१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ध्यानको मार्ग : क्रिया योग



अ+ अ-

ज्ञान, सृजनशीलता, सुरक्षा, खुशी र निःशर्त प्रेम– के कसैले हामीलाई साँचो र अनन्त आनन्द दिन सक्ने स्रोत फेला पार्न सक्छ ?

आफ्नो आत्मामा दिव्यताको अनुभूति गर्नु, आफ्नो आत्मामा दिव्य आनन्द प्राप्त गर्नु– यो त्यो खजाना हो जुन परमहंस योगानन्दले हामीलाई क्रियायोगको शिक्षामार्फत दिएका थिए ।

क्रियायोगको दिव्य विज्ञानमा ध्यानका धेरै उन्नत विधिहरू उपलब्ध छन्, जसको निष्ठासाथ गरिने अभ्यासले परमात्माको साक्षात्कार हुनेछ र सबैप्रकारका बन्धनबाट आत्मालाई मुक्ति दिनेछ । यो राजयोग वा योगको सर्वोत्तम विधि हो, जसले ईश्वरीय सत्यसँग शाश्वत सम्बन्ध स्थापित गर्दछ।

क्रियायोगको इतिहास 

आत्म जागृत सन्तहरूले धेरै पुरानो समयमा क्रियायोगको आध्यात्मिक विज्ञान पत्ता लगाएका थिए। भगवान् कृष्णले भगवद्गीतामा यसको महिमा वर्णन गर्नुभएको छ। ऋषि पतञ्जलिले आफ्नो योग सूत्रमा यसको उद्घाटन गरेका छन्। परमहंस योगानन्दले भनेका छन् कि ध्यानको यो प्राचीन विधि जिसस क्राइस्ट र उहाँका चेलाहरू सेन्ट जोन, सेन्ट पल र अन्य चेलाहरूलाई पनि थाहा थियो।

कलियुगमा तमोगुणको प्रधानताका कारण शताब्दीयौंसम्म क्रियायोग लोप भयो। यसलाई आधुनिक समयमा महावतार बाबाजीद्वारा पुनः परिचय गराइएको थियो । उहाँका शिष्य लाहिरी महाशय (सन् १८२८ देखि १८९५) हाम्रो युगमा यसबारे खुलेर बोल्ने पहिलो व्यक्ति थिए। पछि बाबाजीले लाहिरी महाशयका शिष्य स्वामी श्रीयुक्तेश्वर गिरी (सन् १८५५ देखि १९३६) लाई यो योग विज्ञान परमहंस योगानन्दलाई सिकाउन र पश्चिमी संसारमा गएर सम्पूर्ण विश्वलाई यो विधि सिकाउन आदेश दिए।

परमहंस योगानन्दलाई उनका श्रद्धेय गुरुहरूले सम्पूर्ण विश्वलाई क्रिया योगको प्राचीन विज्ञान सिकाउन चुनेका थिए र यस उद्देश्यका लागि उनले भारतमा सन् १९१७ मा योगदा सत्सङ्ग सोसाइटी र सन् १९२० मा अमेरिकामा सेल्फ–रियलाइजेसन फेलोसिप स्थापना गरे । जुन विज्ञान पुरातन समयमा एकान्तमा बसेर सन्न्यासीको जीवन बिताउने केही समर्पित, वफादार, जितेन्द्र शिष्यहरूलाई मात्र सिकाइएको थियो, त्यो विज्ञान आधुनिक समयमा महान गुरुहरूले सबैलाई उपलब्ध गराएका छन् ।

योगानन्दजीले लेखेका छन्, “सन् १०२० मा अमेरिका आउनुभन्दा पहिले महावतार बाबाजीले मलाई आशीर्वाद दिँदै मलाई यो पवित्र कार्यको लागि चुनिएको उल्लेख गर्दै भन्नुभयो, ‘मैले तिमीलाई पश्चिमी संसारमा क्रिया योग फैलाउन रोजेको छु। धेरै वर्षअघि कुम्भ मेलामा मैले तिम्रा गुरु युक्तेश्वरलाई भेटेको थिएँ। त्यसपछि मैले तिमीलाई प्रशिक्षणका लागि उनीकहाँ पठाउँछु भनेको थिएँ ।’ बाबाजीले त्यसपछि भविष्यवाणी गर्नुभयो, ‘क्रिया योग, ईश्वर–प्राप्तिको वैज्ञानिक विधि, अन्ततः सबै देशमा फैलिनेछ र यसले मानिसलाई सनातन परमपिताको व्यक्तिगत दिव्य अनुभवको माध्यमबाट राष्ट्रहरू बीच सद्भाव स्थापित गर्न मद्दत गर्नेछ।’”

क्रिया योगको विज्ञान

ऊर्जा र चेतनाको प्रत्यक्ष प्रयोग गर्ने योग मार्गमा सफलता हासिल गर्ने सबैभन्दा छिटो र प्रभावकारी तरिका हो। यो सीधा मार्ग हो जसले ज्ञानको एक विशेष विधिलाई जोड दिन्छ जसलाई परमहंस योगानन्दले सिकाएका छन्। विशेषगरी क्रिया राजयोगको एक विकसित विधि हो जसले शरीरमा ऊर्जाको प्रवाहलाई ऊर्जा दिन्छ र पुनरुत्थान गर्दछ, जसले गर्दा स्वाभाविकरूपमा हृदय र फोक्सोको सामान्य गतिविधिलाई सुस्त बनाउँछ। फलस्वरूप चेतना उच्चस्तरको धारणामा बढ्न थाल्छ, जसले बिस्तारै भित्री अस्तित्वमा भित्री जागरण ल्याउँछ, यसले मन र इन्द्रियबाट आउने आनन्दको अनुभूतिभन्दा धेरै आनन्द र गहिरो सन्तुष्टि दिन्छ । सबै धर्मशास्त्रले मानिस नश्वर शरीर होइन तर जीवित अमर आत्मा हो भनेर प्रचार गर्दछन्। प्राचीन कालदेखि नै मानवतालाई प्रदान गरिएको क्रियायोगले शास्त्रमा वर्णित सत्यलाई प्रमाणित गर्ने राजमार्गलाई उजागर गर्दछ। परमहंस योगानन्दले क्रिया योगको विज्ञानलाई विश्वासपूर्वक अभ्यास गर्ने आफ्नो अद्भुत क्षमताको बारेमा घोषणा गर्दै भनेका थिए, ‘यसले गणित जस्तै काम गर्दछ, यो कहिल्यै असफल हुन सक्दैन।’

