१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

शतबीज किन र कहाँ छर्ने ? (भिडियो सहित)

शतबीज किन र कहाँ छर्ने ? (भिडियो सहित)
अ अ+ अ-

देवताका नाममा, शहिदका नाममा, महापुरुषका नाममा, पितृका नाममा श्रद्धा र अर्पण गर्ने विधि तथा पदार्थहरु विविध छन् । मिति र तिथिविशेषमा उनीहरुलाई स्मरण गर्ने मान्यता एवं पद्धतिहरु अनेक छन् । मंसीर कृष्ण चतुर्दशीका दिन पितृका नाममा पाशुपत क्षेत्रमा शतबीज छरिन्छ । मृतकको मुक्ति होस् वा अर्को जन्म सफल होस् भनी मार्गकृष्ण त्रयोदशीका साँझ बत्ती बालिन्छ । पहिलो वार्षिकीपछि मृतकलाई स्मरण गरी बालाचतुर्दशीका दिन पाशुपत क्षेत्रमा शतबीज छर्ने, दान दिने, पाठ गर्ने गरिन्छ । तमसो मा ज्योतिर्गमय अर्थात् अँध्यारोबाट उज्यालोतर्फको यात्रा नै वैदिक सनातनको मार्ग हो ।

आफ्नो कर्मले नरक वा अँध्यारोमा परेका आत्माहरुले मुक्ति पाऊन् भन्ने उद्देश्यले कृष्णपक्ष वा औँसीमा तीर्थस्थल एवं नदीहरुमा बत्ती बालिदिने परम्परा छ । सपनामा मृतकहरु देखिए वा अचनाक कामहरु विग्रिएमा पितृका नाममा बत्ती बालिदिने वा पिण्डपानी अर्पण गरिन्छ । देवताले दिए पनि पितृ सन्तुष्ट नहुँदा उपयुक्त फल मिल्दैन । पिता पुर्खाको सन्तान भएर जन्मिएका, उनीहरुकै काखमा हुर्किएका, उनीहरुकै सम्पत्ति भोग चलन गरेका हुनाले पितृकर्म नगर्नु भनेको आफ्नो जरो आफैँले काँट्न, आफ्नो घरको जग आफैँले भत्काउनु हो । यसैले पितृप्रति श्रद्धा राख्ने जुनसुकै धर्म, वर्ग, वर्ण र भूगोलका मानिसले बालाचतुर्दशीका अवसरमा शतबीज छर्नुपर्छ ।

पितृसम्बद्ध अनुष्ठान कृष्णपक्षमा  गरिन्छ । औँसी तिथिका मालिक अग्नि हुन् । अग्निलाई परमात्माको स्वरूप मानिन्छ । यसैले पितृका लागि कृष्णपक्षमा बत्ती बालिदिनुपर्छ । चतुर्दशी तिथि शिवजीको प्रिय दिन हो । यसैले मंसीरको कृष्णत्रयोदशीमा बत्ती बालिदिएर मध्ये मार्गकृष्ण चतुर्दशी बिहान पितृका नाममा शतबीज छरिन्छ । बीजको अर्थ उम्रने बीउ भन्ने हुन्छ । शतबीजको अर्थ सय प्रकारका बीज, सत्बीजको अर्थ साँचो वा सत्य ‘बीऊ’ हुन्छ । पितृको स्मरण गर्दै उनीहरुको उद्धारका लागि धर्तीमा जुन पदार्थ श्रद्धासहित अर्पण गरिन्छ त्यसलाई शतबीज भनिन्छ । शतबीज जुनसुकै शिवालय वा तीर्थस्थलमा छर्न हुँदैन ।

