काठमाडौं । गत ३१ वैशाखको बिहानै पशुपतिनाथ मन्दिर क्षेत्रभित्रै पर्ने संस्कृत माध्यमिक विद्यालय ९नेपाल वेद विद्याश्रम०को हाताभित्र डोजर चल्न थाल्यो । डोजर चल्नेबारे विद्याश्रमलाई वडा कार्यालय र काठमाडौं महानगरपालिका दुवैले जानकारी गराएका थिएनन् । न त पशुपति क्षेत्र विकास कोषले नै यसबारे विद्याश्रमलाई जानकारी गराएको थियो ।
डोजरले केही समयमै त्यहाँ काम तमाम ग¥यो र महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरे । कुनै औपचारिक जानकारी नभएको अवस्थामा डोजर चलाइएपछि शिक्षक, विद्यार्थी र कर्मचारीबीच केका लागि डोजर चलाइयो भन्ने जिज्ञासा सुरु भयो । विद्यार्थी, शिक्षक र विद्याश्रमका कर्मचारी विरोधमा उत्रिए । तर, त्यहाँ उनीहरूको विरोधको कुनै सुनुवाइ भएन, भवन शिलान्यास भइछाड्यो ।विद्याश्रमका संयोजक विष्णुप्रसाद पोखरेलका अनुसार यो जग्गा गुठी संस्थानको स्वामित्वमा विद्याश्रमको नाममा रहेको छ । हाल तैनाथी गुठीअन्र्तगत विद्यालय क्षेत्रको जग्गाको लालपुर्जा विद्याश्रमसँग रहेको छ । यस क्षेत्रमा विद्यालय मातहत ४९ रोपनी जग्गा रहेको छ ।
यता, महानगरपालिकाले भने सरोकारवाला मन्त्रालय, कोष तथा गुठी संस्थानको निर्णयअनुसार नगरपालिकाको वडा कार्यालय बनाउन लागेको बताएको छ । महानगरका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही, गुठी संस्थानका प्रतिनिधि, महानगरपालिका र कोषबीचको बैठकबाट निर्णय स्वीकृत गरिएको हो । कोषले त्यस क्षेत्रमा जग्गा अधिग्रहणका क्रममा वडा कार्यालयको जग्गासमेत अधिग्रहण गरेको र त्यसबापत उपयुक्त स्थान उपलब्ध गराउने सम्झौता पहिले नै भएको थियो । सोहीअनुसार कोषले यस स्थानको जग्गा उपलब्ध गराएको र वडा कार्यालय बन्न लागेको डंगोलले जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।