काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुग्नुभएको छ ।
गएराति वासिङ्टन डीसी पुग्नुभएका मन्त्री वाग्लेलाई कार्यवाहक नेपाली राजदूत शरदराज आरनसहित दूतावासका पदाधिकारीहरूले स्वागत गर्नुभएको थियो ।

अमेरिका भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले सोमबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गासँग उच्चस्तरीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । भेटवार्तामा नेपाल–अमेरिका आर्थिक साझेदारी तथा सहयोग विस्तार, नेपालको पुनर्निर्माण, वित्तीय क्षेत्र सुधार तथा वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ‘ग्रे लिस्ट’बाट नेपाललाई बाहिर निकाल्ने विषयमा छलफल हुने जनाइएको छ ।
त्यसैगरी हालै भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण र विपद् उत्थानशील विकासका लागि थप अन्तर्राष्ट्रिय सहायता परिचालनका विषयमा विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिसँग छलफल हुने बताइएको छ ।
भ्रमणका क्रममा सडक, विद्युत् प्रसारण लाइनलगायत महत्वपूर्ण पूर्वाधारमा लगानी विस्तार गरी मुलुकभित्र रोजगारी तथा आर्थिक अवसर सिर्जना गर्ने विषयलाई समेत प्राथमिकतामा राखिनेछ ।
अर्थमन्त्री वाग्लेले भ्रमणका क्रममा अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी) का उच्चपदस्थ अधिकारी तथा अमेरिकी निजी क्षेत्रका अग्रणी लगानीकर्तासँग समेत उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।







