१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशित



अ+ अ-

सौराहा । नेकपा (एमाले)को दशौं महाधिवेशनबाट निर्वाचित हुनका लागि विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशित भएको छ । 

केन्द्रीय निर्वाचन समितिले उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन गरेको हो ।

योसँगै केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको विरोधमा उजुरीका लागि छुट्याएको समयभित्र उजुरी दिन सकिने जनाएको छ । कुनै उमेदवारविरुद्ध उजुरी परेमा त्यसको छानबिन र निर्णय गर्ने र त्यसपछि उम्मेदवारको नामावली पुनः प्रकाशन गरिनेछ । 

निर्वाचन समितिका अनुसार यदि कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहेमा नाम फिर्ता गर्न पाउने र दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

एमाले महाधिवेशनमा कुल प्रतिनिधिको संख्या २ हजार १७५ रहेको छ । निर्वाचन आयोगले उम्मेदवारहरुलाई निर्वाचन आचारसंहितामा पालना गर्न अनुरोध गरेको छ । 

सर्वसम्मत हुन नसकेपछि अध्यक्ष सहित केही पदमा निर्वाचन हुने भएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुँदैछ ।

यस्तै, उपाध्यक्षहरूमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङको नाम आइतबार राति घोषणा गरेका थिए ।  त्यस्तै सचिवमा पनि चुनाव हुने भएको छ ।   

ओलीले यसअघि टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई सचिव बनाएका थिए । तर, ओलीको सूचीमा नअटाएका भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि सचिवमा पनि चुनाव हुने भएको छ ।