१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

विवाहपञ्चमीमा रेल चढ्ने रहर अधुरै

विवाहपञ्चमीमा रेल चढ्ने रहर अधुरै
अ अ+ अ-

महोत्तरी । विवाहपञ्चमी नजिकिनासाथ भङ्गाहा नगरपालिका–४ पलार बस्तीकी  सियानकीदेवी बाँतरलाई रेल चढेर जनकपुर जाने रहर जाग्छ । पछिल्ला दुई दशकयता आफ्नो ठाउँको रेल सेवा चल्न छाडेपछि उहाँको यो रहर पूरा हुन सकेको छैन । “घरबाट पैदल १० मिनेटको दूरीमा रेल स्टेसन (हाल भङ्गाहा–५ सिद्धपुर बस्ती, बिजलपुरा रेल स्टेसन) थियो, हामी कुनै वर्ष मेला भर्न छुटाउँदैनथ्यौँ”, ४५ वर्षीया बाँतरले २०५७ सालसम्म रेल चढेर विवाहपञ्चमी  हेर्न जाने गरेको विगत सम्झँदै भन्नुभयो, “२०५८ सालको बर्खामा बिग्ही पुल धसिएपछि रेल सेवा बन्द भएसँगै त्यसयता म मेला भर्न जनकपुर गएकी छैन ।” पछिल्ला तीन वर्षयता  चाँडै रेल चल्ने कुरा सुन्नुभएका उहाँ सुनेको साँचो नहुँदा आफ्नो रेल चढेर विवाहपञ्चमी उत्सव हेर्न जाने रहर अधुरै रहेको बताउनुहुन्छ । 

सियानकीदेवी मात्र नभएर सो बस्तीका अगुवा चौठी सर्दार बाँतर पनि रेल चल्न छाडेपछि विवाहपञ्चमी मेला हेर्ने रहर दबाएर राखिएको बताउनुहुन्छ । चाँडै रेल चले एकपटक अझै चढेर रामजानकी विवाह महोत्सव हेर्ने रहर ७५ वर्षीय चौठीको छ । महोत्तरीसहित आसपासका जिल्लामा जनकपुरमा आयोजना हुने विवाहपञ्चमी उत्सव खास सांस्कृतिक पर्वका रुपमा मानिँदै आइएको छ । यस सांस्कृतिक उत्सवमा सहभागी हुन केही दिन पहिले नै घरको कामको चाँजो मिलाउने प्राचीन मिथिलाको चलन छ । “किशोर, युवा र अधेड (४० – ६० वर्षसम्म) मात्र नभई हिँडडुलमा सहारा नै चाहने वृद्धवृद्धा पनि विवाहपञ्चमी मेला हेर्न जान्थे”, प्राचीन मिथिलाको उत्सव परम्परा नजिकबाट नियाल्नुभएका मैथिल संस्कृतिविद् कामेश्वर झा भन्नुहुन्छ, “मेला हेर्न रेल चढेरै जनकपुर जाने कुरा सबैका लागि रमाइलो मानिन्थ्यो ।” पछि २०५२ सालमा सशस्त्र जनयुद्ध प्रारम्भ भएपछि मेला जाने भीड पातलिँदै गएर २०५८ मा जनकपुरबाट पश्चिम चल्ने रेल चल्न छाडेपछि भने विवाहपञ्चमीको ‘क्रेज’ घट्दै गएको ७० वर्षीय झाको अनुभव छ । अबको पछिल्लो पुस्ताले पुराना सांस्कृतिक उत्सवबारे चासो कम गरेपछि यहाँ विवाहपञ्चमी चर्चा पनि निकै पातलिएको बलवा नगरपालिका–१० धमौराका झाका अन्य समवयको ठम्याइ छ । 

धनुषा, जनकपुरधाम उपमहानगरपालिकाबाट पश्चिम लागेपछि शुरु हुने महोत्तरी जिल्लाका हालका लोहारपट्टी, बलवा, भङ्गाहा र औरही नगरपालिका क्षेत्रका बस्तीमा दुई दशकअघि जनकपुरबाट पश्चिम बिजलपुरा स्टेसन (अन्तिम रेल स्टेशनलाई बिजलपुरा भनिन्थ्यो) सम्म चल्ने रेल नै एक मात्र यातायातको साधन थियो । अरू बेला दिनको एकपटक चल्ने सो रेल विवाहपञ्चमी मेलाका बेला चारपाँच दिनसम्म भने तीनपटक आउने–जाने र खचाखच मान्छे भरिने दृश्य अझै आँखामा नाचिरहेको औरही, भोइल बस्तीका ७० वर्षीय मोहन महतो बताउनुहुन्छ । 

