काठमाडौं । आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन मध्य कालीगण्डकी जलविद्युत् आयोजनाको स्थलगत भ्रमण तथा अवलोकन गर्नुभएको छ।
कालीगण्डकी नदीमा हालै आएको भीषण बाढीले पुर्याएको क्षतिको प्रत्यक्ष अवलोकन गर्दा आफू भावुक र स्तब्ध बनेको उहाँले बताउनुभएको छ। बाढीले सडक, पुल, स्थानीय बस्ती तथा जनजीवनमा पारेको असर हृदयविदारक रहेको उल्लेख गर्दै उहाँले प्रकृतिको विशाल शक्तिसामु मानव समुदाय कति निरीह हुन सक्छ भन्ने कुरा पुन: महसुस गराएको बताउनुभएको हो।
यद्यपि, विपत्तिका बीच पनि अवरुद्ध सडक, भत्किएका पुल तथा अन्य भौतिक संरचनाको पुनर्निर्माण र मर्मत कार्य तीव्र गतिमा अघि बढिरहेको देख्दा आशा र ढाडस मिलेको उहाँले उल्लेख गर्नुभएको छ।
अवरुद्ध बनेको बेनी–जोमसोम सडकखण्ड पुन: सञ्चालनमा आउनुलाई सकारात्मक उपलब्धिका रूपमा लिँदै ढकालले यसबाट स्थानीय बासिन्दा, यात्रु तथा सामान ढुवानीमा संलग्नलाई ठूलो राहत पुगेको बताउनुभएको छ। सडक सञ्चालनमा आएसँगै मुक्तिनाथ दर्शन गर्न जाने तीर्थयात्री तथा जोमसोम, लोमान्थाङ र कोरला नाकासम्म पुग्ने पर्यटक र सर्वसाधारणको आवागमनसमेत सहज भएको उहाँको भनाइ छ।
संकटको समयमा विपद् व्यवस्थापन, सडक पुन:स्थापना तथा राहत कार्यमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै उहाँले नेपाल सरकार, गण्डकी प्रदेश सरकार र स्थानीय तहप्रति आभार व्यक्त गर्नुभएको छ।
विशेषगरी दिनरात नभनी फिल्डमा खटिएर सडक पुन: सञ्चालन गर्न सफल सडक विभाग, बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयका प्राविधिक तथा कर्मचारी र सुरक्षा निकायका सदस्यहरूको समर्पण र उच्च मनोबलको उहाँले प्रशंसा गर्नुभएको छ।

बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष ढकालले प्रभावित परिवार तथा सम्पूर्ण दिदीबहिनी र दाजुभाइप्रति समवेदना व्यक्त गर्नुभएको छ।
भौतिक क्षति ठूलो भए पनि सामूहिक संकल्प र आत्मबल अझ बलियो रहेको उल्लेख गर्दै उहाँले सबैको साथ, समन्वय र सहकार्यबाट वर्तमान संकट पार लगाएर पुन: सबल रूपमा अघि बढ्न सकिने विश्वास व्यक्त गर्नुभएको छ।