मृगस्थलीको दैवी ऊर्जा र पशुपतिको कृपाले शतबीजलाई मृतकसम्म पु¥याइदिन्छ । पितृलाई चढाएको वस्तुहरू मन्त्र शक्ति, भूमिको ऊर्जा, पक्ष र तिथिको बलद्वारा मृतकले पाउँछन् । पशुपति महाज्योतिर्लिङ्ग भएकाले उहाँको सान्निध्यमा अर्पित पदार्थ पितृहरुले छिटो प्राप्त गर्दछन् । ब्रह्मा, विष्णु र इन्द्रले स्थापना गरेका हुँदा पशुपतिलाई महाज्योर्तिलिङ्ग भनियो भारतमा रहेका १२ वटा ज्योतिर्लिङ्ग हुन् । पशुपति नै परमात्माको ज्योतिस्र्वरुप भएकाले यहाँको अनुष्ठान अन्य स्थानमा गरेको भन्दा धेरै गुणा प्रतिफलमुखी हुन्छ । वाग्वतीको प्रवाह, कैलाशको स्पर्श, मृगस्थलीको सान्निध्य, अनेकौँ घाट र देवीदेवताको ऊर्जाले पाशुपत क्षेत्रमा उच्चारण गरेका मन्त्र, अर्पित पदार्थ खेर जाँदैन । यसकारण यहाँ छरिएको शतबीजले मृतात्मालाई सन्तुष्ट गराई उद्धार गर्छ, रोकिएको गति फुक्छ, नरकको यातनाबाट मुक्ति मिल्छ । 

बार्षिकी नभईकन शतबीज छर्न हुँदैन । मृतकका छोरा, श्रीमतीको शरीर एक वर्षसम्म अशुद्ध हुने एवं शिवालयमा बार्षिकी नसकिएसम्म जान नहुने हुँदा पाशुपतलगायतका शैव क्षेत्रमा शतबीज छर्दा पितृले प्राप्त गर्दैनन् । शिवालय पवित्रतम पुण्यस्थल भएकाले महिनाबारी, जुठो, सुत्केरोको अवधिभर जानै हुँदैन । यस्तो समयमा शिवको स्मरण त गर्न हुँदैन  भने वार्षिक श्राद्ध नगर्दै शिवालयमा जाने, बत्ती बालिदिने वा शतबीज छर्ने काम गर्नै हुँदैन । वर्ष दिन नपुग्दै शिवालयमा बत्ती बाल्ने चलनको शुरुवात भएको धेरै वर्ष भएको पनि छैन । शास्त्रमर्यादामा रहेका महानुभावहरूले अहिले पनि वार्षिक श्राद्ध पुरा गरेपछिमात्र शतबीज छर्न जान्छन् । धर्मका नाममा व्यापार, अनुष्ठानका नाममा देखावटी कर्म गर्ने विकृति मौलाउँदा कुनै पनि धार्मिक कर्मबाट लाभ लिन सकेका छैनौँ । 

त्रयोदशीका साँझ मृतकका परिवारहरू सूर्यास्तसँगै पशुपतिमन्दिरभित्र बालेर ल्याएको बत्ती ननिभाई रात्रभरि जाग्रम बस्दछन् । यस दियोको उज्यालोले मृतकलाई अँध्यारोमा बस्न पर्दैन, नरकको दुर्दशा भोग्न पर्दैन भन्ने पौराणिक कथन छ । देवमन्दिर, नदीको किनार, राजगृह, चौबाटो, मशानघाटमा बत्ती बालिदियो भने त्यससम्बन्धी देवीदेवता खुसी हुन्छन् ।  तीर्थस्थल वा शैवक्षेत्रमा मृतकका छोरी, छोरा, विद्यार्थी वा अनुयायीले बत्ती बाल्दा पितृ खुशी हुन्छन् । गुरु, साधुसन्त वा राष्ट्रिय जीवनमा महŒवपूर्ण योगदान दिने व्यक्तिका नाममा बत्ती बाल्नका लागि गोत्र, थर वा जात मिल्नुपर्दैन, जसले बालिदिए पनि हुन्छ ।

देवीदेवता वा पितृका नाममा दीप बालिदिने हाम्रो संस्कृति हो । कुकुर तिहारका दिन बिहानै चौबाटो वा नदीमा नार्के बाल्ने चलन छ । मृतकका नाममा वर्षदिन नपुग्दासम्म साँझसँगै तुलसीको मठमा वा सुखशान्तिका लागि घरको मूलढोकामा बत्ती बाल्ने गरिन्छ । सपनामा पितृलाई देखे, तर्सने, निद्रासम्बद्ध समस्या परेमा कृष्णपक्षभरि वा औँशीको दिन सूर्योदय पहिले नदी, चौबाटो आदिमा पाँच सुतेबत्ती बालिदिए लाभ हुन्छ । मृतकले अँध्यारोमा बस्न नपरोस् वा नरकबास नहोस् भनी मृगस्थलीमा शतबीज छर्ने र पशुपतिमा बत्ती बालेर रात्रि जाग्रम बस्दछन् । शिव सबैका मुक्तिदाता भएकाले शिवालयनजिकै घाटमा लाश जलाइन्छ । मशानघाट केवल शिवालयनजिक बनाइन्छ कुनै देवी, विष्णु आदिको मूर्तिनजिक होइन । शिव मुक्ति र शान्तिका कारक हुन् । उनको पूजाले देवतामात्र होइन पितृसमेत खुशी हुन्छन् ।

