काठमाडौं । स्पेनले युरोकप छनोट फुटबलमा स्विडेनलाई सहज रुपमा पराजित गरेको छ ।
सोमबार राति युरोकपअन्तर्गत समूह एफको खेलमा स्पेनले स्वीडेनलाई ३–० गोलअन्तरले पराजित गरेको हो । स्पेनको जितमा कप्तन सर्जियो रामोस, अल्भारो मरोटा र मिकेल ओयारजबलले गोल गरे ।
पहिलो हाफ गोलरहित बनेको खेलको ६४औं मिनेटमा स्पेनले पेनाल्टी पायो । त्यसलाई सर्जियो रामोसले गोलमा परिणत गरे ।८५औं मिनेटमा स्पेनले फेरी अर्को पेनाल्टी पायो । योपटक भने पेनाल्टी प्रहार गर्न मरोटा आए । उनले पेनाल्टीबाट सहजै गोलगरेसँगै स्पेनले २–० गोलको अग्रता बनायो ।
त्यसको दुई मिनेट वित्न नपाउँदै खेलको ८७औं मिनेटमा स्पेनले अर्को गोल थप्न सफल भयो । ओयारजबलले गोल गर्दै स्पेनलाई ३–० गोलको जित दिलाए । यो सँगै स्पेनले छनोट प्रतियोगितामा शतप्रतिशत जित निकालेको छ ।
समूह एफमा रहेको स्पेनले चार खेलबाट १२ अंक जोडेको छ भने स्वीडेनको समान खेलबाट ७ अंक छ ।
त्यस्तै, अन्य खेलमा भने डेनमार्कले जर्जियालाई ५–१ ले, रोमानियाले माल्टालाई ४–० ले र पोल्यान्डले इज्रयाललाई ४–० गोलअन्तरले नै पराजित गरेको छ ।