काठमाडौं । नेपाल टेलिकम शाखा कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२÷८३ मा करिब पाँच हजार ७८९ वटा सिमकार्ड वितरण गरेको छ ।
त्यस्तै चालु आवको असोज समान्तसम्म टेलिकमले एक हजार २१२ वटा सिमकार्ड वितरण गरेको नेपाल टेलिकम शाखा कार्यालय जुम्लाका प्रमुख पारस पुजाराले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लामा एक हजार ७२२ ग्राहकले नेपाल टेलिकमको तीव्रगतिको फाइबर इन्टरनेट सेवा लिएका छन् । अहिले जिल्ला सदरमुकाम खलङ्गा बजारमा मात्र फाइबर इनटरनेट सेवा सञ्चालनमा छ ।
जिल्लाका आठ स्थानीय तहमा टेलिकमको फाइबर इन्टरनेट सेवा विस्तारका लागि टेलिकमको केन्द्रीय कार्यालयसँग पहल भइरहेको प्रमुख पुजाराले बताउनुभयो । टेलिफोन टावर निर्माण नहुँदा गुठीचौर गाउँपालिका–१ स्थित निपानी र तातोपानी गाउँपालिका–८ का ग्रामीण भेगका गाउँबस्तीका स्थानीयवासी टेलिफोन सेवाबाट वञ्चित भएको उहाँको भनाइ छ ।
जिल्लामा २० स्थानबाट फोरजी सेवा र सातवटा ठाउँमा टुजी सेवासहितका टावरबाट सञ्चार सेवा प्रवाह भइरहेको छ । पछिल्लो समय टेलिकमले जिल्लामा २४ वटा टावर विस्तार गरेको छ । त्यसमध्ये सबैभन्दा बढी चन्दननाथ नगरपालिकाभित्र पाँच, गुठीचौरमा चार, हिमामा तीन, कनकासुन्दरीमा तीन, पातारासीमा दुई, सिञ्जामा दुई, तातोपानीमा दुई र तिलामा तीनवटा टावर विस्तार गरिएको प्रमुख पुजाराले जानकारी दिनुभयो ।
पछिल्ला महिनामा ग्रामीण भेगसम्म टेलिकमले टावर विस्तारको कामलाई तीव्रगतिमा अगाडि बढाएको छ । ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्कलाई थप सुदृढीकरण गरी गाउँ बस्तीमा सञ्चार सेवा पुर्याउने उद्देश्यका साथ टावर विस्तारलाई विशेष जोड दिएको नेपाल टेलिकम शाखा कार्यालय जुम्लाले जनाएको छ । उक्त कार्यालय आफ्नो कार्यक्षेत्र जुम्लासहित कालीकोट र मुगुमा समेत टावर विस्तार गरेको छ । नेपाल टेलिकमका अनुसार कालीकोटमा २२ र मुगुमा १९ वटा टावर विस्तार गरिएको छ ।