क्रिया योग मार्गका ध्यान विधिहरु

(१) शक्ति–सञ्चार प्रविधि

सन् १९१६ मा परमहंस योगानन्दद्वारा विकसित मनोभौतिक अभ्यास शृङ्खलाले शरीरलाई ध्यानका लागि तयार गर्दछ। नियमित अभ्यासले मानसिक र बौद्धिक आराम दिन्छ तथा ऊर्जाशील इच्छाशक्तिको विकास गर्छ। सास, प्राण, वायु र एकाग्रताको प्रयोग गरेर यो विधिले साधकलाई आफ्नो इच्छाअनुसार ऊर्जा आकर्षित गर्न सक्षम बनाउँछ, जसले शरीरका अङ्गहरूलाई शुद्ध पार्छ र तिनीहरू थप पुष्ट हुन्छन् । दबाब र स्नायु प्रणालीको तनाव कम गर्ने सबैभन्दा प्रभावकारी तरिका भनेको लगभग १५ मिनेट लाग्ने ऊर्जा–सञ्चार अभ्यास गर्नु हो। ध्यान गर्नुअघि यो अभ्यासले चेतनालाई शान्त र अन्तर्मुखी अवस्था प्राप्त गर्न सहयोग प्राप्त हुन्छ ।

(२) एकाग्रताको हंसः प्रविधि

हंसः प्रविधिले एकाग्रताको सुप्त शक्तिलाई जगाउन मद्दत गर्छ। यस प्रविधिको अभ्यास गरेर साधकले आफ्नो विचार र जीवन शक्तिलाई बाह्य व्याकुलताबाट हटाएर कुनै वाञ्छित लक्ष्य प्राप्ति वा कुनै समस्याको समाधानमा केन्द्रित गर्न सिक्छ। अर्थात साधकले त्यो एकाग्र मनलाई अन्तरमा दिव्य चेतनाको अनुभूति गर्न प्रयोग गर्न सक्छ।

(३)  ओम प्रविधि

ध्यानको ओम प्रविधिको माध्यमबाट साधकले आफ्नो एकाग्रताको शक्तिलाई उच्चतम लक्ष्य प्राप्तिका लागि प्रयोग गर्न सिक्छ। अर्थात साधकले आफ्नो आत्म–स्वरूपको ईश्वरीय गुणहरू पहिचान र विकास गर्न सक्छ । यो पुरातन विधिले सम्पूर्ण सृष्टिको सृजना गर्ने र पालनपोषण गर्ने ओमकारका रुपमा सर्वव्यापी दिव्य शक्तिको अनुभव गर्न सकिन्छ । यो प्रविधिले चेतनालाई विस्तार गर्छ । यसबाट साधकले आफ्नो शरीर र दिमागको सीमितताहरू पार गर्छ र आफ्नो असीम क्षमताहरूको आनन्द अनुभूति प्राप्त गर्दछ।

(४) क्रिया योग विधि

क्रिया प्राणायाम राजयोगको विकसित विधि हो। क्रियाले मस्तिष्क र मेरुदण्डमा सूक्ष्म प्राण ऊर्जालाई बलियो बनाउँछ र पुनर्जीवित गर्छ। प्राचीन ऋषिहरूले मस्तिष्क र मेरुदण्डलाई जीवनको वृक्षका रूपमा चित्रण गरे। मस्तिष्कमा अवस्थित सूक्ष्म ऊर्जा केन्द्रहरुबाट प्रवाहित हुने ऊर्जालाई चक्र भनिन्छ । सोही चक्रको माध्यमले प्राणले स्नायु प्रणाली र शरीरका हेरक अङ्ग, तन्तु र कोशिकालाई पोषणदिन्छ । योगीहरूले जीवन ऊर्जालाई मेरुदण्डमा निरन्तर माथि र तल प्रवाह गर्न क्रिया योगको विशेष विधि प्रयोग गरेर व्यक्तिको आध्यात्मिक विकास र चेतना धेरै छिटो गतिले गर्न सकिन्छ भनी पत्ता लगाए। 

प्रयोगको सही अभ्यासले स्वाभाविकरूपमा हृदय, फोक्सो र स्नायु प्रणालीको सामान्य गतिविधिहरूलाई सुस्त बनाउँछ, जसले शरीर र दिमागको भित्री अवस्था तथा विचार, भावना र इन्द्रियहरुका विषयलाई ग्रहण गर्दा उत्पन्न हुने बाहिरी जगत्मा हुने हलचललाई शान्त बनाउँछ । स्थिर अन्तःस्करणको स्पष्ट अवस्थामा साधकले गहिरो शान्तिको अनुभव गर्छ र आफूलाई आफ्नो आत्मा र परमात्माको चेतनाको धेरै नजिक महसुस गर्छ।