२२ भाद्र २०८३, सोमबार
,
Latest
कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती



अ+ अ-

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढी प्रभावित अधिकांश क्षेत्रमा राहत सामग्री पुगिसकेको बताउनुभएको छ ।

सोमबार प्राधिकरणमा आयोजित कार्यक्रममा उहाँले हेलिकप्टरमार्फत मात्रै पुग्नुपर्ने स्थानबाहेक अन्य अधिकांश क्षेत्रमा राहत सामग्री पुर्‍याइएको जानकारी दिनुभयो । अहिले हेलिकप्टरलाई खोज तथा उद्धार कार्यमा प्राथमिकता दिइएकाले हेलिकप्टरबाट राहत पुर्‍याउनुपर्ने केही दुर्गम क्षेत्रमा भने समस्या भइरहेको उहाँले बताउनुभयो ।

त्यस्ता स्थानमा त्रिशूली, रसुवा लगायत हेलिकप्टर पुग्न सक्ने नजिकका स्थानबाट खाद्य सामग्री पठाउने प्रयास भइरहेको उहाँको भनाइ छ । स्थानीय सरकारसँग निरन्तर समन्वय गरी राहत वितरणको काम अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

डा. उप्रेतीले विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम निरन्तर भइरहेको बताउँदै तीनवटै सुरक्षा निकाय विपद्को पहिलो दिनदेखि नै उद्धार तथा राहत कार्यमा सक्रिय रहेको उल्लेख गर्नुभयो । बेपत्ता व्यक्तिका नाम तथा विवरण प्राप्त हुनेबित्तिकै तीनवटै सुरक्षा निकायमार्फत त्यसको जाँच गरी आवश्यकताअनुसार फिल्डमा खटिएका टोली परिचालन गर्ने गरिएको उहाँले बताउनुभयो ।

उहाँले सामाजिक सञ्जालमा फैलिरहेका फेक भिडियोका कारण जनमानसमा नकारात्मक प्रभाव परिरहेको भन्दै त्यस्ता सामग्रीप्रति सचेत रहन आग्रह गर्नुभयो ।

उहाँले उद्धार तथा राहतमा कुनै कसर बाँकी नराख्न राज्यका तर्फबाट चौबीसै घण्टा सुरक्षा निकाय परिचालन गरिएको बताउनुभयो । साथै, छिमेकी मुलुकसँग समन्वय गरी उद्धार तथा राहतका लागि आवश्यक सहयोग लिइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उद्धार र राहतमा कुनै पनि कसर बाँकी नरहोस् भनेर राज्यको तर्फबाट गर्नुपर्ने कुरामा हामी एकदमै संवेदनशील छौँ ।”

डा. उप्रेतीले केही स्थानमा हेलिकप्टर अपरेसन कठिन भएकाले तत्काल राहत सामग्री पुर्‍याउन नसकिएको स्वीकार गर्दै ती क्षेत्रमा वैकल्पिक माध्यमबाट खाद्य सामग्री पठाउने प्रयास भइरहेको बताउनुभयो ।

उहाँका अनुसार निजी हेलिकप्टरमार्फत राहत वितरण गर्नुपर्ने भन्दै विभिन्न अनुरोधसमेत आइरहेका छन् । ती अनुरोधलाई स्थानीय सरकारसँगको समन्वयमा सम्बोधन गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

खोज तथा उद्धारको काम पूरा नहुँदासम्म राज्यका तर्फबाट निरन्तर प्रयास जारी रहने उहाँको भनाइ छ ।