१ पुष २०८२, मंगलवार
,
Latest
माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली काँग्रेस महाधिवेशनः प्रदेशमा देउवा-सिटौला जुट्दै



अ+ अ-

काठमाडौँ — कांग्रेसको प्रदेश निर्वाचनमा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबीच सहकार्य हुने भएको छ । प्रदेश १ र वाग्मतीमा नेतृत्व बाँडफाँटसहित अन्य प्रदेशमा समीकरण गरेर अघि बढ्ने सैद्धान्तिक सहमति भएको हो । सहमति निर्माणमा सक्रिय एक नेताका अनुसार सिटौलाले प्रदेश १ पाए झापाका पूर्वसभापति उद्धव थापा र वाग्मती पाए काठमाडौंका सांसद भीमसेनदास प्रधान सभापति उम्मेदवार बन्नेछन् ।

देउवा समूहले प्रदेश १ मा अमृत अर्याल र वाग्मतीमा इन्द्र बानियाँलाई उम्मेदवार बनाउने तयारी गरेको छ । प्रदेश १ सभापतिका आकांक्षी रामहरि खतिवडाले केन्द्रीय सदस्यमा जाने रुचि देखाएपछि अर्याल एकल दाबेदार बनेका हुन् । ‘सिटौलाजीसँग सहकार्य गरेर जानेमा कुरा मिलिसकेको छ, प्रदेशको नेतृत्वमात्र कहाँ कसले लिने भन्नेमा छलफल भइरहेको छ,’ देउवा समूहका एक नेताले भने, ‘भीमसेनजीलाई मनाइरहेका छौं, उहाँले मान्नुभयो भने प्रदेश १ सिटौला समूहलाई दिएर वाग्मती हामीले लिनेछौं ।’ यो समीकरणलाई महाधिवेशनसम्मै लैजाने सहमति भएको उनले बताए ।

देउवा–सिटौला समूहबीच काठमाडौं, झापा र मोरङको पालिका, क्षेत्र र जिल्ला तहको निर्वाचनमा समेत समीकरण भएको थियो । झापामा प्रवक्ता विश्वप्रकाश शर्माले समर्थन गरेका राम कट्टेल र सिटौलाले समर्थन गरेका देउमान थेबेबीच प्रतिस्पर्धा भएको थियो । शर्मा देउवानिकट भए पनि उनको गृहजिल्लामा देउवा समूहका अन्य नेताले थेबेलाई सहयोग गरेका थिए । मोरङमा समेत दोस्रो चरणको निर्वाचनमा सिटौला समूहबाट सभापति लडेका यदु बिष्टले देउवा समूहका दिलीप गच्छदारलाई समर्थन गरेका थिए । काठमाडौंमा त पालिका निर्वाचनदेखि नै देउवा–सिटौला समूहबीच समीकरण बनेको थियो । ‘सहकार्य प्रदेश तह हुँदै केन्द्रीय महाधिवशेनसम्म पुग्छ,’ सिटौलानिकट एक नेताले भने ।

देउवाले सातै प्रदेशमा आफ्नो समूहका शीर्ष नेतालाई संयोजन गरेर टिम बनाउने जिम्मेवारी दिएका छन् । प्रदेश १ मा ज्ञानेन्द्रबहादुर कार्की, प्रदेश २ मा रमेश रिजाल, वाग्मतीमा प्रकाशशरण महत, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा पूर्णबहादुर खड्का र सुदूरपश्चिममा एनपी सावद–रमेश लेखकले संयोजन गरिरहेका छन् । उक्त समूहका एक नेताले सुदूरपश्चिमबाहेक सबै प्रदेशमा सभापति उम्मेदवारको टुंगो लागिसकेको बताए । उनका अनुसार प्रदेश २ मा कृष्णा यादव, गण्डकीमा अर्जुनप्रसाद जोशी, लुम्बिनीमा भरत शाह र कर्णालीमा ललितजंग शाहलाई उम्मेदवार बनाउने करिब टुंगो लागेको छ । लुम्बिनीका आकांक्षी देवेन्द्रराज कँडेल र कर्णालीका आकांक्षी राजीवविक्रम शाहलाई प्रदेशको कोटामा केन्द्रीय सदस्य बनाउने गरी मनाउने काम भइरहेको एक नेताले बताए ।

सभापति देउवाको गृह प्रदेश सुदूरपश्चिममा उनको समूहमा कैलालीका पूर्वसभापति नरनारायण शाह ९मनु०, पूर्वराज्यमन्त्री अछामका गोविन्द शाह, पूर्वराज्यमन्त्री बझाङका अर्जुनजंग सिंह र डडेलधुराका प्रदेशसभा सदस्य गोविन्द बोहोराले उम्मेदवारी घोषणा गरेका छन् । साउदले गोविन्द शाह र लेखकले सिंहलाई उम्मेदवार बनाउन चाहेका छन् । संस्थापनइतर समूहमा प्रदेश २ र लुम्बिनीमा एक–एक जना आकांक्षी भए पनि अन्य प्रदेशमा आकांक्षी धेरै हुँदा सकस देखिन्छ । उक्त समूहले सम्बन्धित प्रदेशमा रहेका केन्द्रीय सदस्यलाई टिम निर्माणको जिम्मेवारी दिएको छ ।

