बाजुरा: बाजुराको हिमाली गाउँपालिका–५ रुगिनका कवाडी, चौडीला, गोली, बिउरी, रिठ्ठालगायत क्षेत्रका २१० बाढीपीडित परिवारले बाढी गएको एक वर्ष बितिसक्दा पनि सुरक्षित बास र आधारभूत सुविधासहितको पुनःस्थापना पाउन सकेका छैनन्।
गत वर्ष साउन २८ गते साँझ कवाडी खोलामा आएको विनाशकारी बाढीपहिरोले रुगिन–५ का घर, खेतबारी, खानेपानीका मुहान, धारा तथा सिँचाइ कुलो बगाएको थियो। बाढीका कारण २१० परिवार विस्थापित भएका छन् भने १७ परिवारको घरजग्गा पूर्णरूपमा बगेको स्थानीयको भनाइ छ।
बाढीले घरजग्गा मात्र बगाएन, स्थानीयको जीविकोपार्जनको मुख्य आधार खेतीयोग्य जमिन र सिँचाइ संरचनासमेत ध्वस्त बनाएको छ। बाढीबाट बचेका खेतमा समेत सिँचाइ कुलो नहुँदा खेती गर्न नसकिएको स्थानीय बताउँछन्।
कवाडी बजारका ९०, चौडीला १०, रिठ्ठाका ३०, सागुचौरका १०, बिउरीका ४० र गोलीका ३० परिवार गरी २१० परिवार बाढीबाट प्रभावित भएका हुन्। तीमध्ये बिउरीका ४० परिवारका घरमा बाढी पसेर बस्नै नसक्ने अवस्था बनाएको स्थानीयको भनाइ छ।
खोलाको पानी पिउन बाध्य
बाढीले खानेपानीका संरचना बगाएपछि प्रभावित परिवार अहिले कवाडी खोलाको फोहोर पानी पिउन बाध्य छन्। स्वच्छ खानेपानीको व्यवस्था नहुँदा बालबालिका तथा वृद्धवृद्धामा स्वास्थ्य समस्या देखिन थालेको स्थानीय बताउँछन्।
स्थानीयका अनुसार गर्मी तथा वर्षायाममा खोलाको दूषित पानीका कारण झाडापखालालगायत स्वास्थ्य समस्या देखिने गरेको छ। तर उपचारका लागि स्वास्थ्य संस्था पुग्न र औषधि किन्नसमेत आर्थिक समस्या रहेको उनीहरूको गुनासो छ।
‘न बस्ने घर छ, न खेती गर्ने जग्गा’
बाढीबाट पूर्णरूपमा विस्थापित भएकी हिमाली–५ बिउरीकी ललिता सार्की दुई वर्षीया छोरीलाई काखमा च्यापेर घरको आँगनमा बसेर आफ्नो पीडा सुनाउँछिन्।
उनका अनुसार बाढीले घर र खेतबारी सबै बगाएपछि परिवारको जीविकोपार्जन कठिन भएको छ। सात सदस्यीय परिवार पाल्न उनका श्रीमान् नजिकैको कवाडी बजारमा भारी बोक्ने काम गर्छन्।
“खेती गर्न जग्गा छैन। घरजग्गा सबै बाढीले बगायो। श्रीमान्ले भारी बोकेर ल्याएको पैसाले सात जनाको परिवार पालिरहेका छौँ,” सार्कीले भनिन्, “खाद्यबाट उधारो ल्याएको एक मुरी चामल पनि सकियो। अहिले न बस्ने सुरक्षित घर छ, न खाने अन्न।”

उनका अनुसार बाढी आएको दिन साँझ बालबालिका र वृद्धवृद्धालाई ज्यान जोगाउन भागाभाग भएको थियो।
“बाढीले बगाएर तलसम्म लग्यो। ज्यान जोगाएर फेरि माथि आयौँ। अहिले पनि घरको आँगनमै कवाडी खोला बगिरहेको छ,” उनले भनिन्, “वर्षायाममा फेरि त्यस्तै बाढी आउने हो कि भन्ने डर लाग्छ। तर अर्को ठाउँमा जाने न जग्गा छ, न घर।”
सरकार र जनप्रतिनिधिले पटकपटक आएर आश्वासन दिए पनि स्थायी समाधानका लागि काम नभएको उनको गुनासो छ।
“भोट माग्न आउँदा सबै आउँछन्, जितेपछि फर्केर आउँदैनन्। सरकार हाम्रो लागि छ कि छैन भन्ने महसुस नै हुँदैन,” सार्कीले भनिन्।
