काठमाडौं । गृहमन्त्री सुदन गुरुङले बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा नेपालका प्रतिष्ठित उद्योगी तथा व्यवसायीसँग अन्तरक्रिया गर्नुभएको छ। कार्यक्रममा उद्योगी–व्यवसायीले व्यापार तथा व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका समस्या, चुनौती र तिनको समाधानका लागि क्षेत्रीय सहकार्यका माध्यमबाट अघि बढाउन सकिने पहलहरूबारे सुझाव प्रस्तुत गरेका थिए।
अन्तरक्रियाका क्रममा गृहमन्त्रीले उद्योगी–व्यवसायीका सुझावलाई सकारात्मक रूपमा ग्रहण गर्दै व्यापार सहजीकरण, अवैध चोरी पैठारी नियन्त्रण तथा व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
उहाँले अवैध चोरी पैठारी नियन्त्रण तथा सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन डिजिटल सीमा व्यवस्थापन प्रणाली को अवधारणा अघि बढाइने उल्लेख गर्नुभयो। सीमा क्षेत्रमा प्रविधिको प्रयोग, निगरानी र निकायहरूबीचको समन्वयलाई सुदृढ बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो।
त्यसैगरी, नेपाली उत्पादनको गुणस्तर प्रमाणीकरण तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तारलाई सहज बनाउन भारतीय मानक ब्युरो (बीआईएस) र नेपाल गुणस्तर तथा नापतौल विभागबीच मान्यता तथा प्रमाणीकरणसम्बन्धी सहकार्य अघि बढाउने विषयमा समेत उहाँले प्रतिबद्धता जनाउनुभयो। यस विषयलाई बिमिस्टेक सम्मेलनका क्रममा हुने द्विपक्षीय वार्तामा उठाइने उहाँले बताउनुभयो।
गृहमन्त्रीले लगानीमैत्री वातावरण निर्माण गर्न व्यवसायीलाई राजनीतिक पहुँचको सहारा लिनुपर्ने अवस्था आउन नदिने पनि स्पष्ट पार्नुभयो। लगानी प्रवर्द्धनका लागि सरकारले सबै क्षेत्रमा आवश्यक सुधारका प्रभावकारी पहल गर्ने उहाँको भनाइ थियो।
यद्यपि, स्वच्छ तथा प्रतिस्पर्धी बजारको अनुशासनविपरीत हुने व्यवसायीका गतिविधिलाई कानुनी दायरामा ल्याइने उहाँले बताउनुभयो।

कार्यक्रमले उद्योगी–व्यवसायीका व्यावहारिक समस्या, सुझाव र अपेक्षा सरकारसमक्ष प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ। साथै, क्षेत्रीय मञ्चमार्फत व्यापार सहजीकरण, सीमा व्यवस्थापन, अवैध व्यापार नियन्त्रण तथा आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान गर्ने आधार तयार गरेको छ।








