१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल लगानीका लागि उपयुक्त थलो : अर्थमन्त्री



अ+ अ-

काठमाडौँ । सरकारले लगानी सम्मेलनलाई एउटा उत्सवका रूपमा सम्पन्न गर्दै नेपाल लगानीका लागि उपयुक्त थलो हो भन्ने तथ्य स्थापित गर्ने भएको छ ।

अर्थमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्यलाई पहिल्याउन सम्मेलन महत्वपूर्ण अवसरका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । सम्मेलन यही चैत १५ र १६ गते आयोजना गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल उद्योग परिसङ्घका पदाधिकारीलाई साथमा नै राखेर आयोजना गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले भन्नुभयो, “सम्मेलन सबै नेपालीको साझा अभियान हो । यसलाई सफल पार्न र देशमा वैदेशिक लगानी भित्र्याउन समेत महत्वपूर्ण अवसर हो ।”

उहाँले विकासका सम्भावना र आवश्यकतालाई ख्याल गर्दै सरकार, स्वदेशी तथा विदेशी लगानीकर्ताका बीचमा सुमधुर सम्बन्ध विकास गरी राष्ट्रिय आवश्यकतालाई पूरा गर्नसमेत सम्मेलन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनमा सरकारका ५० र निजी क्षेत्रका २५ गरी कूल ७७ परियोजनालाई ‘शो केश’ मा राखिने र नेपाल लगानीका लागि असाध्यै अनुकूल अवस्थामा छ भन्ने सन्देश दिन लागिएको उहाँले उल्लेख गर्नुभयो ।

सम्मेलनका क्रममा नै एक दर्जन बढी परियोजनासँग समझदारीमा हस्ताक्षर गर्ने तयारीसमेत गरिएको छ । सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डललगायत ६०० बढी लगानीकर्ताको सहभागी हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रममा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, यहाँस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपालका निजी क्षेत्र, गैरआवासीय नेपाली तथा स्वदेशी लगानीकर्तालगायतको सहभागिता रहनेछ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात शहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी परियोजना प्रस्तुत गरिनेछ । सम्मेलनलाई नै ध्यानमा राखेर सरकारले हालै सङ्घीय संसद्बाट ‘सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन’, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन’ पारित गर्नुका साथै ‘विशेष आर्थिक क्षेत्रसम्बन्धी ऐन’ समेत संशोधन गरिसकेको छ ।

लगानीका लागि सहज वातावरण बनाउने लक्ष्यका साथ ती ऐन, केही नियमावली तथा निर्देशिकामा समेत सुधार गरिएको अर्थमन्त्री डा खतिवडाको भनाइ थियो । सम्मेलनमा म्यान्माका लगानी तथा विदेश आर्थिकसम्बन्धी मन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, विश्व बैंकअन्तर्गतको बहुपक्षीय लगानी प्रत्याभूतिसम्बन्धी निकायका उपाध्यक्ष तथा कार्यकारी केइको होण्डा, अन्तर्राष्ट्रिय वित्त निगमका आर्थिक तथा निजी क्षेत्र विकाससम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेश, एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसञ्चालनसम्बन्धी उपाध्यक्ष होङ ली तथा माइक्रोसफ्ट्, अमेजन, पावर चाइना, चाइना रेल्वे, डाबर, युनिलिभरलगायतका विश्व प्रसिद्ध कम्पनीका उच्च पदस्थ व्यक्तिको सहभागिता रहनेछ ।

अर्थमन्त्री खतिवडाले सम्मेलनमार्फत् विश्वका लगानीकर्तालाई नेपालमा लगानीका अवसर, लगानी प्रवद्र्धनका लागि सरकारले लिएका नीतिगत तथा कानूनी प्रयासबारे जानकारी गराउने अवसर मिल्ने बताउनुभयो । नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको सन्देश दिने अवसरका रूपमा सम्मेलनलाई लिइएको उल्लेख गर्दै अर्थमन्त्रीले सरकारको सङ्कल्पको रूपमा रहेको ‘समृद्ध नेपाल सुखी नेपाली’ लाई सफल बनाउनसमेत सम्मेलन महत्वपूर्ण अवसर भएको बताउनुभयो । सम्मेलनलाई सफल बनाउन सरकारले अर्थमन्त्रीकै संयोजकत्वमा निर्देशक समितिसमेत गठन गरेको थियो ।

बन्द हडतालका कार्यक्रम छाडेर विदेशी लगानीकर्तालाई नेपाली हँसिला खुशीला छन् भन्ने सन्देश दिनुपर्ने उहाँको जोड थियो । सम्मेलनका लागि सुरक्षा व्यवस्थासमेत चुस्तचुरुस्त पारिएको बताउनुभयो । “नेपालमा रोजगारी भएन भने हामी, हाम्रा सन्तान रोजगारीका लागि विदेश जाने वातावरण नबनोस्”, उहाँले भन्नुभयो, “हाम्रा पाहुनालाई स्वागत गरौँ, नेपाली हँसिला, खुसिला छन् भन्ने प्रमाणित गरौँ ।” उहाँले सुरक्षाकर्मी तथा विमानस्थलका सबै कर्मचारीलाई सुरक्षाको व्यवस्था मिलाउँदै राम्रोसँग पाहुनालाई स्वागत गर्न निर्देशनसमेत दिनुभयो ।




भर्खरै