म आस्थाको भर्याङ्ग उक्लदै छु
अप्ठेरो जङ्घार छिचोलेर
बगर पार गर्दै
भङ्गलाहरु फाटेका छन
नदीमा समाहित हुनलाई
म नदी किनारमा मौन छु
भङ्गला फाटे जस्तै
फाटेका छन मान्छेका मन पनि ।
मान्छेहरु हाँस्दैनन अचेल
कोलाहल बोक्छ मान्छे
सडकमा जिन्दगी पछार्दै
हराइ रहेको जिन्दगी खोजि रहेछ मान्छे
साँझ पर्छ
निष्पट्ट रातले निल्छ सपना
ताराहरु खस्दैनन
तारा प्राप्तिको याचना गरि रहेछ मान्छे ।
मान्छे नि:शब्द छ
विपना खोशिए पछि
आक्रोशको ज्वाला दन्कि रहेको छ
विष्फोटित तरङ्ग बोक्दै
स्वाभिमानको उठ्ने छ झण्डा
मुक्त हुनु पर्छ आकाश
हेपिनुको पनि सीमा होेला
अस्मिताको लडाइ लडि रहेछ मान्छे ।
म शताब्दियौै देखिको दासता बोकेर
भाटहरुले जस्तै सम्राटको पूजा गरि रहेछु
मेरो चेतना मरेको देखेर
म आफै चकित छु
सम्राट मलाई दाउछ
म विवशताको हलो तानिरहेको छु
मलाई जन्मजात रैति ठानेर
सम्राट म माथि राज गर्छ
म आत्म विद्रोह गर्न नसकी
चुपचाप शिर निहुराई बसेको छु ।
मेले आस्थाको भर्याङ्ग उक्लनै पर्छ
अप्ठेरो जङ्घार छिचोल्दै
बगर पार गर्नै पर्छ
भङ्गलाहरु फड्कदै
म परिवर्तनको खेति गर्न लालायित छु
मलाई नबाँध जञ्जिरले
म मुक्त हुन चाहान्छु
बेगिएर उड्ने पंक्षी जस्तै
म स्वतन्त्रताको दाम्लो बाट्दैछु
निरङकुश साँढे बाँध्नलाई ।
ओ मान्छे !
तिम्रो विश्वास मरेको छैन
तिम्रो आस्था ढलेको छैन
म सिर्जनाको बाँसुरी बजाउँला
तिमी चेतनाको गीत गाउँने गर्नु
तिमी अथकित यात्री हौ
यात्रालाई गन्तव्य पुर्याएर छोड्नु
मृत्यु अवश्यम्भावी छ
मृत्यु जित्ने जमर्को गर्नु
अमरत्व प्राप्ति
हाम्रो अभीष्ट हो ।








