काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका चार जना केन्द्रीय नेताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन्।
आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन्।
राजीनामा दिनेमा पूर्वसङ्घीय सांसद तथा सहिद परिवारकी सदस्य इन्दुकुमारी शर्मा, जसपा नेपालका केन्द्रीय सल्लाहकार सदस्य युसुफ साफी, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता घनश्याम शर्मा र युवा नेता पुष्पराज चमन रहेका छन्।
उनीहरूले पार्टीबाट अलग भए पनि मधेसका मुद्दा तथा राजनीतिक अभियानमा सक्रिय रहने जनाएका छन्। उनीहरू ‘हुँकार मधेस’ अभियानमा सक्रिय हुने भएका छन्। यस अभियानले मधेस र देशका लागि वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यसहित गतिविधि अघि बढाउँदै आएको छ।








