काठमाडौं । नेपालका लागि भारतका प्रस्तावित राजदूत निश्चलनाथ पाण्डेले पेश गरेको कार्ययोजनामाथि छलफल गर्दै सांसद वर्षमान पुनले नेपाल–भारत सम्बन्धका जटिलता समाधान गर्दै आर्थिक लाभ हासिल गर्ने क्षेत्रमा प्राथमिकताका साथ काम गर्न सुझाव दिनुभएको छ।
सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसद पुनले जलविद्युत व्यापार, थप हवाई प्रवेश बिन्दु तथा प्रविधि हस्तान्तरणलाई नेपाल–भारत कूटनीतिक सम्बन्धका प्रमुख एजेण्डाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
प्रस्तावित राजदूत पाण्डे कूटनीतिक क्षेत्रमा अनुभवी तथा दक्षिण एसियाली मामिलाका जानकार रहेको उल्लेख गर्दै पुनले उहाँको कार्ययोजनाले नेपाल–भारत सम्बन्धका बहुआयामिक पक्षलाई समेटेको बताउनुभयो।
नेपालको व्यापार घाटा न्यूनीकरणका लागि जलविद्युत निर्यातलाई दीर्घकालीन रणनीतिका रूपमा अघि बढाउनुपर्ने उहाँको भनाइ थियो। भारतसँग भएको १० हजार मेगावाट विद्युत् बिक्रीसम्बन्धी सहमति कार्यान्वयनमा लैजान तथा वर्षायाममा खेर जाने विद्युत्को अल्पकालीन व्यवस्थापनका लागि पनि प्रस्तावित राजदूतले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने पुनले बताउनुभयो।
उहाँले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक अतिरिक्त हवाई प्रवेश बिन्दु प्राप्त गर्न नसक्नु नेपालको प्रमुख चुनौती रहेको उल्लेख गर्नुभयो। लो–अल्टिच्युड फ्लाइट रुटमार्फत भए पनि सहज हवाई प्रवेश बिन्दु प्राप्त गर्न सके भारतबाट नेपाल आउने पर्यटकको संख्या हालको तुलनामा दोब्बर बनाउन सकिने उहाँको भनाइ थियो।
पुनले नेपालको व्यापार घाटा कम गर्ने प्रमुख आधार जलविद्युत र पर्यटन रहेको बताउँदै यी क्षेत्रमा भारतसँग प्रभावकारी कूटनीतिक पहल आवश्यक रहेको उल्लेख गर्नुभयो।
त्यस्तै, भारतबाट नेपालमा भित्रिने लगानीमा पछिल्लो समय आएको कमीप्रति चिन्ता व्यक्त गर्दै उहाँले लगानी प्रवद्र्धनका लागि नयाँ कूटनीतिक पहल आवश्यक रहेको बताउनुभयो।
भारतको सूचना प्रविधि (आईटी) क्षेत्रमा भएको प्रगतिको लाभ नेपालले लिनुपर्नेमा जोड दिँदै पुनले विगतमा भएका समझदारीअनुसार उच्चस्तरीय प्राविधिक तालिम र संस्थागत सहकार्यलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजान प्रस्तावित राजदूत पाण्डेको ध्यानाकर्षण गराउनुभयो।