प्रदेश १ मा केन्द्रीय सदस्य गुरुराज घिमिरे र प्रदेशसभा संसदीय दलका नेता राजीव कोइराला दाबेदार छन् । त्यहाँ घिमिरेलाई केन्द्रीय सदस्यमा पठाएर कोइरालालाई सभापति उम्मेदवार बनाउने प्रयास भइहेको छलफलमा सहभागी एक नेताले बताए । प्रदेश २ मा कोइराला समूहबाट सप्तरीका पूर्वसभापति रामकुमार यादव आकांक्षी छन् । उपसभापति विमलेन्द्र निधिले आफ्नो गृहक्षेत्र रहेको प्रदेश २ मा सर्वसम्मत र आफ्नो पक्षमा बहुमत हुने गरी परिणाम ल्याउने प्रयास गरिरहेका छन् । उनले प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका रामसरोज यादवलाई सभापति बनाउन चाहेका छन् ।

वाग्मतीमा संस्थापनइतर समूहबाट आधा दर्जन आकांक्षी छन् । काभ्रेका पूर्वसभापति मधु आचार्य, नुवाकोटका पूर्वसभापति जगदीशनरसिंह केसी, काठमाडौंका पूर्वसचिव राजुराज जोशी, धादिङका पूर्वसभापति रमेश धमला, रामेछापका पूर्वसभापति रामचन्द्र खड्का र सिन्धुलीका पूर्वसांसद मोहन बराल दाबेदार छन् । यीमध्ये वरिष्ठ नेता पौडेलले आचार्यलाई, प्रकाशमान सिंहले जोशीलाई र अर्जुननरसिंह केसीले आफ्ना भाइ जगदीशनरसिंहलाई उम्मेदवार बनाउन चाहेका छन् । मंगलबार दिउँसो सिंहले आफ्नो निवासमा आकांक्षीहरूलाई बोलाएर छलफल गरेका थिए ।

वरिष्ठ नेता पौडेलको गृह प्रदेश गण्डकीमा उनको समूहबाट ४ जनाले उम्मेदवारी घोषणा गरेका छन् । कास्कीका पुराना नेता शुक्रराज शर्मा, क्याम्पसको जागिर छाडेर भर्खरै सक्रिय राजनीतिमा प्रवेश गरेका देवराज चालिसे, पूर्वमन्त्री यज्ञबहादुर थापा र तनहुँका पूर्वसभापति रघुनाथ पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । संस्थापन समूहले भने केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको नेतृत्वमा टिम नै तयार पारिसकेको छ । अखण्ड नेपाल पार्टीबाट समायोजन भएका प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्कालाई उपसभापति वा महामन्त्री र सामाजिक विकासमन्त्री स्याङ्जाका मेखलाल श्रेष्ठलाई महामन्त्रीको उम्मेदवार बनाउने तयारी भएको उक्त समूहका एक नेताले बताए ।

गण्डकीमा संस्थापनइतर समूहको राम्रो प्रभाव भए पनि आकांक्षीको व्यवस्थापनमा चुनौती देखिन्छ । पौडेलको गृहजिल्ला तनहुँ र कास्कीमा उनको समूहको स्पष्ट बहुमत हुँदाहुँदै संस्थापन पक्षले परिणाम आफ्नो पक्षमा खोसेको थियो । कास्कीमा पौडेल समूहबाटै चारजना उम्मेदवार बन्दा दोस्रो चरणमा देउवा समूहका किशोरदत्त बराल सभापति चुनिए भने कास्कीमा पौडेलनिकट भए पनि देउवा पक्षीय नेता शंकर भण्डारीको समर्थनमा जितप्रकाश आले सभापति निर्वाचित भए । ‘संस्थापन समूहको चुनावी रणनीति र योजना चुस्त र प्रभावकारी देखिन्छ, हाम्रोतिर भने अस्तव्यस्त छ,’ पौडेल समूहका एक नेताले भने, ‘यस्तै हो भने प्रदेशमा पनि कास्की र तनहुँको अवस्था नहोला भन्न सकिन्न ।’

लुम्बिनीमा संस्थापन समूहबाट पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेल आकांक्षी भए पनि टिम निर्माणको संयोजन गरिरहेका गृहमन्त्री खाँण रूपन्देही–५ का सांसद भरत शाहलाई उम्मेदवार बनाउने मनस्थितिमा पुगेका छन् । संस्थापनइतर समूहले भने रोल्पाका पूर्वसभापति अमरसिंह पुनलाई सभापति बनाउने तयारी गरेको छ ।

(कान्तिपुर दैनिकमा समाचार छापिएकाे छ)