पछिल्ला तीन वर्षदेखि फेरि रेल सेवा चल्ने चर्चा सुन्दा लोहारपट्टी नगरपालिका, खुट्टा बस्तीकी रामरती सदालाई पनि एकपटक रेल चढेर विवाहपञ्चमी मेला हेर्न जाने धोको छ । अब चाहिँ रेल चढ्न पाइने भइयो भनेर फुरुङ्ग पर्नुभएका सदाको रहर चर्चाको ‘हल्ला’ भित्रै हराएको छ । भारतको जयनगरदेखि धनुषा, जनकपुरको कुर्थासम्म ‘रेल लिक’ तयार भएर २०७४  विवाहपञ्चमीमै रेल सेवा शुरु हुने चर्चा निकै बाक्लो चलेको थियो । “तेसुर अगहनमें विवाहपञ्चमी मेलामें जयनगर सऽ कुर्थातक रेल चलवा’क स्वरगुल मच्चल छल” ९ परार मङ्सिरमै जयनगरबाट कुर्थासम्म रेल चल्ने निकै चर्चा थियो० सदाले भन्नुभयो, “मुदा चाइर साल सऽ चलल चर्चा चर्चेमें समटागेल” (तर चार वर्षदेखिको यो चर्चा अझै रुमलिएको छ) । 

विसं २०७४ को अन्त्यतिर जयनगरबाट कुर्थासम्मको ३४ किलोमिटरमा निर्माण सम्पन्न भएको रेल मार्ग अहिले विस्तार भएर महोत्तरीको बिजलपुरासम्म तयार भएको छ । अहिले बिजलपुरा स्टेसनदेखि जयनगरसम्मको ५१ किमी दूरीमा लिक तयार भएर सेवा सञ्चालन गर्न सकिने भए पनि विभिन्न अड्चनले अझै रेल चल्ने अनिश्चित नै छ । “लिक तयार छ, रेलका इञ्जिन र डब्बा किनेर ल्याई दुई वर्षदेखि त्रिपाल ओढाएर राखिएका छन्”, लोहारपट्टी–४ खुट्टाटोलका राजनीतिक कार्यकर्ता नागेन्द्र चौधरी भन्नुहुन्छ, “कानुन नभएर रेल नचलेको भनिन्छ, बुझ्नै सकिन्न, लिक बन्यो, रेल किनियो, चलाउने कानून चैँ किन अल्झेको होला रु” जयनगरदेखि बिजलपुरासम्मको मार्ग तयारीसँगै भारतबाट किनेर ल्याइएको  इञ्जिन र यात्रु बस्ने डब्बा दुई वर्षदेखि धनुषाको इनरवा स्टेसनमा थन्केर रहेकामा रेल सञ्चालन गर्नेतर्फ प्रदेश र केन्द्र सरकारको तदारुकता नपुगेको सामाजिक अभियानकर्मी चौधरीको बुझाइ छ । 

जयनगरबाट जनकपुर हुँदै बर्दिबाससम्मको ६९ किमी दूरीमध्ये जयनगरदेखि कुर्थासम्म पहिलो खण्डमा लिक निर्माण भई २०७५ सालको विवाहपञ्चमीताका नै रेल सेवा चलाइने भनी त्यतिखेर रेल विभागका अधिकारीले बताए पनि सञ्चालन हुन सकेन । त्यसयता दोस्रो खण्ड कुर्थादेखि बिजलपुरा स्टेसनसम्मको १७ किमी दूरीमा अब लिक तयार भइसके पनि  सेवा सञ्चालनको अत्तोपत्तो केही नदेखिएको लोहारपट्टी, बलवा र भङ्गाहा नगर क्षेत्रका सर्वसाधारण बताउँछन् । 

जयनगरबाट  बिजलपुरा स्टेसनसम्म रेल सञ्चालन हुनासाथै महोत्तरीका लोहारपट्टी, भङ्गाहा र बलवा नगरपालिका र पिपरा गाउँपालिकाका कृषि उपज सोझै भारतीय बजारमा पु¥याउन सकिने यहाँका किसानले आश सँगालेका छन् । “हामीकहाँ मौसमी र बेमौसमी तरकारी लगाइन्छ, हामी राम्रो बजार नपाएर हैरान भएका छौँ”, बलवा–१० धमौराका किसान हासिम कवारी भन्नुहुन्छ, “रेल सेवा शुरु भएपछि हाम्रो तरकारी सोझै जनकपुर र जयनगर पु¥याउन सकिने छ, हाम्रो दुग्ध उत्पादनले पनि राम्रो बजार पाउनेछ ।”

रेल सञ्चालन हुनाका साथै आफ्नो नगरपालिकाका सबैजसो बस्तीका बासिन्दाको भारतीय बजार जयनगरसँग सिधा सम्पर्क हुने लोहारपट्टीका नगर प्रमुख शैलेन्द्र यादवको भनाइ छ । ‘‘हाम्रो नगरका त सबैजसो बस्ती कुर्था, पिपराढी र लोहारपट्टी रेल्वे स्टेसन वरिपरि नै छन्’’, मेयर यादवले भन्नुभयो, ‘‘रेल सेवा सञ्चालन भएमा यहाँको फसलले जनकपुरदेखि जयनगरसम्मका बजार पाउँछन् , किसानको जीवनस्तर सुध्रिन्छ ।” भङ्गाहा नगर क्षेत्रका सबै बस्ती र बर्दिबास नगरपालिकाका पशुपतिनगर र प्रेमनगर पनि बिजलपुरा स्टेसन नजिकका बस्ती हुँदा जयनगरदेखि बिजलपुरासम्म रेल सञ्चालन भएमा  यहाँका किसानको सक्रियता बढ्ने भङ्गाहाका नगर प्रमुख सञ्जीवकुमार साह बताउनुहुन्छ । 

