काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका जलविद्युत आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोजी कार्य सुरुङ ‘ब्रेक थ्रु’ नभएसम्म जारी रहने नेपाली सेनाले जनाएको छ।
सोमबार सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले सरकारले खोजी रोक्ने निर्णय नगरेसम्म सबै सुरुङमा निरन्तर उद्धार तथा खोजी कार्य सञ्चालन हुने बताउनुभयो।
उहाँका अनुसार बाढीका कारण रसुवा र नुवाकोटका ११ जलविद्युत आयोजना प्रभावित भएका छन्। आयोजना स्थल तथा विद्युत् उत्पादनका सुरुङमा रहेका ८९८ जना सम्पर्कविहीन भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले जनाएको छ।
रसुवामा रसुवागढी जलविद्युत आयोजना, रसुवा–भोटेकोशी, माथिल्लो मेलुङ–ए, लाङटाङ खोला, चिलिमे र मेलुङ खोला जलविद्युत आयोजना प्रभावित भएका छन्। त्यस्तै, नुवाकोटमा त्रिशूली, देवीघाट, माथिल्लो त्रिशूली–३ ए, माथिल्लो त्रिशूली–३ बी र मिडल त्रिशूली गङ्गा जलविद्युत आयोजना बाढीबाट प्रभावित भएका छन्।
बाढीपछि सुरुङभित्र फसेका व्यक्तिको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी तथा विदेशी उद्धार टोली परिचालन भएका छन्। कठिन भौगोलिक अवस्था र सुरुङभित्र जमेको लेदोका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको सेनाले जनाएको छ।
माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङभित्र ११५ मिटर गहिराइबाट एक जना चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको सहायक रथी थापाले जानकारी दिनुभयो। उद्धारका क्रममा सुरुङभित्र अक्सिजनको अभाव देखिएपछि उद्धारकर्मीले समेत अक्सिजन प्रयोग गर्नुपरेको उहाँले बताउनुभयो।
उहाँका अनुसार नेपाली सेना र कोरियन उद्धारकर्मीको संयुक्त टोलीले माथिल्लो त्रिशूली–१ को सुरुङमा प्रवेश गरी उद्धार गरेको थियो।
त्यस्तै, माथिल्लो त्रिशूली–३ ए जलविद्युत आयोजनाको नुवाकोटस्थित पावर हाउसमा समेत लामो प्रयासपछि उद्धार टोली प्रवेश गर्न सफल भएको छ। उद्धारका लागि चारवटा स्काभेटर र तीनवटा वाटर पम्प प्रयोग गरिएको सेनाले जनाएको छ।
सो आयोजनाबाट दुई जनालाई जीवितै उद्धार गरिएको तथा एक जनाको शव निकालिएको सहायक रथी थापाले बताउनुभयो। पावर हाउसको ढोकाभित्र ठूलो मात्रामा लेदो पसेका कारण उद्धारमा कठिनाइ भएको उहाँको भनाइ छ।
उहाँका अनुसार सुरुङको करिब १७५ मिटरभित्र पावर हाउस रहेको थियो। बाढीपछि करिब १० दिनको निरन्तर प्रयासपछि उद्धार टोली पावर हाउससम्म पुग्न सफल भएको हो।
माथिल्लो त्रिशूली–३ बी आयोजनामा भने करिब ४० जना मानिस पुरिएको आशङ्का गरिएको छ। त्यहाँ नेपाली सेनाका ९० जना सुरक्षाकर्मी परिचालन गरी खोजी तथा उद्धार जारी राखिएको छ।
सहायक रथी थापाका अनुसार त्रिशूली–३ बीमा ठूलो मेसिन लैजान कठिन भएपछि जनशक्ति र सावेलको प्रयोग गरेर समेत खोजी भइरहेको छ। मिनी स्काभेटर प्रयोग गर्नुका साथै माथिल्लो त्रिशूली–३ ए हुँदै ३ बीको सुरुङसम्म पुग्ने गरी उद्धार कार्य अघि बढाइएको उहाँले जानकारी दिनुभयो।
सेनाले बाढीबाट प्रभावित सबै आयोजनाका सुरुङमा सम्भावित जीवित तथा मृतकको खोजीलाई प्राथमिकतामा राखेको जनाएको छ। सुरुङभित्रको अवस्था र उद्धारको प्राविधिक जटिलता हेरेर विभिन्न उपकरण तथा जनशक्ति परिचालन गरिएको सेनाको भनाइ छ।









