१६ असार २०८३, मंगलवार
,
Latest
टोखा र पालुङटारको सहकार्य सुरु, रैथाने उत्पादनदेखि पर्यटन प्रवर्द्धनसम्म साझेदारी कालीमाटी बजारमा रायोको सागमा उच्च विषादी भेटियो, नष्ट गर्न निर्देशन विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ पहिराले कान्ति लोकपथ अवरुद्ध समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यकः सभामुख अर्याल लोकतन्त्र सुदृढीकरणका लागि संस्थाहरूको प्रभावकारिता र उत्तरदायित्व आवश्यकः अध्यक्ष दाहाल मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमकोट भएर कैलाश मानसरोवर जाने यात्री बढे



अ+ अ-

हुम्ला– हुम्लाको सदरमुकाम सिमकोट भएर कैलाश मानसरोवर जाने भारतीय  तीर्थयात्रीको सङ्ख्या एक हप्तामा ८०० पुगेको छ ।  कैलाश मानसरोवर दर्शनका लागि उपयुक्त समय शुरु भएलगत्तै भारतीय नागरिकले सिमकोटका होटेल र विमानस्थल यतिबेला भरिभराउ भएको छ । भारतीय तीर्थयात्री र अन्य देशबाट आउने पर्यटकका सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको सिमकोट विमानस्थल स्रोतले जनाएको छ । 

बुधबारसम्म मानसरोवर कैलाश यात्राका लागि सिमकोटको बाटो भएर ३६२ जना महिला र ४५९ जना पुरुष गरी जम्मा ७६३ जना भारतीय तीर्थयात्री आएका र शुक्रबार बिहान ८० भन्दा बढी भारतीय र अन्य मुलुकका पर्यटक सिमकोट पुगेका सिमकोट विमानस्थलका प्रमुख शंकर केसीले जानकारी दिए । कैलाश मानसरोवर दर्शनको समय शुरु भएसँगै यहाँ आगन्तुकको चाप बढेको हो । 

विश्वको सबैभन्दा उच्च स्थानमा  अवस्थित पवित्र जल भण्डार रहेको मानसरोवर पुग्न चाहनेहरु वैशाखको अन्तिम साता र जेष्ठको पहिलो हप्तादेखि ओइरिन शुरु हुन्छ । 

पौराणिक कथनअनुसार अमृत सरह मिठास भएको यस पवित्र जल भण्डारको सृष्टि ब्रम्हाजीले गरेका हुन् । मानसरोवरको सृष्टिसँगै विश्व जगत्को सृष्टि यहीँबाट शुरु भएको जनविश्वास रहिआएको छ । 
    
समुद्र सतहबाट चार हजार ५५९ मिटर उचाइमा रहेको यस सरोवर ३२० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।  मानसरोवर तालको क्षेत्र भगवान् विष्णुको बासस्थान हो भन्ने धार्मिक विश्वास रहेको छ । हिउँ पग्लेर जल बन्ने अवस्थामा यहाँ डमरुको ध्वनिको आवाज सुन्न सकिन्छ भन्ने गरिन्छ । 

कैलाश पर्वत भगवान् शिवशंकर र मानसरोवर माता पार्वतीको प्रतीकको रूपमा लिने गरिन्छ ।  मध्यराति माता पार्वती तारा (प्रकाश) को भेषमा स्वयं मानसरोवर तालमा प्रकट हुन्छिन् भन्ने विश्वास छ । यस सरोवरको पानीको रङ्ग समयअनुसार फरक हुने गर्दछ । 

मानव जीवनमा एकपटक अनिवार्य रुपमा कैलाश मानसरोवरको दर्शन गर्नुपर्छ भन्ने धार्मिक मान्यता रहेको छ । पितृात्मा चोख्याउने उद्देश्यले पनि हरेक वर्ष हजारौ तीर्थयात्री यहाँ पुग्ने गर्दछन् ।  छिमेकी राष्ट्र चीनमा रहेको कैलाश मानसरोवर दर्शन गर्न नेपालका अन्य सीमा नाका भन्दा हुम्लाको हिल्साबाट छिटो पुग्न सकिन्छ ।

बाह्य पर्यटकका लागि कैलाश मानसरोवर पुग्ने मूलद्वार हुम्लाको सिमकोट हिल्सा नाका नै हो । तिब्बतको पुराङ काउन्टीमा यो सरोवर रहेको छ । भारतीय तीर्थयात्री बाँके जिल्लाको जमुनाहा रुपैडिया हुँदै नेपालगञ्ज विमानस्थल पुगेर हवाई मार्गबाट महङ्गो भाडा तिरेर हुम्ला सिमकोट पुग्ने गर्दछन् ।