पूर्वद्वारे श्रिये दीपः स्वर्गमोक्षाय दक्षिणे ।
 पश्चिमे वृष्टये देयः शेषकार्येषु चोत्तरे ।।                      
                            –मेरुतन्त्र (२५।८३)
अर्थात् “शिवालयको पूर्वी ढोकामा बत्ती बाल्दा धनसम्पत्ति प्राप्त हुन्छ । दक्षिणमा बाल्दा स्वर्ग प्राप्ति वा मोक्ष हुन्छ । पश्चिमतर्फ बाल्दा पानी पर्छ । उत्तरतर्फ बाल्यो भने बाँकी रहेका सबै फल प्राप्त हुन्छन् ।” विशेष गरेर चतुर्मासभरि हरियो पातको बोहोता बनाएर साँझमा मृतकका नाममा दक्षिण फर्काएर बत्ती बालिदिन्छन् । मरेको एक वर्षसम्म प्रेत र वर्षदिनको पुण्यतिथि पछि पितृ हुन्छन् ।

पितृहरू दक्षिणतर्फ बस्ने भएकाले उनीहरूलाई तर्पण दिँदा वा बत्ती बाल्दा दक्षिण फर्काइन्छ    हिमवत्खण्डको बयालीस अध्यायमा बालाचतुर्दशीको उद्भव र महŒवको सम्बन्धमा चर्चा गरिएको छ । मृगरुप लिएर महादेवले जहाँ– जहाँ घुम्नुभयो, खानुभयो, सुत्नुभयो, हिड्नुभयो, विहार गर्नुभयो, त्यो पुण्य क्षेत्र भएकोले त्यहाँ सप्तधान्य (सद्बीज) छर्दा एउटा धानको दाना छरेको एक रत्ती सुवर्ण (सुन) छरेको बराबर हुन्छ भनी हरिणेश्वरबाट आकाशवाणी भएकाले उल्लेख छ  । शतबीज पवित्र र छिटो उमर्ने औषधि वा भोजनजन्य बीऊ हुनुपर्छ । शतबीज फालिने अन्न होइन अर्पण गरिने प्रसाद भएकाले विधि र लक्ष्यविहीन भएर हु-याउन हुँदैन ।

विभिन्न स्थानबाट अनेक सभ्यता, संस्कृति, परम्परा, वर्ण र जातका मानिसहरू बालाचतुर्दशीमा सद्बीज छर्न पशुपति आउँछन् । सबै ठाउँमा छरेपछि बाँकी रहेको शतबीजलाई मृगस्थलीको ‘भागलभुगलशिवलिड्ड’ मा समर्पण गरिन्छ । सद्बीज छर्ने अघिल्लो रात पशुपतिको मन्दिरमा ‘महादीप’ बालेर जाग्राम बस्छन् । अन्तिम वर्ष समापनको लागि यज्ञ गर्दछन्, जसलाई ‘चतुर्दशीयज्ञ’ भनिन्छ ।

