काठमाडौं । पाँचथरको मिक्लाजुङ गाँउपालिकामा सोमबार राती हत्या गरिएका बमबहादुर फियाकका कान्छा ज्वाँइले आत्महत्या गरेको ठाउँ नजिकै रगतमा लतपतिएको खुकुरी,लुगा र झोला भेटिएका छन्।
सोमबार राती मिक्लाजुङ्ग–३का बमबहादुर र उनका माइला ज्वाइँ धनबहादुरको परिवारका ९ जनाको हत्या भएको थियो।माखिमको शव घटनास्थलबाट पैदल हिँड्दा करिब डेढरदुई घन्टा लाग्ने दूरीमा झुण्डिएको अवस्थामा फेला परेपछि हत्यामा उनकै संलग्नता रहेको हुनसक्ने प्रहरीको भनाइ छ ।माखिमको घर मिक्लाजुङकै ७ नम्बर वडामा पर्छ।
उनी झुण्डिएको ठाउँमा रगत लतपतिएको खुकुरी, दाप, लुगा र झोला भेटिएको प्रदेश २ का डिएसपी केदार रिजालले बताए।
ससुरा र साढुभाइको परिवार मारेपछि मानबहादुर आफै झुण्डिएको प्रहरीले अनुमान गरेको छ।अधिकृतहरुका अनुसार माखिमको ससुराली परिवारसँग राम्रो सम्बन्ध थिएन । ‘श्रीमतीले पछिल्लो समय उनीसँग सम्बन्ध विच्छेद गर्न चाहेकी थिइन्’, स्रोतले भन्यो ।
अनुसन्धानको लागि एसपी उमाप्रसाद चतुर्वेदी नेतृत्वको टोली घटनास्थल ताप्लेजुङतर्फ हेलिकप्टरमार्फत १२ बजे प्रस्थान गरेको छ ।
घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गत राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।
धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको थियो । ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।
उक्त घटनामा १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।