१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेखरको नम्बर घट्यो, सशांकप्रति पौडेल सशंकित, देउवा कम्फर्ट जोनमा



अ+ अ-

काठमाडौँ । यतिखेर नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनका लागि नेतृत्व छनोटको रस्साकस्सी जारी छ । त्यसो त महाधिवेशनको उद्घाटन हुन अब दुई दिन पनि बाँकी छैन । नेपाली काँग्रेसको आगामी कार्यकालका लागि नेतृत्व गर्ने नेता छान्न यो रस्साकस्सी जारी रहेको हो । दौडधुपमा संस्थापन इतर समूहका नेताहरु बढी देखिएका छन् । किनभने उनीहरु एकै दिन पनि अलग अलग भेन्यू फेरेर कतै लञ्च त कतै डिनर मिटिङ गरिरहेका छन् । तर झण्डै वर्षदिनदेखि नै संस्थापन इतर समूहबाट एकजना मात्र उम्मेदबार हुन्छ भनेर प्रचार गरेका नेताहरु अहिले भने बिरालाको घाँटीमा कस्ले घण्टी झुण्डाउने भन्ने त्रासमा देखिए । उनीहरु यति सजिलै एकजना मात्र उम्मेदबार छान्न सक्लान जस्तो छैन । छानिहालेछन् भने पनि त्यसभित्र सबैले त्यही उम्मेदबारलाई मत हाल्छन् भन्ने पनि कुनै ग्यारेन्टी छैन । किनभने यो उम्मेदबार छान्न उनीहरु एक अर्कामा प्रस्तुत भएका हिसाबले सबै मिलेर एकै ठाउँमा भोट हाल्न सक्ने अवस्था देखिँदैन ।

उता संस्थापन पक्षमा भने त्यस्तो समस्या छैन । यस प्रयोजनका लागि आज बिहान बुढानिलकण्ठमा बैठक बस्यो र एकै बैठकमा सभापतिमा शेरबहादुर देउवालाई उठाउने निर्णय गरिहाल्यो । हुनत आजको सो बैठकमा आफू पक्षकै नेताहरु उपस्थित थिए तर पनि संस्थापनबाट देउवा नै पार्टी सभापति उठाउने निष्कर्षमा उनीहरु पुगिहाले । तर त्यस्तो उता पौडेल पक्षीय भनिएकाहरुमा देखिँदैन । एक वर्षदेखि नै उनीहरु एक उम्मेदबार बनाउने भाषणा गरिआएको भए पनि एकले अर्कालाई स्वीकार गर्नसक्ने अवस्था भने देखिँदैन । 

पौडेल पक्षीय भनिएकाहरुमा आखिर यस्तो किन भइरहेको छ ? किन उनीहरु भित्र बैठक बसिरहेका बेला बाहिर आफ्नै गुटका कार्यकर्ताहरुले धर्ना दिनुपरिरहेको छ ? यसको एकमात्र कारण हो– अविश्वास । हो, यहाँ एकप्रति अर्काको विश्वास छैन । हिजो प्रचार गरेजस्तो आज सजिलो छैन । हिजो त हामी तीन नेतापुत्र हौँ, हामीमध्ये एकजना सभापति हुने हो भनेर जुन प्रचार गरिएको थियो त्यस्तो अवस्था आज छैन । 

हिजो साँझ बसेको बैठकमा त्यस्तै भयो । जब मैले रामचन्द्रजीका लागि छोडिदिएँ भने त्यस लगत्तै उता शेखर कोइराला भने सशंकित बने । उनले आफूलाइै सशांकले सभापतिको उम्मेदबारका रुपमा प्रस्तुत गरोस् भन्ने आशा गरेका थिए तर परिस्थिति त्यस्तो बनेन । किनभने सशांक शेखरलाई विश्वास गर्न सकेनन्, गर्दैनन् । त्यसैले शेखरले आजको बैठकमा आपूm उपस्थित नहुने सन्देश हिजो दिएका थिए । 

हिजोको बैठकमा सशांक ब्याक भएपछि बाँकी रहेका तीनजनाबाट एकजना छान्ने भनेर आज बैठक पनि बोलाइएको थियो तर शेखरले भने आफू सो बैठकमै उपस्थित नहुने बताएका थिए । शेखरले हिजो भनेका थिए– ठिकै छ त, भोलि बैठक बसेर एकजना छान्नु म उपस्थित हुन्न । यसबाट उनले आफू बाहेक अरुलाई उम्मेदबार नमान्ने सन्देश दिएका थिए । 