शतबीजमा उखु, बदाम, धान, गहूँ, फलफूलका टुक्रा अनेक राखिन्छ । शतबीजमा जौँ, गहूँ, मकै हुनु अति आवश्यक छ । जुन अन्न उम्रदैन त्यो बीज हुनै सक्दैन त्यसैले काटेको उखु, केस्रा छुट्टाएको सुन्तला शतबीजमा राख्न हुँदैन । महादेवको मृगरुपसँग सम्बन्धित भएको हुनाले शतबीजलाई मृगस्थलीमा मात्र छर्नुपर्छ । मृगरुपी महादेवलाई प्रसन्न तुल्याउन यहाँ छिट्टै अंकुरण हुने अन्न छर्नुपर्छ । ती अन्न उम्रिएपछि कुनै पशुपंक्षीले खायो भने पितृ सन्तुष्ट वा मुक्ति हुन्छन् भन्ने विश्वास छ । शतबीजका रूपमा सकेसम्म जौलाई मात्र छर्नु राम्रो हुन्छ, त्यो पनि बालाचर्तुदशीको दिनमा मात्र । अहिले त अघिल्लै दिनदेखि चर्तुदशीको भोलिपल्टसम्म शतबीजमा नपर्ने अन्न र फलफूलका टुक्रा छरेको पाइन्छ । यसले न त पितृ सन्तुष्ट हुन्छन्, न त धार्मिक अनुष्ठान पुरा हुन्छ केवल पाशुपत क्षेत्र फोहोरको डङ्गुर मात्र हुन्छ ।

शतबीज छर्दा शुद्ध आयबाट खरिद गरेको वा आफैँले उत्पादन गरेको अन्न हुनुपर्छ । शास्त्रले जहाँ छर्नु पर्छ भनेको हो त्यहीँ छर्नुपर्छ । धेरै परिकारका अन्न मिलाएर जता पायो उतै फाल्ने विकृति बढेको छ । पाशुपतक्षेत्रमा मात्र छर्नु पर्ने शतबीज अहिले नेपालका अनेकौँ शिवालयमा मात्रै  अन्य देवीदेवताकोे मन्दिरमा समेत जथाभावी फाल्ने चलन बढेको छ । सके मृगस्थली, नभए पाशुपतक्षेत्रमा छर्नु राम्रो, असम्भव भएमा पितृका नाममा नजिकको शिवालय, घाट वा तीर्थस्थलमा बत्ती बालिदिनु सर्वोत्तम हुन्छ । पितृका नाममा जताततै अन्न फाल्न हुँदैन । ‘जीते वापको रोटी नदेवै कौवा वाप वनै हो’ । जिवित छँदासम्म हेँला गर्ने मरेपछि समाजलाई देखाउन गर्ने कर्मले केही अर्थ राख्दैन । मृगस्थलीभन्दा अन्यत्र शतबीज छर्दा मनको सन्तोष त पुरा होला तर पितृले पाउने विषयमा सन्देह नै रहन्छ ।

राजनीतिक परिवर्तनका नाममा धेरै नेपालीले ज्यान गुमाएका छन् । महाभूकम्प र कोभिडले मृत्युवरण गर्नेहरु त्यत्तिकै छन् । यी आत्माको मुक्तिका लागि पनि राष्ट्रबाट सरकार प्रमुख वा राष्ट्रप्रमुखले शतबीज छरेर मुक्तिको कामना गर्नुपर्ने थियो । यसतर्फ कसैको ध्यान गएको देखिँदैन । पाशुपत क्षेत्रले हरेक वर्ष आफ्नो कर्मकाण्ड गरेर यो अवसरलाई विदा गर्छ तर विज्ञहरुलाई बोलाएर नेपाल र नेपालीका लागि जीवन समर्पण गरेका पितृको उद्धारका सम्बन्धमा चिन्तन गर्दैन । धर्मनिरपेक्ष भएपछि राज्यले शहिद, वीरहरुको आत्माले शान्ति पाउने उपायबारे चासो देखिएको न त देखिएको छ, न त सुनिएको छ ।

पाशुपत क्षेत्र नेपालमा छ । हुनुपर्ने र नपर्ने घटना नेपालले भोगी रहेको छ । त्यसैले बालाचतुर्दशीलाई आफ्नो पितृमात्र होइन नेपाल र नेपालीको कल्याणका लागि जीवन आहुति गर्ने सम्बद्ध सबैको उद्धार गर्न ध्यान गए सुनमा सुगन्ध हुने थियो । हामीले देवीदेवता त पूजा गरेका छौँ तर पितृका लागि के गरेका छौँ मूल्याङ्कन गर्दै शतबीजलाई विधिवत् छर्न आवश्यक छ । यसैले शतबीज फाल्ने काम नगरौँ शास्त्रीय विधानले पितृलाई अर्पण गरौँ ।