सांस्कृतिक विकास र रूपान्तरण हुन्छ । शाहवंशीय राजतन्त्र उन्मूलन गरी नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र बनाउनु भनेको राजा बस्ने सिंहासनमा राष्ट्रपति आसीन हुनेमात्र परिवर्तन थिएन, राजतन्त्रको शाही रवाफ, शान, शौकत र परम्परागत सामन्ती संस्कृति अन्त्य गर्नुसमेत थियो ।

भड्किलो सुरक्षा प्रबन्ध, सवारीमा पट्यारलाग्दो लस्करको अभ्यासलाई परिवर्तित नयाँ नेतृत्व र त्यसको निर्वाचक समाजले कसरी लिएको छ ? पहिले राजा र अहिले राष्ट्रपतिको जनसम्बन्ध, सम्पर्क, सार्वजनिक उपस्थिति र भूमिका तथा सम्बोधन शैलीमा कस्तो परिमार्जन र परिष्कार गरिएको छ ? यस्ता प्रश्नमा बहस र छलफल अपरिहार्य छ । नयाँ युगमा पुरानै शासनका सडेगलेका अभ्यासको निरन्तरता उचित हुन सक्दैन । राष्ट्रप्रमुख र सबै तहका सरकारको सांस्कृतिक रूपान्तरणका निम्ति तदनुकूल सांस्कृतिक अभ्यास र सामाजिक मर्यादा तथा व्यवहारमाशृङ्खलाबद्ध संगति हुनुपर्छ ।

संविधानले मुलुकलाई धर्मनिरपेक्ष राज्यका रूपमा स्थापित गरेको छ । समाजवाद उन्मुख भनेर गन्तव्यसमेत संविधानमै उल्लेख छ । राज्यको सांस्कृतिक अभ्यास र व्यवहार यही संवैधानिक प्रबन्ध अनुरूप गरिनुपर्छ । अर्थात समाजवादीसमाज निर्माणको संवैधानिक ध्येय–उद्देश्यसँग मेल खानेगरी राष्ट्रको उपरी संरचनाले आफ्नोभूमिका र मर्यादा निरुपण गरेर मूर्त र मान्य अभ्यास गर्न सक्नुपर्छ ।

बीपी कोइराला र मनमोहन अधिकारीले दसैंको अवसरमा थालनी गरेको चियापान परम्पराको बेग्लै अभ्यास, महत्त्व र गरिमा छ । यस वर्ष त्यही परम्परालाई प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भृकुटीमण्डप र सानेपामा छुट्टाछुट्टै ढंगले निरन्तरता दिएको विदितै छ ।

पार्टीका नेता, कार्यकर्ताका लागि आयोजित दसैं वास्तवमा यिनै चियापान समारोहहरू थिए । दसैं, तिहार लगायतका चाडवाडलाई राजकीय वा शासकीयभन्दा बढी सामाजिक, सांस्कृतिक र पारिवारिक पर्वका रूपमा मनाउने तथा निरन्तरता दिने अभ्यास नै सही हुन्छ । चाडपर्वको अवसरमा मान्यजन, आफन्त र अग्रजप्रतिको सम्मान उचितै हो ।

तर नेतृत्व र उच्चपदस्थ समक्ष चाकडी वा भक्तिभाव प्रदर्शन गर्ने अनुपम मौकाका रूपमा विकृत बनाउने वा साम्प्रदायिक भावना बढाउनेगरी विभिन्न पर्व मनाउने खालको भड्कावबाट लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलन तथा यसमा आबद्ध नेता, कार्यकर्ता पृथक रहनु उपयुक्त हुन्छ ।

कोही मान्यजन आज पदमा हुँदा टीका थाप्न भिडभाड लाग्ने पंक्ति भोलि पदासीन नहुँदा लामबद्ध नहुने निश्चित छ । दसैंको टीका थाप्न नेताहरूको घरदैलोमा देउसी खेल्न खोज्ने रवैया उचित होइन । टीका थाप्न नजाने कार्यकर्ता वा मातहत व्यक्तिलाई यही कसुरको आधारमा अवमूंल्यन गर्ने, कम महत्त्व दिने र लखेटिने पक्कै होइन । दसैंलाई नेतृत्वसामु आफ्नो सम्बन्ध देखाउने, नवीकरण गर्ने र पहुँच प्रदर्शन गर्ने अवसर र माध्यमजस्तो बनाउनु उपयुक्त हुँदैन ।

राष्ट्रपति पदको मर्यादा र सम्मानका निम्ति सचेत राजनीतिक कार्यकर्ताका नाताले हामी यसपालिको दसैं टीकाका सन्दर्भमा सिर्जित विवाद, बहस र तर्क–वितर्कमा सहभागी रह्यौं । हरेक व्यक्तिले राष्ट्रपतिकहा सम्मानपूर्वक टीका लगाएको दृश्य सार्वभौम जनता हेर्न चाहन्छन् । हामीले आगन्तुक पाहुनाका निम्ति ठाउँ र समारोहको उचित प्रबन्ध गर्न नसकेकामा जिम्मेवारहरूको कमजोरीको आलोचना गर्‍यौं ।

