काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा सुरु भएको छ । केहीबेरअघि उद्घाटन सत्र सुरु भएसँगै महाधिवेशन औपचारिक रूपमा अघि बढेको हो ।
‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नाराका साथ कांग्रेसले १५औँ महाधिवेशन आयोजना गरेको हो ।

उद्घाटन समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू खुलामञ्च पुगेका छन् । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र जनता समाजवादी पार्टी नेपालका सहअध्यक्ष शरतसिंह भण्डारीलगायत नेताहरू उद्घाटनस्थल पुगेका छन् ।
महाधिवेशनमा कांग्रेसका नेता, प्रतिनिधि तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको छ । महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ । तालिकाअनुसार असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन प्रक्रिया सञ्चालन हुनेछ ।







