काठमाडौँ । एसियाली एथलेटिक्स संघ (एएए) ले नेपाल एथलेटिक्स संघलाई निलम्बन गर्ने चेतावनी दिएको छ । निर्वाचित कार्यसमितिको अवधि सकिएको वर्ष दिन बित्न लाग्दा पनि नेपाल एथलेटिक्स संघको निर्वाचन हुन नसकेपछि एएएले यस्तो निर्देशन दिएको हो ।
समयमै निर्वाचन गर्न नसके नेपाल एथलेटिक्स संघलाई आफ्नो सदस्यताबाट निलम्बन गर्ने चेतावनी पनि एएएले दिएको छ ।
एएएबाट मार्च १५ तारिख मंगलबार आएको पत्र राखेपाको नाममा काटिएको थियो । उक्त पत्रमा यथाशक्य चाँडो निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको छ । यदि निर्वाचद्धन नभएमा नेपाल एथलेटिक्स संघको सदस्यता निलम्बन गर्ने चेतावनी दिएको छ ।
अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघ (आईएएएफ) ले नेपाल एथलेटिक्स संघको सदस्यता निलम्बन गरेको खण्डमा अन्तर्राष्ट्रिय निकायबाट नियमित रूपमा पाउँदै आएको आर्थिक सहायता रोकिनुको साथै नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेल्न पाउने छैनन् ।
एथलेटिक्स संघले सन् २०१८ को फेब्रुअरी १२ तारिखमै आफ्नो निर्वाचन साधारणसभा गर्नुपर्ने थियो । यद्यपि, विभिन्न बहानामा नेपाल एथलेटिक्स संघले आफ्नो निर्वाचन कार्यक्रमलाई पछि सार्दै आएको छ ।