२२ भाद्र २०८३, सोमबार
,
Latest
कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी वागमती प्रदेश सरकारले लिने



अ+ अ-

ललितपुर । रसुवाको भोटेकोशीमा १० भदौमा आएको भीषण बाढीबाट विस्थापित नागरिकको सेल्टर, खाद्यान्न तथा बसोवास व्यवस्थापनका लागि वागमती प्रदेश सरकारले बजेट तथा आवश्यक सामग्री उपलब्ध गराउने भएको छ ।

सोमबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री किरण थापा मगरले प्रादेशिक विपद् व्यवस्थापन कोषमार्फत बाढीपीडितका लागि बजेट तथा सामग्री उपलब्ध गराउने जानकारी दिनुभयो ।

उहाँका अनुसार विपद्पछिको खोज तथा उद्धार, राहत वितरण र शव व्यवस्थापनका विषयमा संघ, प्रदेश र स्थानीय सरकारबीच स्पष्ट कार्यविभाजन तथा आपसी समन्वय गर्ने सहमति भएको छ । सोहीअनुसार प्रदेश सरकारले बाढी प्रभावितको खोज तथा उद्धार, राहत र शव व्यवस्थापनमा संघीय सरकारलाई आवश्यक सहजीकरण गरिरहेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री थापाले बाढीबाट घर गुमाएका नागरिकलाई सेल्टरमा ल्याएर खाना खुवाउने काम प्रदेश सरकारले गरिरहेको जानकारी दिनुभयो । स्थानीय तहले तत्काल आवश्यक काम गर्ने र त्यसका लागि लाग्ने खर्च प्रदेश सरकारले व्यहोर्ने व्यवस्था गरिएको उहाँको भनाइ छ ।

बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन प्रदेश सरकार गम्भीर रूपमा लागिरहेको पनि उहाँले बताउनुभयो । शव व्यवस्थापनका लागि स्थानीय तहले जमिन उपलब्ध गराउने र प्रदेश सरकारको सहयोगमा संघीय सरकारले आवश्यक प्रक्रिया अघि बढाइरहेको उहाँले जानकारी दिनुभयो । चितवनमा ठूलो संख्यामा शव फेला परेपछि व्यवस्थापनमा समस्या देखिएको भन्दै मुख्यमन्त्री थापाले स्थानीय तहबाट जमिन उपलब्ध गराएर डीएनए परीक्षण तथा शव व्यवस्थापनमा प्रदेश सरकारले सहजीकरण गरेको बताउनुभयो ।

उहाँले धादिङको कृष्णभीरमा पहिरो गएपछि राजधानीसँगको सडक सम्पर्क प्रभावित हुँदा ग्यास, खाद्यान्न तथा निर्माण सामग्रीको अभाव हुन थालेको बताउनुभयो । आपूर्ति सहज बनाउन कुलेखानी–भीमफेदी सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालन गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

मुख्यमन्त्री थापाका अनुसार कुलेखानी–भीमफेदी सडकमा एकतर्फी सवारी सञ्चालन गरी भोलिदेखि वैकल्पिक मार्ग खुलाउने तयारी गरिएको छ । यसबाट राजधानीमा ग्यास, खाद्यान्न तथा निर्माण सामग्रीको आपूर्ति सहज हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै, कान्तिलोकपथमा गएको पहिरो हटाउने काम पनि प्रदेश र संघीय सरकारको समन्वयमा अघि बढिरहेको उहाँले जानकारी दिनुभयो । तत्काल सवारी आवागमन सहज बनाउन वैकल्पिक सडकको व्यवस्था गर्ने काम भइरहेको उहाँको भनाइ छ ।

मुख्यमन्त्री थापाले बाढीमा परी अभिभावक गुमाएका बालबालिकाको शिक्षाको जिम्मेवारीसमेत प्रदेश सरकारले लिने निर्णय गरेको जानकारी दिनुभयो । प्रदेश सरकारद्वारा सञ्चालित आवासीय विद्यालयमा त्यस्ता बालबालिकालाई कक्षा १२ सम्म अध्ययन गराउँदा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने उहाँले बताउनुभयो ।