आज त्यस्तै भयो । आज पौडेल पक्ष भनिएकाहरु बिहान कतै कुन पार्टी प्यालेस त कतै चाक्सीबारीमा बैठकहरु भने । तर पनि न रामचन्द्रको पक्षमा सहमति बन्न सकेको छ र नत तीमध्ये सबैले प्रकाशमान सिंहलाई नै मान्न तयार छन् । एकले अर्कालाई समर्थन गर्न नसकेको अवस्थाका कारण सो पक्षमा नै असहमति बढ्दै गएको छ । हिजो पौडेललाई छोडेको भनेका सशांक र शेखरबीचको आज बढेको तिक्तताको असर पौडेलमा पर्ने देखिएको छ । किनभने कथंकदाचित पौडेल नै एकमात्र उम्मेबार छानिए भने पनि उनी शेखर सशांकबीचको शीतयुद्धको शिकार हुने छन् । यो संकेत पाइसकेका पौडेल अहिले सशांकप्रति नै सशंकित छन् ।  

यता प्रकाशमानले आफ्नो उम्मेदबारी छोड्ने पक्षमा छैनन् । उनले रामचन्द्रलाई छोड्ने पक्षमा पनि छैनन् । त्यसो त रामचन्द्रलाई छोड्न शेखर नै तयार छैनन् । अर्काेकुरा प्रकाशमानले पनि यसपालि कसैको उपसभापति नबन्ने बताइसकेका छन् । यसरी हेर्दा संस्थापन इतर भनिएको पक्षबाट कम्तीमा पनि दुई जना उम्मेदबार बन्ने देखिएको छ । 

एक नम्बर प्रदेशको निर्वाचनमा भोट हाल्न समेत जान सकेनन् कोइरालाहरु । जसले आफ्ना तर्फबाट भनेर उम्मेदबार उठाए उनैलाई भोट हाल्न पनि गएनन् । योभन्दा ठूलो घात अरु के हुनसक्छ ? शेखर कोइराला, सुजाता कोइराला, महेश आचार्य र बलबहादुर केसी भोट हाल्न गएनन् तर उता उनीहरुकै समूहका उम्मेदबार गुरु घिमिरेले २ मतले निर्वाचन हारे । यसले शेखरको नम्बर स्वात्त घटेको बताउँछन् एक नम्बर प्रदेशका काँग्रेसी नेता कार्यकर्ताहरु । उनीहरु यो हदसम्मको लापरबाही गर्ने शेखरलाई पार्टी सभापतिमा उम्मदेबार दिएपनि सबैको मत नआउने अनुमान गरेका छन् । 

अर्कातर्फ जसरी सशांकले मैले रामचन्द्रजीलाई छोडिदिएँ भनेर भने त्यसप्रति शेखरले भने भोलिको बैठकमा आफू उपस्थित नै नहुने भनेर सीधै आपत्ति जनाए । यसरी एकले अर्का कोइरालालाई नै सभापतिमा प्रस्तावित गर्न नसकेपछि यो अविश्वासबाट उनीहरुको कोइराला समूह नै लामो समयसम्म कसरी चल्न सक्छ ? यो प्रश्न उनीहरुकै निकटस्थहरु गरी आएका छन् । 

यसैको परिणाम हुनसक्छ– सायद यसैका कारण सशांक सभापति देउवाको समूहमा जान सक्ने अधिक सम्भावना धेरैले देखेका छन् । किनभने उनी प्रकाशमानलाई सभापतिको उम्मेदबार मान्न तयार छैनन् । अनि प्रकाशमान शेखरलाई मान्न पनि तयार छैनन् । जसका कारण उता देउवा नै बलियो हुदै गएको देखिएको छ । यसैकारण पनि पौडेलका कतिपय नजिकका सहयोगीहरुले कोइराला क्याम्पभित्रकै विग्रहका कारण निर्वाचन फेरि पनि हार्ने निश्चित भएकाले नउठ्न भनी सुझाएका छन् ।  

नदेखियोस् पनि कसरी ? किनभने आजै घरैमा भेट्न गएर आपूmलाई सहयोग मागेका पौडेलसँगै कृष्ण सिटौलाले उल्टै आधार मागेका छन् । सिटौलाले पौडेललाई भनेका थिए– तपाइँलाई सहयोग मैले किन गर्ने ? केही आधार त दिनुहोस् । यसरी हेर्दा देउवा र सिटौलाले पहिल्यै चरणमा ५१ प्रतिशत मत ल्याएर सभापति जित्ने स्पष्ट अवस्था देखिएको छ भने उता सशांक पनि देउवा क्याम्पमा आउने लगभग पक्का जस्तै भएकाले देउवा झन् भन्दा झन् कम्फर्ट जोनमा प्रवेश गरिरहेको कार्यकर्ताहरुको ठम्याइ छ ।