नेपालगञ्जबाट सिमकोट विमानस्थल पुगे लगतै एक÷दुई घण्टाको बसाइपछि तीर्थयात्री फेरि हेलिकप्टर चढेर १३ मिनेटमा हिल्सा नाका पुग्छन् । हिल्साबाट दुई देशको सीमा रहेको झोलुङ्गगे पुल तरेर चीनको ताक्लाकोट पुगेपछि गाडीबाट दुई घण्टामै कैलाश मानसरोवर पुगिन्छ । पैदल यात्रा गर्दा करिब एक हप्ता लाग्छ । अधिकाँश तीर्थयात्री पैदल यात्रा गर्न रुचाउँछन्  ।

सिमकोटबाट पैदल हिँडेर जाने तीर्थयात्रीलाई हिल्सा पुग्न साढे दुई दिन लाग्छ । अधिकाँश तीर्थयात्रीले आफैं खाना बनाउँदै यात्रा गर्ने गर्छन् भने कतिपय होटेलमा खाना खाने पनि छन् । होटेलको खानालाई २०० देखि २५० रुपैयाँ पर्छ । सिमकोटबाट सलिसल्लाको लाप्चामा पुगे लगतै हिल्सा पुग्न गाडी चढ्नुपर्छ । गाडी भाडा एक हजार रुपैयाँसम्म पर्छ । हेलिकप्टरबाट हिल्सा पुग्न नेपालका तीर्थालुले चार हजार रुपैयाँ भाडा तिर्नुपर्छ । 

भारतीय तीर्थयात्री भने भारतीय दूतावास काठमाडौँबाटै आ–आफ्नो एजेन्सीमार्फत मानसरोवर पुग्ने गर्दछन् ।  हिल्लाबाट कैलाश मानसरोवर पुग्न ताक्लाकोटबाट यात्रा शुरु हुन्छ र एक व्यक्तिले गाडी भाडा दश हजार रुपैयाँ तिर्नुपर्छ । 

भारतीय तीर्थयात्रीले कैलाश मानसरोवर यात्राका लागि तीनवटा मार्ग अँगाल्दै आएका छन् । एउटा मार्ग नेपालगञ्ज हुँदै सिमकोटसम्मको हवाई यात्रा हो । भारतीय तीर्थयात्रीले अङ्गालेको अर्को स्थलमार्ग काठमाडौँको कोदारी राजमार्ग तातोपानी हुँदै ल्हासासम्मको यात्रा हो जसका लागि गाडी चढ्नुपर्छ । उनीहरु त्यहाँबाट हप्तौँ दिन लगाएर ताक्लाकोटमा रहेको कैलाश मानसरोवर दर्शन गर्न पुग्छन् । यस मार्गबाट आउन जान गरी १४ दिन लाग्ने गरेको भारतीय तीर्थयात्रीको अनुभव छ । 

नेपालकै पश्चिम सिमानामा रहेको दार्चुलाबाट पैदल बाटो भएर पनि जान सकिन्छ । हुम्लाको सिमकोट भएर जाने नै छोटो दूरीको यात्रा हो । हुम्लाको नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाको सिमाना तिब्बतको कैलाश मानसरोवर तालसँग जोडिएको छ । लिमी लाप्चा भन्ने स्थानबाटै पनि कैलाश मानसरोवरको दर्शन आफ्नै भूमिबाट गर्न सकिन्छ । 

हुम्लीलाई ताक्लाकोट पुग्न सिमानामा रहेको चिनियाँ प्रहरीले जान दिए पनि कैलाश मानसरोवर पुग्न भने कठिनाइ भोग्नुपरेको यात्री हेमन्त बोहराले बताए ।  मानसरोवर तालमा स्नान गरेमा सात जुनीको पाप नष्ट हुने र त्यहाँको जल खाएमा भगवान्को शक्ति प्राप्त हुने धार्मिक विश्वास छ । 

संसारको सबैभन्दा अग्लो पठार भूमि, बीचमा ठूलो कैलाश पर्वत, दक्षिणमा शक्तिको प्रतीक राक्षस ताल र काखमा शान्तिको प्रतीक मानसरोवर अवस्थित छ ।   मानसरोवरको जल घर, खेतबारीका चार कुनामा छर्कियो भने शुद्ध हुने र बाली सप्रिने विश्वास रहेको छ ।