१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै एमाले महाधिवेशन

पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै एमाले महाधिवेशन
अ अ+ अ-

चितवन ।कोरोनाबाट पूर्णरूपमा प्रभावित बनेको यहाँको पर्यटन व्यवसायलाई नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले चलायमान बनाएको छ । यससँगै आउँदा दिनमा यहाँको पर्यटन व्यवसायका लागि महाधिवेशन फलदायी हुने देखिएको छ ।

देशभरबाट आउने प्रतिनिधि र पर्यवेक्षकसँगै स्वदेशी तथा विदेशी पाहुनाले यहाँको पर्यटकीय महत्वको सन्देश बोकेर जाने भएका छन् । यसबाट पर्यटकीय नगरी सौराहासँगै जिल्लाभरको पर्यटकीय गन्तव्यको प्रचारप्रसार हुने भएको छ । महाधिवेशनको उद्घाटनका दिन शुक्रबार पाँच लाख मान्छे भेला गर्ने योजनामा एमाले रहेको छ । बन्दसत्र हुने सौराहामा १० हजार हाराहारी पुग्ने अनुमान गरिएको छ ।

भरतपुर महानगरपालिका पर्यटनविज्ञ डा.विश्व सुवेदी महाधिवेशनजस्ता ठूला कार्यक्रमले पर्यटनसँग सम्बन्धितसँगै अन्य क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्ने बताउनुहुन्छ । सभा, सम्मेलन पर्यटन आफँैमा महत्वपूर्ण हुने जनाउँदै उहाँले मौसमी पर्यटनमा मात्र आश्रित यहाँका व्यवसायीलाई ऊर्जा थपेको बताउनुभयो । उहाँले भन्नुभयो, “सभा, सम्मेलन पर्यटनले बेमौसमी पर्यटन प्रवद्र्धनमा सहयोग पुग्छ ।” पर्यटनसँगै यसले यातायात, कृषिजन्य उत्पादनलगायतमा ठूलो टेवा पुग्ने उहाँको भनाइ छ ।

क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराई अहिले तत्कालका लागि धेरै फाइदा नभए पनि दीर्घकालीनरूपमा यसबाट धेरै फाइदा पुग्ने बताउनुहुन्छ । महाधिवेशनमा सहभागी हुने स्वदेशी र विदेशी पाहुनाले यहाँको पर्यटकीय महत्वको सन्देश बोकेर जाने उहाँको भनाइ छ । महाधिवेशन अवधिमा सौराहाका होटल, घरबास र रत्ननगरका होटलमा गरेर १० हजार हाराहारी बसोबास गर्ने जनाउँदै उहाँले भन्नुभयो, “उहाँहरू फर्कँदा चितवनको पर्यटकीय महत्वको सन्देश लिएर देशभरि पुग्नुहुने छ, यो हाम्रा लागि महत्वपूर्ण अवसर हो ।”

कतिपयका लागि सौराहा पहिलो गन्तव्य हुने भन्दै जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे आउँदा दिनमा महाधिवेशनको प्रभाव थप देखिने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नेकपा एमालेको महाधिवेशनले कोरोनाबाट शिथिल बनेको यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने छ ।” यो घुम्ने मौसम पनि भएकाले घिमिरेले चिनिएको गन्तव्य सौराहाको थप प्रचारप्रसारमा टेवा पुग्ने बताउनुभयो ।

द नारायणी रिसोर्ट गौँडाकोटका महाप्रबन्धकसमेत रहनुभएका पत्रकार वसन्त पराजुली यो महाधिवेशनले चितवन र नवलपरासीको गैँडाकोटसम्म लाभान्वित भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कोरोनाबाट थला परेका व्यवसायीलाई यसले ऊर्जा थपेको छ ।” निरास भएका व्यवसायीलाई भरोसा थपेको जनाउँदै उहाँले यसको दीर्घकालीनरूपमा सकारात्मक प्रभाव रहने बताउनुभयो । आफ्नो होटलमा महाधिवेशनभरिका लागि होटल बुकिङ भएको उहाँको भनाइ छ ।

होटल व्यवसायी महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष दिनेश चुके चितवनका होटल व्यवसायीका लागि एमाले महाधिवेशन अमृत जल भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यसले दीर्घकालीनरूपमा पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्छ ।” महाधिवेशनले नारायणी नदी किनारलाई एउटा महत्वपूर्ण गन्तव्यका रूपमा परिचित बनाएको चुकेको भनाइ छ ।

नेकपा एमालेका नेता रामप्रसाद न्यौपाने महाधिवेशनले यहाँका पर्यटन व्यवसायीका लागि सन्जीवनी बुटीको काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यसले होटल व्यवसायीमा नयाँ जीवन प्रदान गरेको छ ।” वर्षौँसम्म राष्ट्रभरि र अन्तर्राष्ट्रियरूपमा यसको सन्देश पुग्ने न्यौपानेको बुझाइ छ । उहाँले भन्नुभयो, “हाम्रो महाधिवेशनले चितवनको पर्यटन क्षेत्रमा अदभूत फाइदा पुग्ने छ ।” अन्य क्षेत्र पनि लाभान्वित हुने न्यौपाने बताउनुहुन्छ ।

एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि तीन दिनसम्म सञ्चालन हुने छ । कोभिडका कारण पूर्णरूपमा प्रभावित बनेका होटलका सबै कोठा बुकिङ भएका छन् । न्यौपानेले महाधिवेशनका कारण सौराहामा मात्र रु १० करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको बताउनुभयो । उहाँको भनाइमा भरतपुरमा रु पाँच करोडभन्दा बढीको कारोबार हुनेछ । यसबाट समग्र चितवनको अर्थतन्त्रमा टेवा पुग्ने न्योपानेको भनाइ छ । रासस