रौतहट । रौतहटमा प्रहरीले प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ४ जना कार्यकर्तालाई हतियारसहित नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नम्वर चार टेकान टोलका मानबहादुर वाइवा र राम बहादुर घिसिङ लगायत चारजना रहेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।
जिल्लाको उत्तरीभेग चन्द्रपुर नगरपालिकाको तीन नम्वर वडा कार्यालय आगजनी गरे लगत्तै प्रहरीले बुधबार साँझ विप्लव चारजना कार्यकर्तालाई हतियार सहित पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको बयानको आधारमा बुधबार साँझ चन्द्रपुरको टेकानटोल स्थित वाइवा र घिसिङको घर खानतलासी गर्दा घिसिङको घरबाट एक थान स्वचालित पेस्तोल र एक थान नलकटुवा पेस्तोलसहित १० राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी स्रोतले जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उनीहरुलाई आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारीमा रहेको छ ।