जयनगर–बर्दिबास रेल विस्तार योजनामध्ये पहिलो खण्ड (जयनगर–कुर्था) र दोस्रो खण्ड (कुर्था– बिजलपुरा) को ५१ किमीमा लिक ओछ्याउने, स्टेसन भवन बनाउनेसहितका निर्माण भएका छन् । तेस्रो खण्ड (बिजलपुरा– बर्दिबास) को १८ किमी दूरीभित्र भने कामको सुरसार नै छैन । सो खण्डभित्र रेल विस्तार योजनामा परेका जग्गाको मुआब्जा प्रक्रिया टुङ्गिन ढिलाइ हुँदा काम बढ्न नसकेको रेल विभागले जनाउँदै आएको थियो । यसपालि गत भदौमा यस खण्डको साबिक बर्दिवास गाविस क्षेत्र (हाल बर्दिबास–१, २ र १४) को मुआब्जा निर्धारण सरकारले गरेपछि अब काम अघि बढ्ने आश पलाएको छ । यद्यपि यसै खण्डको साबिक भङ्गाहा–३ र ४ (हाल भङ्गाहा–४) र साबिक किसाननगर गाविस (हाल बर्दिबास–६ र ७) को मुआब्जा सरकारले २०७६ मै निर्धारण गरे पनि कुनै जग्गाधनीले हालसम्म पाउन रीतपूर्वकको दाबी भने गरेका छैनन् । 

खासमा बर्दिबासको निर्धारण नहुँदासम्म अझै मुआब्जा रकम बढ्ने आश पालेका जग्गाधनीहरू अब बर्दिबासको मुआब्जा निर्धारण भएर सोको पुनरवलोकन नहुने सरकारले प्रष्ट्याइसकेपछि दाबीको क्रम चल्ने अड्कल गरिएको छ ।  “निर्धारित मुआब्जा जग्गाधनी लिन आए कि आएनन् भन्ने कुराले अब निर्माण रोकिन पर्दैन” महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने भन्नुहुन्छ, “हामीले रेल विभागलाई निर्माणसम्बद्ध काम र प्रक्रिया अघि बढाउन भनिसकेका छौंँ ।” 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले जयनगरदेखि बिजलपुरासम्मको रेल सेवा यसै वर्ष (२०७८) भित्र सञ्चालन भइसक्ने जनाउनुभएको छ । सेवा सञ्चालनका लागि आवश्यक कानुन तर्जुमा गरी अध्यादेशमार्फत जारी गरेर तत्काल रेल चलाइने तयारी अघि बढेको मन्त्री यादवको भनाइ छ । “हामीले यही आउने विवाहपञ्चमीमै रेल चलाउने तयारी गरेका थियौंँ”, जनकपुरमा मङ्गलबार सञ्चारकर्मीसँग मन्त्री यादवले भन्नुभयो, “तर केही कानूनी अड्चन नखुल्दा त्यो तयारी पूरा हुन सकेन, यस वर्षभित्र चैँ रेल सेवा चल्छ ।” सेवा सञ्चालनका लागि अध्यादेश जारी गर्न सबै प्रक्रिया मिलाइसकिएको उहाँको भनाइ छ । पहिलो र दोस्रो खण्डमा यसै वर्ष सेवा सञ्चालनसँगै नयाँ वर्ष लागेसँगै तेस्रो खण्डको निर्माणले गति लिने मन्त्री यादवको कथन छ ।  

भारत सरकारको रु सात अर्ब २० करोडको आर्थिक सहयोगमा ब्रोडगेज रेलवे विस्तारको काम सन् २०१४ (विसं २०७०तिर) मा शुरु गरिएको हो । विसं १९९४ जुद्धशम्शेरका पालामा शुरु भएको बिजलपुरा–जनकपुर–जयनगर ५१ किमी रेलमार्ग विसं २०५८ मा बाढीले बिग्हीपुल (लोहारपट्टी, महोत्तरी) भत्काएपछि जनकपुर–जयनगर २९ किमीमा सीमित भएको थियो । त्यसअघि चन्द्रशम्शेरका पालामा विसं १९८४ मा रक्सौल–अमलेखगञ्ज रेलसेवा (पहिलो रेलसेवा) सुरु भएको थियो । जनकपुर–जयनगर रेलमार्गमा पनि स्तरोन्नतिको काम शुरु गरिएसँगै विभागले विसं २०७० मै रेल सेवा बन्द गराएको थियो । राष्ट्रिय महत्वको यो रेल विस्तार आयोजना सन् २०१९ भित्रै सम्पन्न गरी सकिने प्रारम्भिक लक्ष लिइए पनि यसबीचका राजनीतिक उतारचढाव, भेलबाढी र जग्गा मुआब्जा निर्धारणमा भएको ढिलाइले समयमा काम सम्पन्न गर्न नसकिएको रेल विभागले जनाउँदै आएको छ । रासस