काठमाडौँ । लगातार दोस्रो जित निकाल्दै किर्गिस्तान पाँचौं सेन्ट्रल जोन भलिबलको सेमिफाइनल प्रवेश गरेको छ । समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा सोमबार नेपाललाई ३–० को सेटमा हराएको किर्गिस्तानले मंगलबार माल्दिभ्सलाई पनि ३–० कै सेटमा पाखा लगायो ।
त्रिभुवन आर्मी क्लबको कभर्डहलमा सम्पन्न खेलमा तीनै सेटमा माल्दिभ्सले कठिन चुनौती पेस गर्न सकेन । किर्गिस्तानले पहिलो सेट २५–१५ ले जितेको थियो । दोस्रो सेटमा भने उसलाई तुलनात्मक रूपमा कठिन भयो । २६–२४ ले जितेर २–० को अग्रता बनाएको किर्गिस्तानले तेस्रो सेटमा २५–१९ को सहज जित निकाल्दै समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्यो ।
समूहमा बुधबार नेपाल र माल्दिभ्सबीच खेल हुनेछ । विजेता समूह उपविजेता बन्दै सेमिफाइनल पुग्नेछ ।