१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जल, जङ्गल र जमिनको प्रयोग गरी विकास गर्नुपर्छः अध्यक्ष दाहाल



अ+ अ-

चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जल, जङ्गल र जमिनको सही ढङ्गले प्रयोग गर्ने गरी विकास गर्नुपर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको सिबीच मोडलमा आधारित नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोहमा उहाँले जल, जङ्गल र जमिनको सही ढङ्गले सदुपयोग गर्ने किसिमले पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभयो । यस्तो विकासले यहाँको समृद्धिको यात्रामा गुणात्मक उपलब्धि हासिल गर्ने उहाँको भनाइ थियो ।   
 
उहाँले भन्नुभयो, “नारायणी, राप्ती, रिउ, राष्ट्रिय निकुञ्ज, धार्मिक पर्यटकीयस्थल सबै यही ठाउँमा हुनु विकासका लागि राम्रो कुरा हो ।” यी सबै जल, जमिन र जङ्गलसँगै सम्बन्धित रहेको भन्दै उहाँले जिल्लाको विकासका निम्ति मात्रै नभई राष्ट्रियरुपमा आर्थिक बिकासका निम्ति मोडेल रहेको बताउनुभयो । आफूले यसलाई चितवनको विकासको मोडेलको रुपमा लिएको उहाँको भनाइ थियो ।
 
सिबीच मोडलको रुपमा नारायणी नदीको विकास गर्नुले यहाँको पर्यटन, सौन्दर्य र जलको सदुपयोगको दिशामा पानि एउटा महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । नेपालका धेरै ठाउँमा जल, जङ्गल र जमिनको प्रयोग गरी विकास गर्न सकिने ठाउँ रहेको भन्दै उहाँले सिङ्गापुरको सन्तोसा आइल्याण्डजस्तै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । यसले आन्तरिक मात्रै नभई बाह्य पर्यटकसमेत आकर्षित गर्ने उहाँको भनाइ थियो । 

विकासको मोडल चितवनले प्रस्तुत गर्नुपर्ने भन्दै उहाँले सबै नागरिक एक ठाउँ भएर काम गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भरतपुरमा तीव्र गतिमा भौतिक विकासका काम भइरहेका छन् । चितवन र भरतपुरमा हुने आर्थिक विकासका गतिविधि राष्ट्रियरुपमा सबैका निम्ति अध्ययन गर्ने विषय हुन् भन्ने हाम्रो चाहना छ ।” जिल्लाको विकासका लागि ठूला–ठूला परियोजना सोचिएको भन्दै उहाँले भन्नुभयो, “शक्तिखोरबाट सुरुङमार्ग बनाउने, रेललाइन ल्याउने, मकवानपुर चितवन र नवलपुरलाई जोडेर बृहत्तर आर्थिक परियोजना बनाउनेसम्मका सपना छन् ।” यो विकासको पनि केन्द्र बिन्दु होस् भन्नका लागि सबैले सपना देखेको उहाँको भनाइ छ ।

देशको राजनीतिको केन्द्र चितवन बनेको भन्दै उहाँले देशभरिका जनताले अध्ययन गर्ने गरी यहाँको विकास गरिने बताउनुभयो । सो अवसरमा महानगर प्रमुख रेनु दाहालले सो ठाउँमा पर्यटकीय पूर्वाधारका लागि विकास गर्न विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको बताउनुभयो । जसका लागि रु २९ करोड आवश्यक हुने उहाँको भनाइ थियो । हाल पर्यटन बोर्डले आह्वान गरेको बोलपत्रमा  रु छ करोड ६७ लाखमा ठेकेदार कम्पनीले स्वीकार गरेको छ । 

दाहालका अनुसार गत वर्ष उद्योग वाणिज्य सङ्घसँग मिलेर रु ९७ लाखको पदमार्ग निर्माण गरी सकिएको छ । हाल दुई दशमलव पाँच किलोमिटर लामो पदमार्ग, तीन वटा पार्किङस्थल र जग्गा व्यवस्थापन गरिने उहाँले जानकारी दिनुभयो । नारायणीको किनारलाई नमूना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महानगर लागि परेको उहाँले बताउनुभयो ।

पुलबाट पूर्वतर्फको नारायणी किनारको करिब ३० बिघा क्षेत्रमा पर्यटकीय पूर्वाधार बन्ने र पश्चिमतर्फको नगरवनलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने दाहालले जानकारी दिनुभयो । कार्यक्रममा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले बहुवर्षीय आयोजनाको रुपमा यसको विकास गरिने बताउनुभयो ।