८ भाद्र २०८३, सोमबार
,
Latest
सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेस महाधिवेशनः देउवा र पौडेल पक्षबीच कडा टक्कर



अ+ अ-

काठमाडौँ — कांग्रेसमा महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नतिजाले पार्टी नेतृत्वका लागि संस्थापन र इतर दुवै पक्षलाई ढुक्क हुने स्थिति बन्न सकेको छैन । अघिल्लो महाधिवेशनको तुलनामा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षको स्थिति केही सुदृढ देखिए पनि संस्थापनइतर पक्ष एक भएर मैदानमा आए कडा टक्कर पर्ने देखिएको छ ।

संस्थापनइतर पक्षले सोचेजस्तो परिणाम ल्याउन सकेको छैन । देशभरबाट बुधबारसम्म आएका नतिजाले इतर पक्षमा एकमात्रै उम्मेदवार अघि सार्नुपर्ने दबाब बढेको छ । संस्थापन पक्षबाट सभापति देउवा र उपसभापति विमलेन्द्र निधि सभापतिका प्रत्याशी छन् । निधिको प्रभाव क्षेत्र मानिएको प्रदेश २ मा क्षेत्रीय अधिवेशन नै सुरु नभएकाले महाधिवेशन प्रतिनिधि चयन हुन सकेको छैन । प्रदेश २ का ८ जिल्लाबाट मात्रै ८ सय प्रतिनिधि चयन हुन्छन् ।

३३ जिल्लाबाट चयन भएका १ हजार ३ सय ३२ महाधिवेशन प्रतिनिधिमा देउवा र पौडेल पक्ष बराबरी हैसियतमा देखिएका छन् । जिल्लाबाट कान्तिपुर संवाददाताहरूले पठाएको रिपोर्टअनुसार १ हजार ३ सय ३२ महाधिवेशन प्रतिनिधिमा ६ सय ५७ संस्थापन प्यानलबाट र ६ सय ६० पौडेल प्यानलबाट निर्वाचित भएका छन् । अन्य १५ जनामा निधि, सिटौला र कतिपय नखुलेका छन् ।

क्षेत्रीय अधिवेशनबाट करिब ४ हजार २ सय मतदाता चयन हुन्छन् । केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाका समेत गर्दा झन्डै ४ हजार ५ सय हाराहारीमा महाधिवेशन प्रतिनिधि चयन हुन्छन् । जिल्ला कार्यसमिति सभापतिमा पनि संस्थापन र इतर पक्षबीच बराबरी स्थितिमा छन् ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले प्रारम्भिक नतिजाले संस्थापनइतर पक्षलाई साझा उम्मेदवार बनाउन ठूलो दबाब दिएको स्विकार्छन् । ‘एक हुन सकिएन भने आत्महत्याको बाटो रोज्नु हो, आत्महत्याको बाटो रोज्न हुन्न भन्नेमा सबै हुनुहुन्छ भन्ने मैले विश्वास लिएको छु,’ केसीले भने, ‘एक भएर अघि बढ्यौं भने हाम्रो स्थिति अझै बलियै छ । सुधारवादी पक्षमा नतिजा आउँछ भन्ने विश्वास छ ।’

देउवानिकट एक नेताका अनुसार अघिल्लो महाधिवेशनमा गुमेका क्षेत्र र जिल्लामा समेत यसपटक सुधार भएको तर्क गर्दै आफ्नो स्थिति सुदृढ भएको दाबी गरेको छ । ‘संस्थापनइतर पक्षमा दुई जना उम्मेदवार भएको अवस्थामा पहिलो चरणमै नतिजा आउन सक्ने देखिएको छ,’ देउवानिकट एक नेताले भने, ‘अब हाम्रो मुख्य चासो प्रदेश २ मा हो । त्यहाँ निधिजीको पक्षमा कति प्रतिनिधि आउँछन्, त्यसपछि प्रस्ट तस्बिर आउँछ ।’महाधिवेशन प्रतिनिधिमा ठूलो संख्यामा युवा चुनिएका छन् । विभिन्न क्षेत्रका व्यवसायीको प्रवेश पनि यसपटक उल्लेख्य भएको छ । (कान्तिपुर दैनिकमा समाचार छ)