श्रीमान् गुमाएकी प्रेमकलाको पीडा पनि उस्तै
हिमाली–५ की ६० वर्षीया प्रेमकला भण्डारीको अवस्था पनि उस्तै छ। केही वर्षअघि मुटुसम्बन्धी रोगबाट श्रीमान् मानबहादुर भण्डारीको आर्थिक अभावका कारण समयमै उपचार हुन नसकेपछि मृत्यु भएको उनले बताइन्।
श्रीमान्को मृत्यु भएको एक वर्ष नपुग्दै बाढीपहिरोले उनको घर र खेतबारीसमेत बगाइदियो।
“श्रीमान् गुमाएँ, त्यसपछि बाढीले घरजग्गा पनि लग्यो। अहिले तीन जना नाबालक छोरीलाई कसरी पाल्ने भन्ने चिन्ता छ,” भण्डारीले भनिन्।
बाढीले बचेको घरमा बस्दै आएकी उनले आफू पनि केही दिनदेखि बिरामी रहेको बताइन्।
“खोलाको पानी खाएर बिरामी भएकी छु। अस्पताल जान हातमा पैसा छैन। पैसा नभएर श्रीमान्को उपचार गर्न नसक्दा उहाँलाई गुमाएँ। अहिले आफ्नो अवस्था पनि त्यस्तै हुने हो कि भन्ने डर लाग्छ,” उनले भनिन्।
प्रतिबद्धता भयो, काम भएन
बाढीपीडितका लागि स्थानीय, प्रदेश र संघीय सरकारले खानेपानी, सिँचाइ कुलो, विद्युत् तथा तटबन्ध निर्माण गर्ने र पूर्णरूपमा घर गुमाएका परिवारका लागि एक वर्षभित्र घर निर्माण गरिदिने प्रतिबद्धता जनाएको स्थानीयको भनाइ छ।
तर एक वर्ष बितिसक्दा पनि ती प्रतिबद्धता कार्यान्वयन नभएको उनीहरूको गुनासो छ।
रिठ्ठादेखि कवाडी बजारसम्म तटबन्ध निर्माण, खानेपानी आयोजना, सिँचाइ कुलो र विद्युत् संरचना निर्माण तत्काल गर्नुपर्ने स्थानीयको माग छ।
‘२१० परिवार अझै खोलाको पानी खान बाध्य छन्’
हिमाली गाउँपालिका–५ का वडाध्यक्ष प्रदीप बुढथापाका अनुसार बाढीबाट २१० परिवार प्रभावित भएका थिए। तीमध्ये १७ परिवारको घर पूर्णरूपमा बगेको थियो।
बाढीपछि गाउँपालिका, नेपाल रेडक्रस तथा केही सरकारी र गैरसरकारी संस्थाले चामल, कपडा तथा खानेपानीका लागि पाइपलगायत सामग्री वितरण गरेको उनले बताए।
पूर्णरूपमा घरजग्गा गुमाएका परिवारका लागि संघीय र प्रदेश सरकारसँग समन्वय गरी पुनः घर निर्माण गर्ने पहल गरिए पनि हालसम्म घर निर्माण हुन नसकेको वडाध्यक्ष बुढथापाले बताए।
उनका अनुसार प्रदेश सरकारसँग सिँचाइ कुलो निर्माणका लागि माग गरिएको भए पनि काम सुरु भएको छैन। खानेपानी आयोजना निर्माणका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग पटकपटक पहल गर्दा पनि अपेक्षित सुनुवाइ नभएको उनले बताए।
“गत वर्षको बाढीबाट विस्थापित २१० परिवारमध्ये धेरै परिवार अहिले पनि कवाडी खोलाको पानी प्रयोग गर्न बाध्य छन्,” वडाध्यक्ष बुढथापाले भने, “करिब ४० परिवार त बाढीले क्षति पुर्याएको घरमै जोखिम मोलेर बसिरहेका छन्।”
बाढीबाट विस्थापित परिवारको तत्काल पुनःस्थापना, सुरक्षित खानेपानी, सिँचाइ, विद्युत् र तटबन्ध निर्माणका साथै पूर्णरूपमा घर गुमाएका परिवारलाई सुरक्षित स्थानमा स्थायी आवास उपलब्ध गराउनुपर्ने स्थानीयको माग छ।








