काठमाडाैँ । काठमाडौंको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत असोज २२ गते बिहान करिब १०ः३४ बजे बुढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित विद्यालय परिसरमा शिक्षकलाई कुटपिट गरिएको भन्ने सूचनापछि प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले घटनाबारे अनुसन्धान गरेको थियो।
प्रहरीका अनुसार सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भई काठमाडौंको कपन बस्ने ३६ वर्षीय निशाल दाहालले विद्यालयमा कार्यरत महिला शिक्षिकालाई लक्षित गरी अपशब्द तथा अश्लील शब्द प्रयोग गर्नुका साथै गालीगलौज र धाकधम्की दिएको आरोप छ।
सोही क्रममा सिन्धुलीको दुधौली नगरपालिका–१ घर भई काठमाडौंको कपन बस्ने ४४ वर्षीय ध्रुवप्रसाद घिमिरेको निर्देशनमा विद्यालयका प्रधानाध्यापकमाथि मुक्का तथा लात्ती प्रहार गरिएको प्रहरीको भनाइ छ।
प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको हो।