यो दसैं वा टीका समारोहको आलोचना थिएन । यसलाई राष्ट्रपतिको कमजोरी हो वा होइन भनेर बहस गर्नुसमेत जरुरी छैन । यस्ता विषयमा स्वयम् राष्ट्रपतिसमेत संवेदनशील हुनुपर्ने र मर्यादित अभ्यास हुनैपर्ने जनअपेक्षा भने छ । त्यहाँ कार्यरत निजामती, जंगी, राजनीतिक र विज्ञहरू सम्मिलित जनशक्तिले हरेक महत्त्वपूर्ण समारोहलाई व्यवस्थित तथा शोभनीय बनाउन ध्यान दिनैपर्छ ।

आफूलाई लागेको वा जानेको अथवा आफूले बुझेको हदसम्म होइन, राष्ट्रप्रमुखको गरिमा, मर्यादा र विचारधारालाई मध्यनजर गरेर निर्विवाद ढंगले काम गर्नुपर्छ । राष्ट्रपतिको गरिमा राष्ट्रकै गरिमा, इज्जत र सम्मानसँग जोडिएको हुन्छ ।

धर्मनिरपेक्ष राष्ट्रपतिले तीज, दसैं, तिहार, इद,न्हुँदया, क्रिसमस, छठ, भोटोजात्रा, इन्द्रजात्रा (कुमारी दर्शन) र ल्होसार आदि पर्वमा आफ्नो सार्वजनिक भूमिकालाई परिस्कृत गर्दै निर्विवाद बनाउन आवश्यक छ । २०६५ साउनमा निर्वाचित प्रथम राष्ट्रपतिले बढी ध्यान दिएर नयाँ अभ्यास थालनी गरेको भए आज यो बहस सायदै हुन्थ्यो । राष्ट्रपतिको तेस्रो कार्यकालसमेत पूर्ववत निरन्तर छ ।

परिवर्तित समाजमा नयाँ र युगसापेक्ष सांस्कृतिक रूपान्तरण र अभ्यास गरिनुपर्छ । यस निम्ति बहस र विमर्शको सुसंगत प्रक्रिया सञ्चालन गर्न जरुरी छ । बितेको एक दशकमा यस काममा खासै ध्यान दिइएन । बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुल विचारधारायुक्त नेपाली समाजमा यदाकदा देखिने विरोधाभाषपूर्ण अभ्यास यही कमजोरीको परिणति हो ।

हिन्दु बहुल नेपाली समाजमा अल्पसंख्यकको धार्मिक र सांस्कृतिक अधिकार संरक्षण र सम्मानको ग्यारेन्टी गर्न सक्नुपर्छ । बहुसंख्यकको हैसियत, निर्णायक भूमिका र सभ्यताको हेक्का पनि गरिनुपर्छ । राज्यले सम्यक, सन्तुलित र सही व्यवहार निरुपण तथा अभ्यास गरेर उदाहरणीय बन्न ध्यान दिनैपर्छ ।

राष्ट्रपति सदैव एउटै धर्म, जाति र समुदायबाट मात्रै निर्वाचित हुने स्थिति नरहन सक्छ । आज हिन्दु वा भोलि बौद्ध अथवा इसाई र इस्लाम धर्मावलम्बी जोसुकै राष्ट्रप्रमुख बहाल हुँदासमेत मुलुक निर्विवाद, स्वस्थ र सभ्य ढंगले अग्रगतिका साथ अघि बढ्नु अपरिहार्य हुन्छ । तसर्थ राष्ट्रपति पदको मर्यादालाई कसरी अघि बढाउने र यो संस्थालाई अझ सम्मानित बनाउने भन्ने बारेमा सकारात्मक र परिस्कृत अभ्यास र न्यायपूर्ण कानुनी प्रबन्धको अवलम्बन जरुरी छ ।

संविधानत: राष्ट्रपतिलाई सल्लाह दिने प्रमुख सल्लाहकार प्रधानमन्त्री हुन् । यस्ता संवेदनशील विषयमा राष्ट्रपति र प्रधानमन्त्री गहन र गम्भीर छलफल गरी निर्विवाद, सभ्य र शोभनीय पद्धति बसाल्न संवेदनशील हुनैपर्छ । कतिपय व्यवस्थापकीय त्रुटि र अपवादका दृष्टान्तलाई राष्ट्रप्रमुख/राष्ट्रपतिको कमजोरीका रूपमा चित्रण गर्नु हुँदैन ।

सबै प्रकारका सामन्ती अवशेष, अन्धविश्वास, कुरीति र विभेद उन्मूलन नगरी सामाजिक न्याय, सभ्य समाज र उन्नत वैज्ञानिक संस्कृति विकास हुन सक्दैन । सिद्धान्त र दर्शनको तहमा एउटा विचारधाराको अवलम्बन र व्यवहारमा भिन्न सांस्कृतिक प्रचलन विरोधाभाषपूर्ण हुन्छ । नेपाली समाज अत्यन्त संवेदनशील, जागरुक र अग्रगामी चेतनाले युक्त छ ।

आजका तमाम अभ्यास समाजवाद लक्षित छन् कि छैनन्, मनन गर्नुपर्छ । सुधार, परिमार्जन र विकासको दायित्व आफ्नै काँधमा रहेको तथ्यलाई जिम्मेवार तह र निकायले आत्मसात गर्नुपर्छ । आखिर पानी र बानी माथिबाट तलतिर बग्ने हुन् ।

लेखक नेकपाका केन्द्रीय सदस्य हुन् ।
(साभार कान्तिपुर दैनिक । विसं २०७५ कात्तिक २७ गते ।)